झापामा हृदयविदारक घटनाः रुखमा बाँधिएका वृद्धको मृत्यु, आफ्नै छोरासहित चार पक्राउ

हाम्रो पेज

२१ श्रावण २०८२, बुधबार १९:३७

झापा् २१, श्रावण । झापाको झापा गाउँपालिका–१, लसुनामा एक अत्यन्तै दुःखद र मर्माहत बनाउने घटना सार्वजनिक भएको छ। स्थानीय ६० वर्षीय जतन सोरेन बुधबार बिहान आफ्नै घरनजिकैको आँपको रुखमा बाँधिएको अवस्थामा मृत फेला परेका छन्। अत्यधिक मदिरा सेवनका कारण देखिएको असहज परिस्थितिलाई नियन्त्रण गर्ने प्रयास नै उनको मृत्युको कारण बन्न पुगेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। मंगलबार राति मदिराको सुरमा काम्दै छिमेकी महादेव टुडूको घर छेउ पुगेका सोरेनलाई सम्हाल्ने प्रयासमा स्थानीयले प्लास्टिकको डोरीले आँपको रुखमा बाँधेर छाडेका थिए। तर, नियन्त्रणका लागि चालिएको त्यो अविवेकी कदम नै उनको जीवनको अन्तिम सास बन्न पुग्यो। भोलिपल्ट बिहान करिब ४ बजे उनीहरूले हेर्न जाँदा सोरेनले प्राण त्यागिसकेका थिए। जुन दृश्यले पूरै गाउँलाई स्तब्ध बनाएको छ। प्रहरीले मृतकका आफ्नै छोरालाई समेत अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । झापा प्रहरीका प्रवक्ता, डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार, घटनामा संलग्न भएको आरोपमा मृतकका २७ वर्षीय छोरा अनतलाल सोरेन, छिमेकी ५० वर्षीय महादेव टुडू, २० वर्षीय लुखिराम टुडू र २१ वर्षीय लखिराम टुडूलाई पक्राउ गरिएको छ।
डीएसपी खड्काले घटनामा संलग्न अन्य केही व्यक्ति फरार रहेको र उनीहरूको खोजी कार्य तीव्र पारिएको जानकारी दिनुभयो।