हाम्रो पेज
काठमाडौं १९ आश्विन । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज बिहान १० बजे केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। केन्द्रीय कार्यसमिति बैठकपछि सुरु हुने बन्दसत्रमा पार्टी सभापति गगनकुमार थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ। महामन्त्रीले विधान संशोधनसम्बन्धी प्रस्ताव पेस गर्नेछन्। ‘परम्पराको सम्मान र परिवर्तनको संकल्पः समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित आइतबारदेखि काठमाडौंमा सुरु भएको महाधिवेशन असोज २२ गतेसम्म चल्नेछ। बन्दसत्रमा सभापतिको राजनीतिक प्रतिवेदन र महामन्त्रीको विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल हुनेछ। यसैबीच, महाधिवेशनअन्तर्गत आजै मतदाता नामावली प्रकाशन गरिँदैछ। निर्वाचन समितिका अनुसार साँझ ५ बजे मतदाता नामावली सार्वजनिक हुनेछ। त्यसविरुद्ध दाबी–विरोधका लागि साँझ ५ बजेदेखि साढे ६ बजेसम्मको समय तोकिएको छ। दाबी–विरोधमाथि जाँचबुझका लागि साढे ६ देखि साढे ७ बजेसम्म समय छुट्याइएको छ भने अन्तिम मतदाता नामावली राति साढे ८ बजे प्रकाशन गरिनेछ। निर्वाचन कार्यतालिकाअनुसार मंगलबार बिहान उम्मेदवारी मनोनयन दर्ता हुनेछ भने बिहीबार बिहानदेखि मतदान हुनेछ।
केन्द्रीय निर्वाचन समितिले पदअनुसार मनोनयन दस्तुरसमेत निर्धारण गरेको छ। सभापतिका उम्मेदवारले ४० हजार, उपसभापति र महामन्त्रीका उम्मेदवारले ३० हजार, सहमहामन्त्रीका उम्मेदवारले २० हजार तथा केन्द्रीय सदस्यका उम्मेदवारले ११ हजार रुपैयाँ दस्तुर बुझाउनुपर्नेछ। यससँगै कांग्रेसको १५औँ महाधिवेशन अब नीति, नेतृत्व र नयाँ केन्द्रीय कार्यसमिति चयनको निर्णायक चरणमा प्रवेश गरेको छ।