हाम्रो पेज
विराटनगर, ७ असार ।
फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणका दोस्रो खेलहरूमा जापान, नेदरल्यान्ड्स र जर्मनीले प्रभावशाली जित निकाल्दै आफ्नो नकआउट यात्रा बलियो बनाएका छन्। मेक्सिकोको स्टाडियो मोन्टेरीमा भएको समूह ‘एफ’को खेलमा जापानले ट्युनिसियालाई ४–० ले पराजित गर्यो। खेलको चौथो मिनेटमै दाइची कामाडाले जापानलाई अग्रता दिलाएका थिए। त्यसपछि आयसे युएदाले ३१औँ र ८३औँ मिनेटमा तथा जुनियाले ६९औँ मिनेटमा गोल गर्दै जापानलाई सहज जित दिलाए। पहिलो खेलमा नेदरल्यान्ड्ससँग २–२ को बराबरी खेलेको जापानको दुई खेलबाट ४ अंक पुगेको छ र नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनेको छ। लगातार दोस्रो हार बेहोरेको ट्युनिसिया भने समूह चरणबाटै बाहिरिएको छ। यसअघि ट्युनिसिया स्वीडेनसँग ५–१ ले पराजित भएको थियो। सोही समूहको अर्को खेलमा नेदरल्यान्ड्सले स्वीडेनमाथि ५–१ को शानदार जित निकाल्यो। ब्रायन बोब्बीले पाँचौँ र १६औँ मिनेटमा गोल गर्दै टोलीलाई बलियो सुरुआत दिलाए भने दोस्रो हाफमा कोडी गाक्पोले ४७औँ र ५४औँ मिनेटमा गोल थपे। खेलको ८८औँ मिनेटमा सेन्सियो समरभिलले गोल गरेपछि नेदरल्यान्ड्सको जित सुनिश्चित भयो। स्वीडेनका लागि एन्थोनी एलान्काले एक सान्त्वना गोल फर्काए। जापानसँग बराबरी खेलेको नेदरल्यान्ड्सको पनि ४ अंक पुगेको छ भने स्वीडेन ३ अंकसहित तेस्रो स्थानमा छ।
समूह ‘जी’मा जर्मनीले आइभरी कोस्टलाई २–१ ले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ। पहिलो हाफमा फ्र्यांक केइसीको गोलमार्फत आइभरी कोस्टले अग्रता लिए पनि दोस्रो हाफमा डेनिज उन्दाभले ६७औँ मिनेट र इन्जुरी समयमा गोल गर्दै जर्मनीलाई पुनरागमन जित दिलाए। यसअघि क्युरासाओलाई ७–१ ले हराएको जर्मनी ६ अंकसहित समूहको शीर्षस्थानमा पुगेको छ। उता, क्युरासाओ र इक्वेडरबीचको खेल गोलरहित बराबरीमा टुंगियो। पहिलो खेलमा दुवै टोली पराजित भएकाले यो नतिजापछि दुवैले प्रतियोगितामा पहिलो अंक जोड्न सफल भए। बराबरीसँगै क्युरासाओ र इक्वेडरको समान १–१ अंक भएको छ।
विश्वकपअन्तर्गत आज राति नेपाली समयअनुसार पौने १० बजे स्पेन र साउदी अरेबिया भिड्नेछन्। त्यसपछि मध्यराति पौने १ बजे बेल्जियम र इरान, भोलि बिहान पौने ४ बजे उरुग्वे र केप भर्डे तथा बिहान पौने ७ बजे न्युजिल्यान्ड र इजिप्टबीच प्रतिस्पर्धा हुनेछ। विश्वकपमा समूह चरणका खेलहरू निर्णायक बन्दै जाँदा नकआउट चरणको समीकरण झन् रोमाञ्चक बन्दै गएको छ।