एमालेमा विद्या भण्डारीको पुनरागमन निश्चितः ओलीसँग २ घण्टा वान टु वान वार्ता, सदस्यता नवीकरण भएको पुष्टि

हाम्रो पेज

४ श्रावण २०८२, आईतवार १८:४८
पूर्वराष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच पार्टी मुख्यालय च्यासलमा एक्लाएक्लै निर्णायक वार्ता

ललितपुर,४ श्रावण । लामो समयदेखि चलेको अड्कलबाजी र बहसलाई अन्त्य गर्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नेकपा एमालेमा सक्रिय राजनीतिमा पुनरागमन लगभग निश्चित भएको छ। आइतबार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको करिब दुई घण्टा लामो वान टु वान वार्तापछि भण्डारीले आफ्नो पार्टी सदस्यता नवीकरण भइसकेको र अबको भूमिकाबारे आधिकारिक प्रक्रियाबाट टुङ्गो लाग्ने स्पष्ट पार्नुभएको छ। यसअघि प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले पत्रपत्रिकाबाट पार्टी सदस्यता नवीकरण भएको थाह पाएको भन्दै भण्डारीको सदस्यता नै नवीकरण नभएको बताएपछि दुई नेताबीच पार्टी मुख्यालयमा भेटवार्ता भएको हो ।


एमाले मुख्यालय च्यासलमा भएको यो उच्चस्तरीय भेटवार्तालाई पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन र भण्डारीको सम्मानित व्यवस्थापनका लागि निर्णायक कदमको रूपमा हेरिएको छ।
ओलीसँगको गोप्य भेटवार्तापछि बाहिरिनु भएकी भण्डारीले सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै भन्नुभयो, उहाँ (ओली) सँग मेरो राष्ट्रिय राजनीतिको बारेमा मात्रै कुराकानी भयो। मैले सदस्यता पहिल्यै नवीकरण गरेको छु। बाँकी काम आधिकारिक च्यानलबाट हुन्छ। उहाँको यो भनाइले सदस्यताको विवादलाई पूर्णविराम लगाउँदै अब उहाँको राजनीतिक भूमिका के हुने भन्ने विषयमा पार्टीले औपचारिक निर्णय लिने संकेत गरेको छ। ओली र भण्डारीबीच वार्ता चलिरहँदा पार्टीका अन्य शीर्ष नेताहरूले पनि सदस्यताको विषयलाई प्राविधिक भन्दै राजनीतिक भूमिकाको छलफल नै मुख्य रहेको बताएका थिए।


वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महासचिव शंकर पोखरेलले नै भण्डारीको सदस्यता नवीकरण भइसकेको जानकारी दिइसकेको बताउँदै भन्नुभयो,जुन अहिलेको ज्वलन्त कुरा बाहिर आएको छ, त्यही विषयमा केन्द्रित भएर कुराकानी भएको छ। उहाँले जिम्मेवारी तोक्ने लगायतका विषयमा छलफल भइरहेको हुनसक्ने संकेत गर्नभयो । यस्तै उपाध्यक्ष सुरेन्द्र पाण्डेले अझ स्पष्ट पार्दै भन्नुभयो, उहाँको सदस्यता दुई वर्ष पहिल्यै नवीकरण भइसकेको हो। एक वर्षअघिको सचिवालय बैठकमा महासचिवले नै यो जानकारी गराउनुभएको थियो। यस्तै सचिव योगेश भट्टराईले यो भेटलाई एमालेका लागि महत्त्वपूर्ण भन्दै भन्नुभयो, सदस्यताको विषय प्राविधिक कुरा हो। मुख्य कुरा राजनीतिक हो, त्यो टुंगिएपछि यो त भइहाल्छ। उहाँले पार्टी बैठकमा अधिकांश नेताहरूले अध्यक्षसँग छलफल गरेरै निकास निकाल्न सुझाव दिएअनुसार यो भेटवार्ता भएको बताउनुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले सक्रिय राजनीतिमा फर्कने इच्छा व्यक्त गरेपछि एमालेभित्र उहाँको भूमिका र व्यवस्थापनलाई लिएर विभिन्न कोणबाट बहस चलिरहेको थियो। पार्टीका केही नेताहरूले सार्वजनिक रूपमा टीकाटिप्पणी गरिरहेका बेला अधिकांश नेताहरूले भने शीर्ष तहमा छलफल गरेरै सम्मानजनक निकास निकाल्नुपर्नेमा जोड दिएका थिए। आइतबारको भेटवार्ता त्यही सुझावको कार्यान्वयन थियो। यसले पार्टीभित्रको सम्भावित विवादलाई साम्य पार्दै भण्डारीको अनुभव र उचाइलाई पार्टीले कसरी उपयोग गर्छ भन्ने मार्गचित्र कोर्ने अपेक्षा गरिएको छ। अब सबैको ध्यान एमालेको आगामी केन्द्रीय कमिटी वा स्थायी कमिटी बैठकमा केन्द्रित भएको छ, जसले पूर्वराष्ट्रपति भण्डारीको नयाँ राजनीतिक भूमिकाबारे औपचारिक निर्णय लिनेछ।