search logo
NOTIFICATIONS

इराकमा दर्दनाक आगलागीः नयाँ शपिङ मलमा ६० जनाको मृत्यु, दर्जनौं बेपत्ता

हाम्रो पेज

१ श्रावण २०८२, बिहीबार १४:४४

एजेन्सी, १ श्रावण । इराकको कुट शहरमा रहेको एउटा भर्खरै सञ्चालनमा आएको शपिङ मलमा गएराति भएको भिषण आगलागीमा परी कम्तीमा ६० जनाको मृत्यु भएको छ। दर्जनौं व्यक्ति अझै हराइरहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। प्रत्यक्षदर्शीका अनुसार, पाँच दिनअघि मात्रै उद्घाटन गरिएको उक्त मलको पहिलो तलाबाट सुरु भएको आगोले केहीबेरमै पूरै भवनलाई आफ्नो नियन्त्रणमा लिएको थियो। अहिले आगो निभाइएको छ र उद्धारकर्मीहरूले भग्नावशेषमा हराइरहेकाहरूको खोजी गरिरहेका छन्। घटनापछि वासित प्रान्तका गभर्नर मोहम्मद अल–मियाहीले प्रान्तमा तीन दिनको राष्ट्रिय शोक घोषणा गर्नुभएको छ। उहाँले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। अनुसन्धानको प्रारम्भिक नतिजा ४८ घण्टाभित्र सार्वजनिक गरिने उहाँले बताउनुभयो। इराकमा यो आगलागीको पहिलो र एक्लो घटना होइन। निर्माण क्षेत्रमा सुरक्षा मापदण्डको चरम बेवास्ता र कमजोर सरकारी अनुगमनका कारण यस्ता दर्दनाक दुर्घटनाहरू बारम्बार दोहोरिने गरेका छन्।
सेप्टेम्बर २०२३मा उत्तरी इराकको एक विवाह समारोहमा भएको आगलागीमा परी १०० भन्दा बढीको मृत्यु भएको थियो। यस्तै जुलाई २०२१मा दक्षिणी इराकको एक अस्पतालको कोभिड१९ आइसोलेसन वार्डमा भएको आगलागीमा ६० भन्दा बढी बिरामी र स्वास्थ्यकर्मीको ज्यान गएको थियो।