हाम्रो पेज
विराटनगर, २५ माघ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज दुई पटकको च्याम्पियन इङल्यान्डसँग खेल्दै दशौँ संस्करणको आइसीसी टी–२० विश्वकपको सुरुवात गर्दैछ। मुम्बइको वानखेडे क्रिकेट स्टेडियममा आइतबार दिउँसो सवा ३ बजे नेपाली टोली इङल्यान्डविरुद्ध मैदान उत्रँन लागेको हो। नेपालले समूह चरणका आफ्ना चार खेल वानखेडे स्टेडियममा नै खेल्नेछ। समग्रमा तेस्रो र लगातार दोस्रो पटक नेपालले विश्वकप खेल्न लागेको हो। अघिल्लो पटक विश्वकप खेलेका १० र नयाँ खेलाडीले यसपटकको विश्व कपमा नेपालको प्रतिनिधित्व गर्दैछन्। आरिफ शेख, बसिर अहमद, लोकेश बम, शेर मल्ल र नन्दन यादव विश्वकपमा डेब्युको तयारीमा छन्। सोमपाल कामी भने नेपालले खेलेका तिन वटै विश्वकप खेल्ने एक्ला खेलाडी बन्ने संघारमा छन्। कप्तान रोहित पौडेलसँगै ओपनर कुशल भुर्तेल, आशिफ शेख, दिपेन्द्र सिंह ऐरि, गुल्सन झा, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी र सन्दीप जोरा लगातार दोस्रो पटक विश्वकप खेल्न लागेका हुन्। विश्वकपअघि नेपालले युएई र क्यानडासँग अफिसियल वार्मअप म्याच खेलेको थियो। ति दुवै खेलमा नेपालले जित हात पारेको थियो। विश्वकप आयोजक श्रीलंका र भारतमा अभ्यास गरेको नेपाली टोली उच्च मनोबलमा छ। सन् २०१० र २०२२ मा विश्वकपको उपाधि उचालेको बलियो टोली इङल्यान्ड नेपाललाई हराउँदै सुखद सुरुवात गर्ने लक्ष्यमा छ। नेपालविरुद्धको खेलका लागि इङल्यान्डले शनिबार नै प्लेइङ ११ सार्वजनिक गरिसकेको छ। नेपाल इङल्यान्डसँगै वेष्ट इण्डिज, स्कटल्यान्ड र इटाली रहेको समुहमा छ। इङल्यान्ड र वेष्ट इण्डिजले दुई पटक विश्वकपको ट्रफी उचालेका छन्। नेपालले २ टोलीलाई पराजित गरे सुपर ८ मा प्रवेशको बाटो खुल्नेछ । इटाली भने विश्वकपमा डेब्यु गर्न लागेको हो। सन् २००७ मा विश्वकप कपमा डेब्यु गरेको स्कटल्यान्ड सन् २०१६ पछि लगातार विश्वकप खेल्ने टोली हो। बंगलादेशले सुरक्षाको कारण देखाउँदै भारतमा आएर खेल्न अस्वीकार गरेपछि आइसीसीले वरियताको आधारमा स्कटल्यान्डलाई मौका दिएको हो। नेपालबाट रोहितसँगै चर्चित अलराउन्डर दीपेन्द्रसिंह ऐरी उपकप्तानको जिम्मेवारीमा छन् । फिल्डिङमा तीव्र दीपेन्द्र बलिङ र ब्याटिङमा पनि उस्तै दमदार छन् । नेपाली टिमको बलिङतर्फ स्पिनको नेतृत्व सन्दीप लामिछानेले गर्नेछन् । सबैभन्दा अघि ‘ग्लोबल आइकन’ सन्दीप लामिछाने रहने छन् । उनलाई लेफ्ट आर्म स्पिनर ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी, बसिर अहमद र शेर मल्लले साथ दिनेछन् । पछिल्लो समय आवश्यकताअनुसार नेपालबाट कप्तान रोहित आफैँ र ओपनर ब्याटर कुशल भुर्तेल पनि स्पिन आक्रमणमा साथ दिन सक्ने बलर बनेका छन् । ब्याटिङ र बलिङ दुवैमा पोख्त रहेका दीपेन्द्र, गुल्सन झा, आरिफ सेख र सोमपाल कामीले नेपालको अलराउन्ड क्षमतालाई बलियो बनाएको छ । शीर्ष क्रममा कुशल भुर्तेलको आक्रामक मानसिकता छिटो सुरुआत दिलाउन निर्णायक हुनेछ । विकेटकिपर आसिफ सेखले स्थिरता प्रदान गर्छन् । मध्यक्रममा लोकेश बम मजबुत ब्याटिङ र आकर्षक सट खेल्ने क्षमताका निम्ति परिचित छन् । सन्दीप जोरा र नन्दन यादवले ब्याटिङ युनिटलाई थप मजबुत बनाउँदै शीर्ष ६ जनाभन्दा बाहिरसम्म पनि नेपालको ब्याटिङमा गहिराइ प्रदान गर्छन् । पेस बलिङको नेतृत्व सोमपाल कामी र करण केसीले गर्नेछन् । २०२४ को टी–२० विश्वकपमा नेपाल समूह चरणमै बाहिरिएको थियो । चार खेल खेलेको नेपाल जितविहीन बनेको थियो । यसैबीच प्रधानमन्त्री सुशीला कार्कीले विश्वकप टि–२० खेल्न लागेका नेपाली टोलीलाई विजयीका लागि शुभकामना व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्रीले नेपाली टोलीको विगतको चमत्कार र सफलतासँगै नेपालको संसारभर फैलिएका प्रशंसकको पनि साथ रहेको बताउनु भएको छ । उहाँले कप्तान रोहित पौडेलको टोलीले नेपालको बेजोड प्रस्तुति देखाउने विश्वास राख्नु भएको छ । यस्तै नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेर नेपालको झण्डा विश्वभर फहराउनेमा विश्वास व्यक्त गर्नुभएको छ । टी–२० विश्वकपमा सहभागी हुन लागेका नेपाली खेलाडीलाई सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उहाँले नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा छुट्टै पहिचान बनाइसकेको बताउनु भएको छ । यस्तै नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अब क्रिकेटको ‘राइजिङ पावर’ रहेको बताउनु भएको छ । टी–२० विश्वकपमा सहभागी हुन लागेका नेपाली खेलाडीलाई भिडियोमार्फत शुभकामना दिँदै ओलीले नेपालको खेलले विश्वले क्रिकेट जगतमा नेपाल एउटा उदयमान नक्षत्र रहेको देखाउने बताउनु भएको छ । ओलीले रोहित पौडेल नेतृत्वको नेपाली टोलीले देशको शिर उच्च राख्ने विश्वास व्यक्त गर्नुभयो । ओलीले क्रिकेट नेपालका लागि एउटा खेल मात्रै नभई प्रगतिको पहिचान र स्वाभिमान पनि भएको ओलीको भनाइ छ । ओलीले नेपालले यसपटक नयाँ कीर्तिमान रच्ने विश्वास व्यक्त गर्नुभएको छ । यता रास्वपाबाट भावी प्रधानमन्त्रीमा प्रस्तावित वरिष्ठ नेता बालेन्द्र शाहले पनि नेपाली टोलीलाई शुभकामना दिनुभएको छ । उनले आफ्नो पार्टीका समानुपातिक उमेद्वारसमेत रहेका पूर्व क्रिकेटर ज्ञानेन्द्र मल्ललाई सदनसम्म पुर्याउनेमा विशेष जोड दिदै टोलीलाई पनि शुभकामना दिनु भएको छ । क्रिकेट देखि सदनसम्म भन्दै बालेनले लेखेका छन्, सन् २०१४ मा पहिलो पटक नेपालले विश्वकप क्रिकेट खेलेको थियो । बंगलादेशमा भएको प्रतियोगितामा नेपालले अफगानिस्तान र हङकङलाई हराएको थियो । हाम्रा समानुपातिक सांसदका उम्मेदवार रहनुभएका ज्ञानेन्द्र मल्लले त्यो बेला विश्वकपमा उत्कृष्ट प्रर्दशन गर्नुभएको थियो । विश्वकपमा उहाँको ब्याटिङ नेपालको जितको आधार पनि बनेको थियो । आजदेखि नेपालले तेस्रो पटक विश्वकप खेल्दैछ । क्रिकेटले देशलाई जोड्ने र खुसी हुने मौका दिएको छ । व्यवसायीक रुपमा अघि बढ्ने सम्भावना देखाएको छ । क्रिकेटको माध्यमबाट विश्वमाझ नेपाल र नेपालीलाई चिनाएको छ । क्रिकेटको आगामी लक्ष्य, कता जाने, कता लग्ने भन्ने कुराको जिम्मेवारी हामीले क्रिकेटकै पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई दिएका छौं । उहाँकै अनुभव र भिजन अनुसार अब नेपालको क्रिकेट अगाडी बढ्नेछ । उहाँले मैदानमा देखाउनुभएको खेल अनुशासन र क्षमतालाई क्रिकेट र समग्र खेलकुद विकासमा सदुपयोग गरिनेछ । लगातार दोस्रो पटक विश्वकप खेल्न लागेको नेपाली टिमका सम्पुर्ण खेलाडीलाई शुभकामना । सिंगो देश तपाईंहरुको साथमा छ ।विश्वकपको पहिलो दिन शनिबार तिन खेल सम्पन्न भए। श्रीलंकाको कोलोम्बोमा भएको उद्घाटन खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ३ विकेटले हरायो। भारतको इडेन गार्डेनमा भएको खेलमा वेष्ट इण्डिजले स्कटल्यान्डलाई ३५ रनले तथा मुम्बइको वानखेडेमा साविक विजेता भारतले अमेरिकालाई २९ रनले हरायो। आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा भारतले विजयी सुरुआत गरेको छ । भारतले शनिबार भएको आफ्नो पहिलो खेलमा एसोसिएट राष्ट्र अमेरिकाविरुद्ध २९ रनको जित निकालेको हो । भारतको जितमा कप्तान सूर्यकुमार यादव नायक बने । मुम्बईस्थित वान्खेडे रंगशालामा भारतले दिएको १६२ रनको लक्ष्य पछ्याउने क्रममा अमेरिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो । अमेरिकाका सञ्जय कृष्णमुर्थीले र सुभव रञ्जानेले समान ३७ रन जोडे । मिलिन्द कुमारले ३४ बलमा तीन चौका र एक छक्कासहित ३४ रन थपे । १३–३ को कठिन स्थितिबाट चौथो विकेटका निम्ति ५८ रनको साझेदारी गर्दै अमेरिकाको मध्यक्रम सम्हाल्ने प्रयास गरेका थिए । तर, ११.६ ओभरमा मिलिन्द कुमार पभेलियन फर्किएपछि अमेरिकाको पुनः विकेट पतन शृंखला सुरु भएको थियो । अमेरिकाका अरू ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् । अमेरिकालाई सस्तैमा रोक्न मोहम्मद सिराजले तीन विकेट लिए । अर्शदीप सिंह र अक्षर पटेलले समान दुई विकेट लिए । वरुण चक्रवर्थीका नाममा एक विकेट रह्यो । त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको घरेलु टोलीले अमेरिकाविरुद्ध निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १६१ रन बनाएको थियो । भारतका कप्तान सूर्यकुमार यादवले सर्वाधिक ८४ रनको योगदान गरे । चौथो नम्बरमा ब्याटिङ गर्न आएका उनले ४९ बलमा १० चौका र चार छक्का प्रहार गरे । तिलक वर्माले २५ रन जोडे । ओपनर इशान किशन २० रन बनाएर पभेलियन फर्किए । अक्सर पटेलले १४ रन बनाए । यसबाहेक अरू खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । अमेरिकाका शाड्ली भाव शाल्कवाइकले चार विकेट लिए । हर्मित सिंहले दुई विकेट लिए । महोम्मद मोहसीन र अलि खानले समान एक विकेट लिए । जितसँगै समूह ‘ए’मा भारतले पनि दुई अंक जोडेको छ । यही समूहको पाकिस्तानले दिनको पहिलो खेलमा स्कटल्यान्डलाई तीन विकेटले हराउँदै दुई अंक जोडेको थियो । दिनको दोस्रो खेलमा भने वेस्ट इन्डिजले स्कटल्यान्डविरुद्ध ३५ रनको जित निकालेको थियो । प्रतियोगितामा आइतबार तीन खेल हुँदै छन् । दिनको पहिलो खेलमा चेन्नइमा समुह डी का न्युजिल्यान्डले अफगानिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दै छ । आजको दोस्रो खेलमा मुम्बेईमा नेपालले इंग्ल्यान्डसामु चुनौती प्रस्तुत गर्नेछ । तेस्रो खेलमा उता श्रीलंकाको कोलोम्बोमा घरेलु टोली र आयरल्यान्ड खेल्ने तालिका छ।