हाम्रो पेज
कञ्चनपुर, १६ अषाढ I कञ्चनपुरको बेलौरीमा पछिल्लो २४ घण्टामा २०१ मिलिमिटर ‘अति भारी’ वर्षा रेकर्ड भएको छ। यो भीषण वर्षासँगै सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्ला डुबानको उच्च जोखिममा परेका छन्।
मौसम पूर्वानुमान महाशाखा र बाढी पूर्वानुमान महाशाखाले देशभर मनसुन सक्रिय रहेकाले नदीतटीय क्षेत्रका बासिन्दा तथा होचा भूभागमा बस्नेहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। सुदूरपश्चिममा आइतबारदेखि जारी अविरल वर्षाले जनजीवन प्रभावित बनेको छ। विशेषगरी बेलौरी, कृष्णपुर र धनगढी क्षेत्रमा अत्यधिक पानी परिरहेकाले डुबानको खतरा बढेको छ। कञ्चनपुरको मोहना नदी लगायत अधिकांश नदीमा जलसतह बढ्दो छ भने कैलालीको मोहना नदीमा पनि पानीको बहाव सतर्कता तह नजिक पुगेको छ। डडेल्धुराको जोगबुढा क्षेत्र तथा डोटी र कैलालीका चुरे पहाडमा परेको पानीले खोलानालामा बाढी आउँदा तल्लो तटीय क्षेत्रका बस्तीहरू जोखिममा परेका छन्। स्थानीय प्रशासन र सुरक्षाकर्मीले नागरिकलाई सुरक्षित स्थानमा रहन आग्रह गरेका छन्।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना औंल्याएको छ। आज मधेश प्रदेशबाहेक सबै प्रदेशमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। प्राधिकरणका अनुसार आज लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङस कर्णाली प्रदेशका सुर्खेत, दैलेख, सल्यान तथा सुदूरपश्चिमका बैतडी, डडेलधुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुरमा ठूलो वर्षाको सम्भावना छ। प्राधिकरणले अत्यावश्यक कामबाहेक यात्रा नगर्न, मौसमसम्बन्धी सूचनामा ध्यान दिन र नदी किनारमा कुनै पनि गतिविधि नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न नदीमा पानीको बहाव बढ्ने अनुमान गरेको छ । कैलाली, कञ्चनपुर, बर्दिया, सुर्खेत, डोटी, डडेलधुरा र बैतडी भई बहने साना नदीहरूमा आकस्मिक बाढीको जोखिम उच्च छ। कास्की, लमजुङ, गोरखा, चितवन, दाङ, बाँके, सिन्धुपाल्चोक, काठमाडौं उपत्यका, मकवानपुर, सल्यान, अछाम लगायतका जिल्ला भई बहने साना नदीमा बहाव बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम छ।यस्तै संखुवासभा, ताप्लेजुङ, भोजपुर, खोटाङ लगायतका पूर्वी पहाडी जिल्लाका साना नदीमा बहाव बढ्ने र सामान्य जोखिम रहनेछ। कोशी, नारायणी, कर्णाली, महाकाली जस्ता प्रमुख नदीहरूको जलसतह सतर्कता तहभन्दा तलै रहनेछ। यद्यपि, कन्काई, कमला, वाग्मती, राप्ती र बबई नदीमा जलसतह बढ्दो क्रममा रहने पूर्वानुमान छ।
