search logo
NOTIFICATIONS

रसुवा बाढीको १३औँ दिनः शोकमा देश, आफन्तको प्रश्न, ‘कति दिन घरमा बसेर रुने ? ’

हाम्रो पेज

२२ भाद्र २०८३, सोमबार ११:५०
भोटेकोशी बाढीमा दिवंगतप्रति श्रद्धाञ्जलीस्वरूप सामूहिक धार्मिक अनुष्ठान, आधा झण्डा झुकाइयो

काठमाडौं २२ भाद्र । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज देशभर राष्ट्रिय शोक दिवस मनाइँदैछ। बाढीको १३औँ दिनमा सरकारी कार्यालय, सिंहदरबारस्थित विभिन्न मन्त्रालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। बाढीमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पशुपतिनाथ मन्दिर परिसरस्थित बागमती नदीको तटमा मृतकहरूको सामूहिक सद्गति तथा धार्मिक अनुष्ठानसमेत गरिएको छ। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै श्रीमद्भगवद्गीता पाठ, विष्णुसहस्रनाम स्तोत्र पाठ, द्वादशाक्षरी तथा पञ्चाक्षरी मन्त्रजप र हरिनाम सङ्कीर्तन गरिएको हो। साथै, बाढीबाट प्रभावितहरूको शीघ्र स्वास्थ्यलाभ तथा शोकसन्तप्त परिवारलाई धैर्य र साहस प्राप्त होस् भन्ने कामना गरिएको छ।

तर, बाढीको १३ दिन बितिसक्दा पनि हराइरहेका आफन्तको अवस्था अज्ञात रहेपछि पीडित परिवारको पीडा झन् गहिरिएको छ। रसुवाको त्रिशूली–३ ‘बी’ जलविद्युत आयोजनाको सुरुङमा फसेका आफन्तको खोजी प्रभावकारी नभएको भन्दै परिवारजन काठमाडौं आइपुगेका छन्। उनीहरूले आज माइतीघरमा धर्ना दिँदै सरकारले खोजी कार्यलाई थप प्रभावकारी बनाउन माग गरेका छन्। दुई साता पुग्न लाग्दा पनि सुरुङमा फसेका आफन्तको खोजीमा अपेक्षित प्रगति नभएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरे। ‘कति दिन घरमा बसेर कुर्ने रु’, ‘कति दिन घरमा बसेर रुने रु’ भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।माइतीघरमा आएका आफन्तहरूले आफूहरूलाई घटनास्थलमा पुगेर आफ्ना परिवारजनको अवस्थाबारे बुझ्नसमेत रोकिएको गुनासो गरेका छन्। माथिल्लो त्रिशूली–३ ‘बी’ मा फसेकाहरूको उद्धारका लागि नेपाली सेना, सुरक्षा निकाय तथा चीनबाट आएका प्राविधिक टोली परिचालित भए पनि हालसम्म सफलता मिल्न सकेको छैन। उक्त परियोजनामा १२२ जना हराइरहेको बताइएको छ।

सुरुङभित्र खोजी जारी

सरकारले भने खोज, उद्धार तथा राहतका लागि उपलब्ध सबै साधन तथा स्रोत परिचालन भइरहेको जनाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहित प्रदेश, स्थानीय तह तथा अन्य सम्बन्धित निकाय खोज तथा उद्धारमा परिचालित छन्। प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, प्राविधिक टोली तथा विदेशी विज्ञहरू खोज तथा उद्धारमा खटिएका छन्। प्राधिकरणका अनुसार विभिन्न जलविद्युत आयोजनाका सुरुङमा खोजी कार्य जारी छ। त्रिशूली–३ ‘ए’ को सुरुङमा १६० मिटर, त्रिशूली–३ ‘बी’ मा हेलिकोप्टरमार्फत एक्साभेटर पुर्‍याएर ३० मिटर, रसुवागढीमा २७५ मिटर, लाङटाङमा १५० मिटर र चिलिमेमा १७० मिटरसम्म खोजी गरिएको छ।अपर त्रिशूली–१ मा टनेल हेडदेखि टेलसम्म खोजी भइरहेको छ। अडिट–३ बाट इन्फ्रारेड तथा थर्मल ड्रोनमार्फत गरिएको खोजीमा जीवित व्यक्तिको संकेत नदेखिएपछि चिनियाँ प्राविधिक टोली फर्किएको प्राधिकरणले जनाएको छ। रसुवागढी जलविद्युत आयोजनामा संयुक्त द्रुत प्रतिक्रिया टोली तथा आयोजनाका प्रतिनिधिको टोली पावरहाउस र कन्ट्रोल प्वाइन्टसम्म पुगेर खोजीमा जुटेको छ। त्रिशूली–३ ‘ए’ को पावरहाउस तथा टनेल क्षेत्रमा नेपाली सेनाको टोली उद्धार उपकरणसहित निरन्तर खटिएको छ। त्रिशूली–३ ‘बी’ मा अडिट–२ बाट प्रवेश गरेको टोली बाहिरिएको छ। एक्साभेटर टनेलभित्र लैजान सक्ने गरी बाटो सफा गर्ने काम भइरहेको र हालसम्म कुनै व्यक्ति फेला नपरेको नेपाली सेनाले जनाएको छ।

सेनाको उद्धार तीव्र

नेपाली सेनाले बाढी, पहिरो तथा अन्य विपद्बाट प्रभावित विभिन्न क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको छ। आइतबार साँझ ७ बजेसम्म सेनाले हवाई साधनमार्फत थप १३ जनाको उद्धार गरेको जनाएको छ। सेनाका अनुसार हालसम्म हवाई साधनमार्फत स्वदेशी ३ हजार ६९८ र विदेशी २७७ गरी कुल ३ हजार ९७५ जनाको उद्धार गरिएको छ। यसैबीच, नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीमा पुल निर्माणको कामसमेत तीव्र पारिएको छ। सेनाको इन्जिनियरिङ फौजबाट खटिएको ५५ जनाको टोलीले पुल निर्माणलाई निरन्तरता दिइरहेको छ। राष्ट्रिय शोक दिवसका दिन देश शोकमा डुबिरहेका बेला रसुवा बाढीमा आफ्ना आफन्त गुमाएका तथा अझै बेपत्ताको खबर कुरिरहेका परिवारको एउटै प्रश्न छ, उनीहरूका आफन्तको खोजी कहिले पूरा हुन्छ ?