हिमताल विस्फोटले रसुवामा प्रलयः मितेरी पुल बगायो, १९ बेपत्ता, पुनर्निर्माणका लागि चीनसँग आग्रह गरिने

हाम्रो पेज

२५ असार २०८२, बुधबार १८:४३

काठमाडौं २५ अषाढ । रसुवाको भोटेकोशी नदीमा मंगलबार बिहान आएको विनाशकारी बाढीको मुख्य कारण ‘हिमताल विस्फोट’ रहेको प्रारम्भिक अध्ययनले देखाएको छ। यो अकल्पनीय विपत्तिले नेपाल चीन जोड्ने रणनीतिक मितेरी पुल बगाएको छ भने ६ जना चिनियाँ नागरिकसहित १९ जना अझै बेपत्ता रहेका छन्। सरकारले तत्काल उद्धार र राहत कार्यलाई तीव्रता दिँदै पुल र सडक पुनर्निर्माणका लागि चीन सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार पत्रकार सम्मेलन गरी बाढीको कारणबारे प्रारम्भिक निष्कर्ष सार्वजनिक गरेको हो। प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले यो सामान्य वर्षाको बाढी नभई हिमताल विस्फोट नै भएको बताउनुभयो। बाढी ह्वात्तै आएर नदीको उचाइ एकै पटक साढे ३ मिटर बढेको छ, जुन सामान्य वर्षाले सम्भव छैन, उहाँले भन्नुभयो, उपग्रह तस्बिरको विश्लेषण गर्दा चीनतर्फको लेन्दे नदीभन्दा माथिको भागमा रहेका हिमतालहरू फुटेर बाढी आएको देखिन्छ। यसको मूल कारण जलवायु परिवर्तन हो।
गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभामा जानकारी गराएअनुसार, यस विपत्तिले रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ स्थित रसुवागढीमा ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। २ जना नेपाल प्रहरी, ११ जना नेपाली सर्वसाधारण र ६ जना चिनियाँ नागरिक गरी कुल १९ जना सम्पर्कविहीन छन्। हालसम्म ९ जनाको शव भेटिएको छ। नेपाल चीन जोड्ने मितेरी पुल पूर्ण रूपमा बगेको छ भने स्याफ्रुबेँसीदेखि टिमुरेसम्मको करिब १६ किलोमिटर सडक खण्डमा गम्भीर क्षति पुगेको छ। विपत्तिको सूचना पाउनासाथ सरकारले उद्धार कार्यलाई उच्च प्राथमिकतामा राखेको छ। गृहमन्त्री लेखकका अनुसार


नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी ६८२ जना सुरक्षाकर्मी खोज तथा उद्धारमा खटिएका छन्। हालसम्म हवाई माध्यमबाट ३० जना र स्थलगत रूपमा भन्सार यार्ड तथा हाइड्रोपावर ड्याम साइडमा फसेका २७ जना गरी कुल ५७ जनाको सफलतापूर्वक उद्धार गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले विपद् प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी घटनाबारे जानकारी लिनुभएको छ। यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको प्राधिकरणको राष्ट्रिय परिषद् बैठकले विपद् सामना गर्न विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ
१. पुनर्निर्माणका लागि अनुरोधः अवरुद्ध रसुवागढी नाका सुचारु गर्न मितेरी पुल र सडक पुनर्निर्माणका लागि परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई अनुरोध गरिनेछ।
२. खोज तथा उद्धारलाई निरन्तरताः बेपत्ताहरूको खोज तथा उद्धार कार्यलाई निरन्तरता दिन सबै सुरक्षा निकायलाई निर्देशन दिइएको छ।
३. कारण पहिचान र पूर्वतयारीः चीनसँग समन्वय गरी बाढीको विस्तृत कारण पहिचान गर्ने र भविष्यमा यस्ता घटना हुन नदिन पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाइनेछ।