झापामा लुटपाट,लगाएका सुन र नगद लुटियो

हाम्रो पेज

२० भाद्र २०८२, शुक्रबार १८:५६

झापा, २० भाद्र । जिल्लाको शिवसताक्षी नगरपालिका–११ बच्चाबगरमा बिहीबार राति एक हृदयविदारक लुटपाटको घटना घटेको छ। इलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार, राति करिब ८ः४० बजेतिर मोटरसाइकलमा आएका तीन जना अज्ञात व्यक्तिहरूको समूहले स्थानीय कृष्णकुमारी राईको घरमा प्रवेश गरी धारिलो हतियार देखाएर जबर्जस्ती लुटपाट गरेका हुन्। घटनामा ५३ वर्षीया राईले लगाइरहेको करिब २ तोला ५ आना सुनको सिक्री र हातको सुनको औँठीसहित जम्मा ३ तोला सुन लुटिएको छ। साथै, घरभित्र पर्समा राखेको १ लाख रुपैयाँ नगद पनि लुटिएको प्रहरीले जनाएको छ। झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार, प्रारम्भिक अनुमानमा करिब ७ लाख बराबरको लुटपाट भएको छ। लुटपाटमा संलग्नमध्ये एक जनाले टाउकोमा टोपी र कालो ज्याकेट लगाएको, बाँकी दुई जनाले हल्का पहेँलो ज्याकेट लगाएको र उनीहरू मंगोलियन अनुहारका देखिने प्रहरीले बताएको छ।
उनीहरूले खुकुरी र चक्कु देखाएर राईलाई धम्क्याउँदै शरीरमा लगाएका गहना खोसेर फरार भएको डीएसपी खड्काले जानकारी दिनुभयो। प्रहरीले लुटपाटमा संलग्न समूहको पहिचान र खोजी कार्य तीव्र पारेको जनाएको छ। राति अचानक भएको यो घटनाले स्थानीय बासिन्दाहरू त्रसित बनेका छन्।