हाम्रो पेज
विराटनगर, १ भाद्र । विराटनगरको सांस्कृतिक पहिचान र गौरवको प्रतीक, ऐतिहासिक राधाकृष्ण रथयात्रा आज सोमबार दिउँसो ३ बजेदेखि भव्यताका साथ निकालिँदैछ। श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट आयोजना हुने यो ५८औं संस्करणको रथयात्रालाई एसियाकै दोस्रो ठूलो रथयात्रा मानिन्छ, जसमा नेपाल र भारतबाट करिब ५ लाख श्रद्धालु भक्तजन सहभागी हुने अनुमान गरिएको छ। तीनपैनीस्थित राधाकृष्ण मन्दिर परिसरबाट सुरु हुने यो यात्राले नगरको ९ किलोमिटर क्षेत्र परिक्रमा गर्नेछ। रथयात्रा तीनपैनी, मेनरोड, ट्राफिक चोक, महेन्द्र चोक, रोड शेष चोक हुँदै बरगाछी भएर पुनः मन्दिरमा पुगेर समापन हुनेछ । नगर परिक्रमा गर्दा ४३ स्थानमा विश्राम लिइनेछ । यसको ऐतिहासिक र सांस्कृतिक महत्त्वलाई ध्यानमा राख्दै कोशी प्रदेश सरकारले झापा, मोरङ र सुनसरीमा सार्वजनिक बिदा दिएको छ। विक्रम संवत् १९८८ मा राधाकृष्ण मन्दिरको स्थापनासँगै सुरु भएको खटयात्राले २०२५ सालमा रथयात्राको स्वरूप लिएको थियो। विराटनगरका समाजसेवी भूपालमानसिंह कार्की र सत्यनारायण धनावतको पहलमा सुरु भएको यो परम्पराले आज विराट सांस्कृतिक उत्सवको रूप लिइसकेको छ। यस वर्ष रथलाई परिमार्जन गरी सबैले सजिलै दर्शन गर्न सक्ने गरी आकर्षक पेगोडा शैलीमा निर्माण गरिएको छ। १९ फिट लम्बाइ, १४ फिट चौडाइ र १८ फिट उचाइको यो नयाँ रथ यात्राको मुख्य आकर्षण बनेको छ। रथयात्राको मार्गमा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिने कार्यक्रमले यसको शोभा अझ बढाउनेछ। रथले तीनपैनीबाट सुरु भई मेनरोड, ट्राफिक चोक, महेन्द्र चोक, रोडशेष चोक हुँदै बरगाछी भएर पुनः मन्दिरमा पुगी यात्रा समापन गर्नेछ। यस क्रममा रथलाई ४३ विभिन्न स्थानमा विश्राम गराइनेछ। लाखौंको भीडलाई व्यवस्थापन गर्न र यात्रालाई पूर्ण सुरक्षित बनाउन मोरङ प्रहरीले कडा सुरक्षा रणनीति अपनाएको छ। मोरङ प्रहरी प्रमुख, एसपी नारायणप्रसाद चिमरियाका अनुसार, सुरक्षा व्यवस्थामा कुनै कमी हुन नदिन सूक्ष्म तहमा योजना कार्यान्वयन गरिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र सादा पोसाकका गरी एक हजारभन्दा बढी सुरक्षाकर्मी खटाइएको छ। यस्तै ड्रोन र मुख्य चोकहरूमा जडान गरिएका दर्जनौं सीसीटीभी क्यामेराबाट २४ सै घण्टा निगरानी गरिने उहाँले जानकारी दिनु भएको छ । पाकेटमार, दुर्व्यवहार गर्ने वा कुनै पनि उच्छृङ्खल गतिविधि गर्ने तत्वविरुद्ध ुशून्य सहनशीलताु अपनाउँदै तत्काल पक्राउ गर्न सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। शंकास्पद व्यक्तिलाई भीडबाट तत्काल नियन्त्रणमा लिन रथयात्रा मार्गको अगाडि र पछाडि वान टन गाडीहरूलाई तयारी अवस्थामा राखिएको छ। सुरक्षाका साथै मानवीय पक्षलाई पनि ध्यानमा राख्दै रथयात्रा मार्गका विभिन्न स्थानमा हेल्थ डेस्क स्थापना गरिएको छ। प्रदेश प्रहरी अस्पताल र निजी अस्पतालहरूसँगको सहकार्यमा स्थापित यी डेस्कहरूमा स्वास्थ्यकर्मी र आवश्यक औषधिहरूको व्यवस्था गरिएको छ ।