अचानकको असिना पानी र पहिरोले हुम्लामा विद्यालय नै पुर्याे

हाम्रो पेज

६ जेष्ठ २०८३, बुधबार ११:०६

हुम्लामा पहिरोले घर गोठ बगायो

हुम्ला, ६ जेष्ठ । हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको पहिरोले चङ्खेली–५ डाँफेस्थित आधारभूत विद्यालय भवनमा क्षति पुर्‍याएको छ । एक्कासी असिनापानी परेपछि खसेको पहिरोले विद्यालय भवन सहित खेतीयोग्य जग्गा र गोठमा पनि क्षति पुर्‍याएको चङ्खेली– ५ का बासिन्दा छक्कबहादुर तामाङले जानकारी दिनुभयो । चङ्खेली– ५ वडाध्यक्ष हर्कधन तामाङ र धनसिंह तामाङका गोठ पनि पहिरोले पुरेको छ । त्यहाँ रहेका भेडाबाख्रामा क्षति पुगेको छ । पहिरोले गोठ पुरिए पनि के कति क्षति भयो भन्ने एकिन विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले जानकारी दिनुभयो । भीषण असिनापानीपछि आएको पहिरोले घर गोठ बगाएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी विष्णु श्रेष्ठका अनुसार मंगलबार परेको हावाहुरी सहितको असिना पानीपछि रातको समयमा बाढी आएको हो । बाढीले स्थानीयको घर गोठ बगाउँदा भेडाबाख्रा पुरिएका छन् । मानवीय क्षतिको विवरण भने आइनसकेको श्रेष्ठले बताउनुभयो  । उहाँले प्रहरी टोली पहिरो प्रभावित स्थलतिर प्रस्थान गरिसकेको बताउनुभयो । हुम्ला सदरमुकाम सिमकोटदेखि उत्तरपूर्वमा रहेको चङ्खेली गाउँपालिकाको तल्लो पाली, माथिल्लो पाली, पिप्लाङ र नेप्का गरी चार गाउँ रहेका छन् । गाउँपालिकाको केन्द्र पिप्लाङभन्दा निकै टाढा रहेको नेप्का गाउँ पुग्न करिब पाँच घण्टा पैदल यात्रा गर्नुपर्छ । ।असिनापानीका कारण भिरालो नाङ्गो पाखोबाट लेदोसहितको बाढी बस्तीमा पसेको थियो । भौगोलिक विकटताका कारण घटनास्थलमा सुरक्षाकर्मी पुग्न समय लागेको छ ।