search logo
NOTIFICATIONS

अर्जेन्टिना सेमिफाइनलमा, मेसीको ९ खेलको गोलयात्रामा पूर्णविरामः अन्तिम चारमा अर्जेन्टिना, इङ्गल्यान्ड, फ्रान्स र स्पेन

हाम्रो पेज

२८ असार २०८३, आईतवार १२:०१
स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना, नर्वेलाई हराउदै इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा ,अन्तिम चारमा अर्जेन्टिना, इङ्गल्यान्ड, फ्रान्स र स्पेन

विराटनगर, २८ असार । अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६ अन्तर्गत अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। रोमाञ्चक क्वार्टरफाइनलमा निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा अर्जेन्टिनाले उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम चारमा स्थान बनाएको हो। खेलको १०औँ मिनेटमा कप्तान लियोनेल मेसीको उत्कृष्ट पासमा एलेक्सिस म्याक एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। दोस्रो हाफको ६७औँ मिनेटमा डान न्डोएले रिकार्डो रोड्रिगेजको पासमा गोल गर्दै स्विट्जरल्यान्डलाई खेलमा फर्काएका थिए।  ७२औँ मिनेटमा ब्रिल एम्बोलो दोहोरो पहेँलो कार्डपछि रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि स्विट्जरल्यान्ड १० खेलाडीमा सीमित भएको थियो। निर्धारित समयमा बराबरी कायम राख्न सफल भए पनि अतिरिक्त समयको ११२औँ मिनेटमा जुलियन अल्भारेजले जे। लोपेजको पासमा निर्णायक गोल गरे। त्यसपछि खेलको अन्तिम समयमा लाउटारो मार्टिनेजले अर्को गोल थप्दै अर्जेन्टिनालाई ३–१ को जित दिलाए। यस जितसँगै अर्जेन्टिना लगातार अर्को पटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

मेसीको लगातार ९ खेलको गोलयात्रामा पूर्णविराम

स्विट्जरल्यान्डविरुद्ध अर्जेन्टिना विजयी भए पनि कप्तान लियोनेल मेसीले भने गोल गर्न सकेनन्। यससँगै उनको विश्वकपमा लगातार ९ खेलसम्म गोल गर्ने ऐतिहासिक कीर्तिमानी यात्रा अन्त्य भएको छ। यद्यपि, उनले म्याक एलिस्टरको गोलमा उत्कृष्ट असिस्ट गर्दै टोलीको जितमा महत्त्वपूर्ण योगदान दिएका थिए। मेसीले सन् २०२२ को कतार विश्वकपदेखि जारी २०२६ विश्वकपसम्म लगातार ९ खेलमा गोल गर्दै विश्व फुटबलमा दुर्लभ कीर्तिमान बनाएका थिए। कतार विश्वकपको नकआउट चरणदेखि सुरु भएको उनको गोलयात्रा जारी विश्वकपको प्रि–क्वार्टरफाइनलसम्म कायम रह्यो। फुटबल विश्लेषकहरूले यस उपलब्धिलाई विश्वकप इतिहासकै उत्कृष्ट व्यक्तिगत प्रदर्शनमध्ये एक मानेका छन्।

बेलिङ्घमको दुई गोलमा इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा, नर्वे बाहिरियो

इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को विश्वकपको सेमिफाइनलमा पुगेको छ । रोमान्चक क्वार्टरफाइनल भिडन्तमा अतिरिक्त समयमा नर्वेलाई २–१ गोल अन्तरले हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा पुगेको हो । मियामी स्टेडियममा भएको खेलको अतिरिक्त समयमा इङ्गल्यान्डले २–१ को सनसनीपूर्ण जित निकालेको हो ।
खेलको ३६ औँ मिनेटमा मार्टिन ओडेगार्डको उत्कृष्ट पासमा एन्ड्रियास सेल्डरअपले गोल गर्दै नर्वेलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समय ४५ पल्स २ औँ मिनेट मा एन्थोनी गोर्डनको पासमा जुड बेलिङ्घमले गोल गर्दै इङ्गल्यान्डलाई १–१ को बराबरीमा ल्याएका थिए । दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समय सुरु हुनासाथ ९३ औँ मिनेटमा जुड बेलिङ्घमले ब्यक्तिगत दोस्रो गोल गर्दै इङ्गल्यान्डलाई २–१ को जित दिलाएका हुन् । यो हारसँगै नर्वे विश्वकपबाट बाहिरिएको छ ।

सेमिफाइनल समीकरण पूरा

क्वार्टरफाइनलका खेल सकिएसँगै विश्वकपको अन्तिम चार टोलीको टुङ्गो लागेको छ। अब साविक विजेता अर्जेन्टिना, इङ्गल्यान्ड, फ्रान्स र स्पेन उपाधि यात्राका लागि प्रतिस्पर्धा गर्नेछन्।

सेमिफाइनल खेल तालिकाः

फ्रान्सविरुद्ध स्पेन — मंगलबार जुलाई १४
अर्जेन्टिनाविरुद्ध इङ्गल्यान्ड — बुधबार जुलाई १५

दुवै खेलका विजेताले जुलाई १९ मा न्युयोर्क–न्युजर्सी स्टेडियममा हुने फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।