प्रचण्डको सदनमा प्रश्न, प्रधानमन्त्री ओलीद्वारा सामाजिक सञ्जालमार्फत जवाफ

हाम्रो पेज

३० असार २०८२, सोमबार १८:४४

विराटनगर,३० अषाढ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभामा उठाउनुभएका विषयमा सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्नुभएको छ। सोमबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकारको पहिलो निर्णयअनुसार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणको प्रगतिबारे प्रश्न उठाउनुभएको थियो। उहाँले सोध्नुभयो, ३ सय दिनभित्र जोडियो त फ्लडलाइट ? बन्यो त प्याराफिट ? अध्यक्ष प्रचण्डको उक्त जिज्ञासामा प्रधानमन्त्री ओलीले निर्माण कार्य जारी रहेको उल्लेख गर्दै स्थलगत अवलोकन गर्न आग्रह गर्नुभएको छ। मेरो उहाँलाई आग्रह छ, बनिरहेको प्यारापिट हेर्न जानुहोस्, जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जानुहोस्। काम भइरहेको छ, प्रधानमन्त्री ओलीले आफ्नो फेसबुक पेजमा लेख्नुभएको छ। साथै, प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा समयसीमा तोकेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको तर अध्यक्ष प्रचण्ड प्रधानमन्त्री रहँदा त्यस्तो कुनै संकल्प नदेखिएको टिप्पणी गर्नुभएको छ। तपाईंका त न कुनै वाचा, न कुनै निर्णय, न कुनै संकल्प, न कुनै काम। मैले त दिन तोकेर गर्छु भनेँ, आफैँमाथि प्रश्न आह्वान गरेँ र काम पनि गरेँ, उहाँले लेख्नुभएको छ, तपाईंले जर्जर छोडेको अर्थतन्त्र अहिले कहाँ पुग्यो, तथ्यांक हेर्नुहोस् भन्ने सुझाव दिन चाहन्छु। प्रधानमन्त्री ओली सोमबारको प्रतिनिधिसभा बैठकमा भने उपस्थित हुनुहुन्नथ्यो।गत वर्ष असार ३१ गते प्रधानमन्त्री ओलीको नेतृत्वमा गठन भएको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले ३०० दिनभित्र त्रिवि क्रिकेट मैदानमा ‘फ्लडलाइट जडान’ र ‘प्यारापिट’ निर्माण सम्पन्न गर्ने निर्णय गरेको थियो। ठीक एक वर्षपछि प्रमुख प्रतिपक्षी दलका नेताले सरकारको सोही पहिलो निर्णयको कार्यान्वयन अवस्थाबारे प्रश्न उठाउनुभएको हो।