search logo
NOTIFICATIONS

आन्दोलन तोड्ने डाक्टर र क्लिनिकको फोटो सामाजिक सञ्जालमा हाल्न चिकित्सक संघको आग्रह

हाम्रो पेज

२४ असार २०८२, मंगलवार १७:१४
डाक्टर र क्लिनिकको भण्डाफोरमा लाग्यो चिकित्सक संघ

विराटनगर, २४ अषाढ । देशभरका चिकित्सकहरू आफ्नो पेशागत सुरक्षाको माग गर्दै आन्दोलनमा उत्रिएका बेला नेपाल चिकित्सक संघ, कोशी शाखाले आन्दोलन विपरीत सेवा सञ्चालन गर्ने र बिरामीसँग बढी शुल्क असुल्ने निजी क्लिनिक तथा चिकित्सकहरूको पहिचान गरी भण्डाफोर गर्न आम सर्वसाधारणलाई अपिल गरेको छ। संघले एक सूचना जारी गर्दै राष्ट्रव्यापी आन्दोलनको मर्म विपरीत केही निजी क्लिनिकहरूले ओपिडी सञ्चालन गरिरहेको र आकस्मिक सेवामा समेत बढी शुल्क लिइरहेको खबर आएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघका अध्यक्ष डा. राजेन्द्र चौधरी र महासचिव डा. बालकृष्ण साहद्वारा हस्ताक्षरित विज्ञप्तिमा यस्तो कार्य केवल संघको निर्णय विरुद्ध मात्र नभई सम्पूर्ण चिकित्सक समुदायको संघर्षमाथि गरिएको कुठाराघात भएको उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, “यो केवल संघविरुद्ध होइन, सम्पूर्ण चिकित्सक समुदायको संघर्षमाथि कुठाराघात हो, अमानवीय, गैरजिम्मेवारपन हो।” संघले आम नागरिकलाई यस्तो गैरजिम्मेवार कार्यमा संलग्न अस्पताल, क्लिनिक वा चिकित्सकलाई देखेमा तत्काल प्रमाणसहित कारबाहीका लागि सहयोग गर्न आग्रह गरेको छ। “यदि तपाईं यस्ता गैर जिम्मेवार सेवा दिने अस्पताल, क्लिनिक वा चिकित्सकलाई देख्नु भएको छ भने तस्बिर खिच्नुहोस्। प्रमाणसहित सामाजिक सञ्जालमा राख्नुहोस्। साथै हामीलाई पनि जानकारी गराउनुहोस्,” संघले सूचनामार्फत अपिल गरेको छ। चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको घटनामा अदालतले सजाय सुनाएपछि त्यसको विरोधमा नेपाल चिकित्सक संघले देशभर आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको थियो। संघले यो आन्दोलन आफ्नो पेशागत अस्मिता, अस्तित्व र सुरक्षाको लडाइँ भएको बताएको छ।
संघले आफ्नो उद्देश्य बिरामीलाई दुःख दिनु नभई स्वास्थ्य सेवालाई व्यवसाय बनाउने प्रवृत्ति र चिकित्सकमाथिको अन्याय र दमनको विरोध गर्नु रहेको स्पष्ट पारेको छ। संघले समस्याको चाँडो समाधान गरी सम्मानजनक रूपमा स्वास्थ्य सेवा सुचारु गर्ने वातावरण बनाउन समेत सम्बन्धित पक्षसँग माग गरेको छ।