मनसुन देशभर सक्रिय हुन अझै एक हप्ता लाग्ने, ११ जिल्लामा बाढीको जोखिम

हाम्रो पेज

२७ जेष्ठ २०८२, मंगलवार १५:२२
विराटनगर, २७ जेठ I हाल देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

मंगलबार दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हिमपातको सम्भावना रहेको छ। मंगलबार राति कोशी र लुम्बिनी र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हिमपातको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन देशभर विस्तार हुन अझै हप्ता-दश दिन लाग्न सक्ने देखिएको छ । यद्यपि मंगलबार कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा मौसम आंशिकदेखि साधारणतया बदली हुन सक्ने अनुमान छ । भोलिदेखि पानी पार्ने प्रणाली केही सक्रिय हुने र गर्मीबाट राहत पुग्न सक्ने मौसमविदको अनुमान छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखा सम्भावित बाढीबारे चेतावनी जारी गरेको छ । जारी बुलेटिनअनुसार आगामी ३ दिन (बिहीबारसम्म) कोशी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै पूर्वी राप्ती, पश्चिम राप्ती, कन्काई, कमला, बागमती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने पुर्वानुमान भए पनि घटबढ भइरहने देखिएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता आवश्यक देखिन्छ । यस्तै आज सोलुखुम्बुसहित ११ जिल्ला र आसपासका खोला-नदीमा बाढीको जोखिम देखिएकाले सतर्कता अपनाउन सुझाव दिइएको छ । बाढी महाशाखाले जारी गरेको सूचनामा भनिएको छः आज सोलुखुम्बु, संखुवासभा, खोटाङ, रामेछाप, कास्की, पर्वत, म्याग्दी, बागलुङ, सल्यान, जाजरकोट, रुकुमपश्चिम र आसपासका जिल्ला भई वहने केही ससाना नदीहरूमा बहाब बढ्ने सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।