हाम्रो पेज

विराटनगर, ४ श्रावण। गएरातिदेखि देशका विभिन्न भागमा भएको अविरल वर्षाका कारण बाढी र पहिरोले जनजीवन अस्तव्यस्त बनेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित भएको भारी वर्षाले नदीहरूको जलसतह बढाएको छ भने विभिन्न स्थानमा पहिरो जाँदा धनजनको क्षति भएको छ र राजमार्गहरू अवरुद्ध भएका छन् । पर्वतको मोदी गाउँपालिका–३ देउरालीमा गएराति पहिरोले घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्माको मृत्यु भएको छ भने उनकी श्रीमती ७६ वर्षीया विष्णुमती बेपत्ता हुनुभएको छ जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार विष्णुमतीको खोजी कार्य जारी छ । घटनामा उनीहरूकी बुहारीले भने भागेर ज्यान जोगाउन सफल हुनु भएको छ । यस्तै, निरन्तरको वर्षाले हेवा खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । पहिरोका कारण धनकुटाको साँघुरीगढी गाउँपालिका–९ मा तमोर करिडोर पनि बन्द भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । । हेवा खोलामा आएको बाढीका कारण मेची राजमार्ग अवरुद्ध भएको छ । निरन्तरको वर्षासँगै आएको बाढीले हेवा खोलाको डाइभर्सन भत्काउँदा मेची राजमार्ग अवरुद्ध भएको हो । पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार डाइभर्सन माथिबाट पानी जान थालेपछि यातायात अवरुद्ध भएको हो । पानीको बहाब घटेपछि डाइभर्सन मर्मत गरेर सञ्चालन गर्ने उहाँले बताउनु भएको छ । राजमार्ग अवरूद्ध भएपछि ताप्लेजुङ र पाँचथरका तीन पालिकामा यातायात ठप्प भएको छ । यसअघि २०८० असारमा आएको बाढीले हेवाखोलाको पुल बगाएको थियो । पुल बगेपछि बनाइएको बिलिब्रिज पनि गत असोज १२ गते आएको बाढीले बगाएको थियो । त्यसपछि हेवा खोलामा डाइभर्सन बनाएर यातायातका साधन सन्चालन गरिएको थियो । बाढी र पहिरोका कारण मेची राजमार्गसँगै तमोर करिडोर पनि अवरुद्ध छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार पहिरोका कारण साँघुरीगढी गाउँपालिका– ९ मा पहिरो गएका कारण सडक अवरुद्ध भएको हो । यता इलामको इलाम नगरपालिका–५, मान्द्रनीका पूर्ण शंकरको घर पहिरोमा पुरिएको छ । टिनको छानो, ढुंगामाटो र काठबाट निर्मित एकतले घरका केही कोठामा क्षति पुगेको जनाइएको छ । शनिबार राति इलामकै देउमाई नगरपालिका ६, फुटुक दोकानगाउँमा बिजुलीको पोलमा रुख ढलेर तार क्षतिग्रस्त भएपछि विद्युत् सेवा अवरुद्ध छ । इलामकै माईखोलाको पुलमा समेत बाढीबाट क्षति भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका केही स्थानमा अति भारी वर्षा मापन भएको छ ।

धनकुटा १९५ दशमलव ६ मिलिमिटर
इलाम माईपोखरी १८२ दशमलव २ मिलिमिटर
कास्की लुम्ले १६२दशमलव ६ मिलिमिटर
कास्की याम्जाकोट १३४ मिलिमिटर
यसैगरी सुनसरीको धरान, तरहरा, इलामका चियाबगान क्षेत्र, लमजुङका बुझुङ र खुदीबजार तथा पर्वतको पञ्चासेमा पनि भारी वर्षा भएको छ । मधेश र बागमती प्रदेशका जिल्लाहरूमा भने हल्कादेखि मध्यम वर्षा भएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहान इलामको कन्काई र कोशीको सहायक नदी तमोरको जलसतह सतर्कता तह आसपास पुगेको छ । कन्काई नदी बढ्दो क्रममा रहेकाले दिउँसोसम्म तटीय क्षेत्र र डुबान हुने होचा भूभागमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । पर्वतको मोदी खोलामा पनि बाढी आएको छ । यद्यपि, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, राप्ती र बबई जस्ता ठूला नदीहरूको बहाव हाल सतर्कता तहभन्दा तलै रहेको छ । महाशाखाले आज र भोलि देशका विभिन्न जिल्ला भएर बहने साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिएको छ जसमा इलाम, झापा, मोरङ, सुनसरी, ताप्लेजुङ, संखुवासभा, पाँचथर, धनकुटा, सिन्धुपाल्चोक, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ, लमजुङ, गोरखा, सल्यान, सुर्खेत, दैलेख लगायतका जिल्ला रहेका छन् । यस्तै मध्यम जोखिममा सोलुखुम्बु, रामेछाप, मकवानपुर, काभ्रे, रुपन्देही, दाङ, बाँके, जाजरकोट, बाजुरा, अछाम, बैतडी, डडेल्धुरा लगायतका जिल्लारहेका छन् । कमजोर तथा भिरालो जमिनमा पहिरोको समेत जोखिम रहेकाले सतर्कता अपनाउन एसएमएसमार्फत सूचना प्रवाह गरिएको छ । यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले मौसम पूर्वानुमानको सूचनालाई ध्यान दिई आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गर्नुभएको । साथै, प्रधानमन्त्रीले सुरक्षा निकायलाई उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ ।
