NOTIFICATIONS
हाम्रो पेज
काठमाडौं, २६ अषाढ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज बिहीबार देशका विभिन्न भागमा मनसुन सक्रिय रहने जनाएको छ । महाशाखाका अनुसार कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा आज राति भारी वर्षा हुने पूर्वानुमान छ । दिउँसोको समयमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहे पनि रातको समयमा वर्षाको मात्रा बढ्ने अनुमान गरिएको हो । महाशाखाले जारी गरेको विशेष बुलेटिन अनुसार, भारी वर्षासँगै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ । वर्षाका कारण बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम उच्च रहने हुँदा सतर्कता अपनाउन आग्रह गरिएको छ । विशेषगरी ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, शहरी तथा तराईका होचा भू भागमा डुबान हुनसक्ने भएकाले ती क्षेत्रका सर्वसाधारणलाई सावधान रहन भनिएको छ । यसले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, र यातायात ९सडक तथा हवाई० क्षेत्रमा समेत प्रभाव पार्न सक्ने भन्दै पूर्वतयारीमा रहन सर्वसाधारण तथा सम्बन्धित सबै निकायलाई विशेष अनुरोध गरिएको छ । महाशाखाले आकस्मिक बाढीको जोखिमलाई मध्यनजर गर्दै केही जिल्लाहरूलाई विशेष निगरानीमा राखेको छ । सुदूरपश्चिमका डोटी, डडेलधुरा, कञ्चनपुर र कैलाली जिल्ला भई बहने साना नदीहरूमा आकस्मिक बाढीको उच्च मध्यम जोखिम रहेको औंल्याइएको छ । दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक, मकवानपुर, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, लमजुङ, जुम्ला, कालीकोट, सल्यान, रोल्पा, अछाम, सुर्खेत, बर्दिया, दैलेख, दार्चुला र बैतडी भई बहने साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने हुँदा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ ।