search logo
NOTIFICATIONS

भोटेकोसीको भीषण बाढीले रसुवामा व्यापक क्षति, ४१ प्रहरी सम्पर्कविहीन

हाम्रो पेज

१० भाद्र २०८३, बुधबार ११:४९

काठमाडौं, १० भाद्र । बुधबार बिहान तिब्बततर्फबाट आएको भीषण बाढीले रसुवाको टिमुरे, रसुवागढी भन्सार क्षेत्रलगायतका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीले बजार, भन्सार क्षेत्र, पुल, सडक तथा जलविद्युत् आयोजनामा क्षति पुर्‍याउनुका साथै सुरक्षाकर्मीसहित ४१ जना प्रहरी सम्पर्कविहीन भएका छन्। नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी अबिनारायण काफ्लेका अनुसार स्याफ्रुबेँसी, रसुवागढी र मैलुङ क्षेत्रमा खटिएका ४१ जना प्रहरी सम्पर्कमा छैनन्। बाढी अत्यन्त विध्वंसकारी देखिएको र टिमुरे क्षेत्रमा ठूलो क्षति पुगेको उहाँले जानकारी दिनु भएको छ । सम्पर्कविहीन प्रहरीको खोजी तथा उद्धारका लागि प्रयास भइरहेको छ। टिमुरे क्षेत्रमा बिहान करिब ९ बजे आएको आकस्मिक बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टर अम्बिर खत्रीसहित ९ जना सम्पर्कविहीन भएका छन्। टिमुरेमा खटिएको नेपाल प्रहरीको टोली पनि सम्पर्कविहीन रहेको बताइएको छ। सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट बीओपीमा कार्यरत ३० जनामध्ये ६ जना बिदामा र १५ जना सुरक्षित अवस्थामा रहेको जनाइएको छ। ड्युटीमा रहेका ९ जना भने बाढीपछि सम्पर्कविहीन भएका हुन्। बीओपी भवनमा भने ठूलो क्षति नभएको बताइएको छ। चीनतर्फबाट आएको बाढीसँगै ठूलो परिमाणमा लेदो र माटो बजार क्षेत्रमा पस्दा टिमुरेका घर, पसल, होटल तथा सवारीसाधनमा व्यापक क्षति पुगेको छ। बजार रहेको क्षेत्रमै नदी बगेपछि दुईवटा बजार तहसनहस भएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले बताउनु भएको छ । अधिकारीका अनुसार रसुवागढी भन्सार क्षेत्रमा रहेका ठूलो संख्याका गाडी तथा अन्य सामग्रीसमेत बाढीले बगाएको छ। बाढीले भन्सार क्षेत्र नै तहसनहस पारेको उहाँले बताउनु भएको छ । गत वर्षको बाढीपछि भर्खरै निर्माण सम्पन्न गरिएको नयाँ पुलसमेत यसपटकको बाढीले बगाएको छ।

हिमताल वा हिमपहिरोका कारण बाढी आएको आशंका

जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बाढी वर्षाका कारण आएको देखिन नसकेको बताउनु,भएको छ । उहाँका अनुसार पछिल्लो २४ घण्टामा रसुवाका केही स्थानमा सामान्य वर्षा भए पनि सात मिलिमिटरभन्दा बढी वर्षा भएको थिएन। त्यसैले हिमताल फुटेको वा अन्य कुनै हिमाली घटनाका कारण एक्कासि ठूलो बाढी आएको हुन सक्ने आशंका गरिएको छ। जलवायुविज्ञ धर्मराज उप्रेतीले तिब्बतमा हिमपहिरो गएर अस्थायी बाँध बनेको र त्यसपछि उक्त बाँध फुट्दा ठूलो परिमाणमा पानी एकैपटक बगेको हुन सक्ने प्रारम्भिक अनुमान गर्नुभएको छ । उहाँका अनुसार चीनबाट समेत बाढीसम्बन्धी एउटा एसएमएस प्राप्त भएको छ र त्यसबारे अध्ययन भइरहेको छ। बाढीको वास्तविक कारणबारे थप अध्ययनपछि मात्रै यकिन हुने बताइएको छ।

जलविद्युत् आयोजनामा पनि ठूलो क्षतिको अनुमान

बाढीका कारण रसुवा तथा त्रिशूली नदी आसपासका ३०० मेगावाटभन्दा बढी क्षमताका जलविद्युत् आयोजनामा समेत ठूलो क्षति पुगेको प्रारम्भिक आकलन गरिएको छ। ऊर्जा मन्त्रालयका अनुसार रसुवागढी १११ मेगावाट, चिलिमे २२ मेगावाट, त्रिशूली–३ ए ६० मेगावाट, त्रिशूली–बी ३७ मेगावाट, मैलुङ १४ मेगावाट, त्रिशूली–बेनिघाट ३५ मेगावाट तथा साञ्जेन र माथिल्लो साञ्जेन गरी ५७ मेगावाट क्षमताका आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण छ।
यी आयोजनाका विद्युत्गृह, सबस्टेसन तथा अन्य संरचनामा क्षति पुगेको प्रारम्भिक आकलन भए पनि वास्तविक क्षतिको विवरण अझै यकिन हुन सकेको छैन। बाढी जारी रहेकाले आयोजनामा कार्यरत कर्मचारीको अवस्था तथा भौतिक क्षतिको विस्तृत विवरण संकलन गर्न कठिन भइरहेको ऊर्जा मन्त्रालयले जनाएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल इप्पान ले पनि प्रभावित आयोजनाको अवस्था र क्षतिको विवरण संकलन भइरहेको जनाएको छ।

त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता

रसुवामा आएको बाढी त्रिशूली नदी हुँदै तल्लो तटीय क्षेत्रमा अघि बढिरहेको छ। बाढी धादिङको गल्छी आसपास पुगेको र केही घण्टामा मुग्लिन क्षेत्र पार गर्न सक्ने अनुमान गर्दै नदी आसपासका बस्ती तथा बजार खाली गरी सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। बाढीको जोखिमलाई ध्यानमा राख्दै रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ। नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा सार्न प्रहरी परिचालन गरिएको छ। बाढीका कारण पृथ्वी राजमार्गको चितवन–नारायणगढ खण्डमा समेत सवारी आवागमन प्रभावित भएको छ। तल्लो तटीय क्षेत्रमा समेत बाढीको जोखिम बढेकाले नदी किनारमा नजान र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरिएको छ।

नुवाकोट कारागारमा पनि बाढी

यसैबीच नुवाकोट कारागारमा समेत आकस्मिक बाढी पसेको छ। बाढी कारागारको एक तलामाथिसम्म पुगे पनि सबै कैदीबन्दीलाई सुरक्षित स्थानमा राखिएको कारागार प्रशासनले जनाएको छ। पछिल्लो समय पानीको सतह घट्ने क्रममा रहेको बताइएको छ। रसुवामा भएको बाढीको वास्तविक कारण, मानवीय क्षति तथा भौतिक क्षतिको पूर्ण विवरण भने उद्धार तथा खोजी कार्य अघि बढेपछि मात्रै स्पष्ट हुने देखिएको छ। अहिले मुख्य प्राथमिकता सम्पर्कविहीन सुरक्षाकर्मी तथा अन्य व्यक्तिको खोजी, जोखिममा रहेका बस्तीको स्थानान्तरण र तल्लो तटीय क्षेत्रलाई सुरक्षित राख्नुमा केन्द्रित गरिएको छ।