हाम्रो पेज
विराटनगर, २६ वैशाख । विराटनगरमा अन्तर्राष्ट्रियस्तरको ‘लेमन ट्री प्रिमियर’ होटल सञ्चालनमा आएको छ । भारतको प्रतिष्ठित होटल समूह लेमन ट्री होटल्स लिमिटेड अन्तर्गतको होटलले विराटनगरमा औपचारिक रूपमा सेवा सुरु गरेको हो ।
केही समय अघि सामान्य शुभारम्भ गरिएको होटलले अब भने औपचारिक रुपमै आफ्नो व्यवशायीक सेवा शुभारम्भ गरेको प्रेस विज्ञप्तीमार्फत जानकारी गराएको छ । नेपालमा यो लेमन ट्री समूहअन्तर्गतको तेस्रो तथा विराटनगरमा पहिलो होटल हो । विराटनगर–५ भृकुटी चोकमा रहेको होटल विराटनगर विमानस्थलबाट करिब साढे ३ किलोमिटर दूरीमा छ ।
होटल व्यवस्थापनका अनुसार, अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा दिने उद्देश्यले सञ्चालनमा ल्याइएको यो होटलले विराटनगरको आतिथ्य क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ । होटलमा चारजना युवा उद्यमीको लगानी छ । पाँचतारे स्तरको यो होटलको भौतिक संरचनामा विकाश चौधरी, प्रसान्त तातेड, कविन श्रेष्ठ र मनोजविक्रम शाहले संयुक्त रूपमा लगानी गरेका छन् । करिब दुई अर्ब रुपैयाँको लगानीमा निर्माण भएको होटल व्यवस्थापन भने भारतस्थित लेमन ट्री समूहलाई जिम्मा दिइएको हो ।
होटलमा ८० वटा सुविधासम्पन्न कोठा रहेका छन् । पाहुनाका लागि प्रेसिडेन्सियल सुइट, सुइट रुम, सुपर डिलक्स र डिलक्स श्रेणी का आवासीय सुविधा उपलब्ध हुनुका साथै, होटलभित्र ‘सिट्रस क्याफे’, ‘रिपब्लिक अफ नुडल्स’, ‘स्लाउञ्ज बार’ तथा ‘टी लाउञ्ज’ जस्ता सेवा पनि सञ्चालनमा रहने जनाइएको छ । कोशी प्रदेशको राजधानी तथा पूर्वी नेपालको प्रमुख औद्योगिक र व्यापारिक केन्द्रका रूपमा परिचित विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको होटल आवश्यक महसुस भइरहेका बेला होटल सञ्चालनमा ल्याईएको संचालक विकाश चौधरीले बताउनुभयो ।
होटलमा व्यवसायिक बैठक, सम्मेलन, विवाह समारोह तथा सामाजिक कार्यक्रमलाई लक्षित गरी आधुनिक बैंक्वेट हल र बैठक कक्षको व्यवस्था गरिएको छ । पाहुनाको स्वास्थ्य र आरामलाई ध्यानमा राख्दै होटलमा स्पा, आधुनिक फिटनेस सेन्टर तथा रुफटप स्विमिङ पुलको सुविधा रहेको अर्का संचालक मनोजविक्रम शाहले जानकारी दिनुभयो ।
होटल उद्घाटनका अवसरमा लेमन ट्री होटल्स लिमिटेडका अध्यक्ष विश्वप्रीत सिंह चीमाले विराटनगर नेपालको व्यापारिक गतिविधिको प्रमुख केन्द्र भएको उल्लेख गर्दै सहर तीव्र रूपमा आधुनिक बन्दै गएको बताउनुभयो ।
लेमन ट्री होटल्स लिमिटेड भारतको अग्रणी होटल कम्पनीमध्ये एक हो । कम्पनीले भारतसहित नेपाल, भुटान र दुबईमा समेत होटल सञ्चालन गर्दै आएको छ । अन्तर्राष्ट्रियस्तरको होटल ब्रान्ड विराटनगरमा भित्रिएसँगै यहाँ व्यापारिक गतिविधि, पर्यटन तथा सेवा क्षेत्र विस्तार हुने अपेक्षा गरिएको छ । यसबाट भारतीय तथा अन्य विदेशी पर्यटक आकर्षित हुनुका साथै स्थानीय अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ । साथै व्यापार, पर्यटन तथा व्यवसायिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ ।