search logo
NOTIFICATIONS

भोटेकोशी बाढीको भयावह असरः मृतक ९०३, अझै ४ हजार २४७ जना बेपत्ता

हाम्रो पेज

१५ भाद्र २०८३, सोमबार १३:५९
चिलिमे र अपर त्रिशूली–१ को सुरुङमा तीन शव भेटिए,रसुवागढी आयोजनाको सुरुङमा खोजी गर्दा कोही भेटिएनन्, ९३ बेपत्ताको खोजी भने जारी

काठमाडौं, १५ भाद्र । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि जनधनको क्षति भयावह बन्दै गएको छ। बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासीलगायत जिल्लामा नदी किनार तथा खोलाको बगरमा शव भेटिने क्रम जारी छ। भारतसम्म नदी किनारमा शव फेला परेको जनाइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार बिहान ९ बजेसम्म बाढीमा परी मृत्यु भएका ९०३ जनाको शव फेला परिसकेको छ। केही स्थानमा खोलाको बगर तथा लेदोमाटोमा पुरिएका अवस्थामा समेत शव भेटिएका छन्। सबैभन्दा धेरै शव चितवनमा २७२ वटा फेला परेका छन्। चितवनमा विभिन्न मानव अंगसमेत भेटिएको प्राधिकरणले जनाएको छ। जिल्लागत विवरणअनुसार रसुवामा २४, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६२, नवलपरासी बर्दघाट सुस्ता पूर्वमा २०७, नवलपरासी  बर्दघाट सुस्ता पश्चिम०मा १५१ र तनहुँमा ३७ शव फेला परेका छन्। तर, मृतकको संख्या जति भयावह छ, त्योभन्दा झन् ठूलो चिन्ता बेपत्ताको संख्या बनेको छ। बाढी आएको छैटौं दिनसम्म पनि ४ हजार २४७ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। सम्पर्कविहीन हुनेमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, विभिन्न जलविद्युत् आयोजना, भन्सार तथा अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीसमेत छन्। बेपत्तामध्ये ५९२ जना विदेशी नागरिक छन् भने विदेशी पर्यटकसँगै घुम्न गएका १२७ जना नेपाली नागरिक पनि सम्पर्कविहीन छन्।

रसुवा र नुवाकोटमा मात्रै हजारौँ सम्पर्कविहीन

सम्पर्कविहीनको सूचीमा रसुवाबाट ८६५ जना र नुवाकोटबाट १ हजार ५५८ जना छन्। विभिन्न जलविद्युत् आयोजनाबाट मात्रै ९३३ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। यस्तै नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ तथा अध्यागमन कार्यालयका ३ जना सम्पर्कविहीन छन्। मकवानपुरबाट ६५, लाङटाङ राष्ट्रिय निकुञ्जबाट ३ र क्वारेन्टाइन कार्यालयबाट ३ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।
बेपत्ताको खोजी जारी रहे पनि छैटौं दिनसम्म परिवारले आफन्तको अवस्था थाहा पाउन नसक्दा पीडा र बेचैनी झनै बढेको छ।

१० हजारभन्दा बढीको उद्धार, २० हजारभन्दा धेरै सुरक्षाकर्मी परिचालन

प्राधिकरणका अनुसार हालसम्म १० हजार ४५१ जनाको उद्धार गरिएको छ। नेपाली सेनाले हवाई माध्यमबाट ३ हजार ३४४ नेपाली र २५२ विदेशी नागरिकको उद्धार गरेको जनाएको छ। आइतबार विभिन्न जलविद्युत् आयोजनामा फसेका १५ चिनियाँ र ७ भारतीय नागरिकको समेत हवाई उद्धार गरिएको थियो। सोमबार बिहान ९ बजेसम्म मात्रै १७ वटा उडान भएको प्राधिकरणले जनाएको छ। बाढीमा घाइते हुनेको संख्या २६७ पुगेको छ। तीमध्ये १६५ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि २० हजार ८१९ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। यसमध्ये नेपाल प्रहरीका ७ हजार ८९४, नेपाली सेनाका ८ हजार ७२२ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना छन्।

चिलिमे र अपर त्रिशूली–१ को सुरुङमा तीन शव भेटिए

बाढीपछि जलविद्युत् आयोजनाका सुरुङमा फसेकाको खोजी गर्ने क्रममा चिलिमे र अपर त्रिशूली–१ आयोजनाका सुरुङबाट तीन शव फेला परेका छन्।
नेपाली सेनाका अनुसार चिलिमे हाइड्रोको सुरुङभित्र करिब १०० मिटर प्रवेश गरी खोजी गर्ने क्रममा हिलोमाटोले पुरिएको अवस्थामा दुई शव फेला परेका हुन्। विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोलीले सुरुङभित्र प्रवेश गरेर खोजी गरेको थियो। त्यस्तै अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्र करिब ३०० मिटरसम्म प्रवेश गरी खोजी गर्दा एक शव फेला परेको सेनाले जनाएको छ। भारत, चीन र दक्षिण कोरियाका विज्ञहरूको सहयोगमा नेपाली सेनाले बाढी प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्तिको खोजी तथा उद्धार गरिरहेको छ।

त्रिशूली–३ ‘ए’ मा कन्ट्रोल ब्लास्ट, लेदो हटाउने काम जारी

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा समेत खोज तथा उद्धार अभियान तीव्र पारिएको छ। नेपाली सेनाका अनुसार राति करिब २ बजे कन्ट्रोल ब्लास्ट गरिएको थियो। दुईवटा एक्स्काभेटर करिब १० मिटर तलसम्म लगेर होल बनाउने तथा सुरुङभित्र जमेको पानी, हिलो र लेदो हटाउने काम भइरहेको सेनाले जनाएको छ। त्रिशूली–३ ‘बी’ आयोजनाको सुरुङमा पनि विज्ञसहितको सुरक्षा टोली खटाएर खोजी जारी राखिएको छ। लाङटाङ आयोजनाको सुरुङमा समेत उद्धार टोली प्रवेश गरी सर्चलाइटको प्रयोग गरेर सम्भावित व्यक्तिको खोजी गरिरहेको छ। अपर त्रिशूली–३ ‘बी’ मा ४३ जना बेपत्ता, लेदोले पुरिएका संरचनाभित्र परिवारसहित मानिस भएको आशंका अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्रमा बाढीपछि ४३ जना सम्पर्कविहीन रहेको जनाइएको छ। आयोजनामा कार्यरत कर्मचारीहरूका अनुसार बाढीले क्याम्प क्षेत्रका घरहरू बगाएको भन्दा पनि ठूलो मात्रामा आएको लेदो र हिलोले पुरेको अवस्था छ। पुरिएका संरचनाभित्र आयोजनाका वरिष्ठ कर्मचारी, परामर्शदाता, इन्टर्न विद्यार्थी, उनीहरूका परिवारका सदस्य तथा साना बालबालिका समेत रहेको बताइएको छ। सम्पर्कविहीनमध्ये आयोजनाका कर्मचारी तथा सुरक्षाकर्मी २२ जना, कर्मचारीका परिवारका ७ जना, चिलिमे इन्जिनियरिङ एन्ड सर्भिसेज कम्पनीका ११ जना तथा काठमाडौं विश्वविद्यालयबाट प्रयोगात्मक अभ्यासका लागि गएका ३ जना विद्यार्थी छन्। सम्पर्कविहीन हुनेमा आयोजनाका प्रमुख इन्दिबर घिमिरे, उपप्रबन्धक प्रकाशनिधि तिवारी, सहायक प्रबन्धक राजेश शर्मा तथा इन्जिनियरहरू सोमनाथ पौडेल, प्रमिला पाठक र दिपेश श्रेष्ठलगायत छन्। परामर्शदाता कम्पनीतर्फ वरिष्ठ टोली नेता कमलबहादुर पाण्डे, ठेक्का इन्जिनियर मनोज केसी, वरिष्ठ भूगर्भविद् सुमेस अमात्य तथा वरिष्ठ निर्माण इन्जिनियर निरज श्रेष्ठलगायत सम्पर्कविहीन छन्। काठमाडौं विश्वविद्यालयबाट इन्टर्नसिपका लागि पुगेका सिभिल इन्जिनियरिङ चौथो वर्षका विद्यार्थी सृष्टि बास्तोला, समीर पौडेल र शिशिर गिरी पनि सम्पर्कविहीन रहेको जनाइएको छ।

साना बालबालिका बेपत्ता भएपछि परिवारको पीडा झन् बढ्यो

सम्पर्कविहीनको सूचीमा कर्मचारीका साना बालबालिका समेत छन्। उनीहरूमा ३ वर्ष ६ महिनाका आदित्य पौडेल शर्मा र आदिश्री पौडेल शर्मा, २ वर्ष ६ महिनाका शिवांश पौडेल र त्रिशा पौडेल तथा २ वर्षका कियान्शा अधिकारी छन्। पुरिएका संरचनाभित्र मानिस जीवितै रहेको सम्भावना हुन सक्ने भन्दै तत्काल आधुनिक खोज तथा उद्धार उपकरण परिचालन गर्न माग गरिएको छ। भारी उपकरण, लेदो तथा माटो हटाउने मेसिन, आधुनिक खोज तथा उद्धार प्रविधि र आवश्यक प्राविधिक जनशक्ति तत्काल घटनास्थलमा पुर्‍याउन माग गरिएको छ।

रसुवागढी आयोजनाको सुरुङमा खोजी गर्दा कोही भेटिएनन्, ९३ बेपत्ताको खोजी भने जारी

रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र गरिएको विस्तृत खोजीमा कुनै मानिस फेला नपरेपछि नेपाली सेनाको उद्धार टोली फर्किएको छ। बाढीपछि सुरुङको अन्तिम भागमा मानिसहरू फसेको हुनसक्ने आशंकामा नेपाली सेनाको नेतृत्वमा इन्जिनियर तथा ड्रोन टोलीसहित खोज तथा उद्धार अभियान सञ्चालन गरिएको थियो। उद्धार टोली सुरुङको भित्री भाग हुँदै अन्तिम बिन्दुसम्म पुगेको थियो। सम्भावित क्षेत्रमा खोजी गर्नुका साथै सुरुङभित्र ड्रोन उडाएर अवस्थाको निरीक्षणसमेत गरिएको थियो। तर सुरुङको अन्तिम बिन्दुसम्म पुगेर खोजी गर्दा पनि कुनै मानवीय उपस्थिति फेला नपरेपछि सुरुङभित्र मानिस फसेको आशंका तत्कालका लागि हटेको सेनाले जनाएको छ। खोजी कार्य सम्पन्न भएपछि नेपाली सेनाको टोली रसुवाको धुन्चे फर्किएको छ। यद्यपि, आयोजनास्थलबाट सम्पर्कविहीन भनिएका ९३ जनाको खोजी भने जारी रहेको छ। उनीहरू सुरुङबाहेक आयोजनाका अन्य संरचना, क्याम्प तथा आसपासका क्षेत्रमा हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर खोजी भइरहेको जनाइएको छ।

भोटेकोशी बाढीः शव भेटिने क्रम रोकिएन, बेपत्ताको खोजीमा चुनौती

भदौ १० गते बिहान आएको भीषण बाढीले रसुवा, नुवाकोटलगायत जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीको प्रभाव नदी किनारका बस्ती, जलविद्युत् आयोजना तथा विभिन्न सरकारी कार्यालयसम्म परेको छ। एकातिर नदी तथा खोलाको किनारमा शव भेटिने क्रम जारी छ भने अर्कोतर्फ हजारौँ मानिस अझै सम्पर्कविहीन छन्। विशेषगरी जलविद्युत् आयोजनाका क्याम्प, सुरुङ तथा लेदोले पुरिएका संरचनामा बेपत्ताको खोजी गर्नु उद्धार टोलीका लागि ठूलो चुनौती बनेको छ। सरकार तथा सुरक्षा निकायले उद्धार र खोजीलाई तीव्र बनाइरहे पनि बाढीपछिको विनाश, बाक्लो लेदो, पुरिएका संरचना र जोखिमपूर्ण सुरुङका कारण अभियान जटिल बनेको छ। बाढी प्रभावित परिवार भने आफ्ना आफन्तको अवस्था सार्वजनिक हुने र जीवित उद्धारको सम्भावना कायमै रहने आशामा उद्धार टोलीको प्रतीक्षामा छन्।