नेपाल प्रहरीको ३२ औं महानिरीक्षक (आईजीपी) मा चन्द्रकुबेर खापुङ नियुक्त

हाम्रो पेज

१३ भाद्र २०८२, शुक्रबार १४:१८

काठमाडौं, १३ भदौ । नेपाल प्रहरीको ३२ औं महानिरीक्षक (आईजीपी) मा एआईजी चन्द्रकुबेर खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषदले निर्णय गरेको छ। शुक्रबार बसेको आकस्मिक मन्त्रिपरिषद बैठकले खापुङलाई आगामी १९ गतेदेखि लागू हुनेगरी आईजी नियुक्त गरेको हो। उहाँले सोही दिन दर्ज्यानी चिन्ह लगाउनु हुनेछ । उहाँ हाल केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी प्रमुख हुनुहुन्छ ।

खापुङको नियुक्तिसँगै यो ब्याचबाट तीन जना आईजी बनेका छन्। गणतन्त्रयता सम्भवतः यो दुर्लभ घटना भयो। यसअघि एकै ब्याचका दुई जनासम्म आईजी भएका थिए। तत्कालीन आईजी सर्वेन्द्र खनालपछि उहाँकै ब्याचका ठाकुर ज्ञवाली आईजी बन्नु भएको थियो । सँगै भर्ना भएका यो ब्याचका इन्स्पेक्टरहरूलाई तीन पटकमा नियुक्ति दिइयो। पहिलो पटक ५ चैत २०५१ मा नियुक्ति लिइएका ५३ जनामध्येबाट यसअघि नै बसन्तबहादुर कुँवर आईजी भएर ५ चैत २०८१ मा ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जानु भएको थियो । दोस्रोमा, १९ भदौ २०५२ मा नियुक्ति लिएहरूमध्येबाट सुदीप गिरी र टेकबहादुर तामाङलाई पछि पार्दै थापा आईजीपी बन्नुभयो। उहाँ पनि १८ भदौमा अवकाशमा जाने भएपछि तेस्रो लटमा नियुक्त भएका खापुङ एकल प्रतिस्पर्धी बन्नु भएको थियो ।

उहाँसँगै तेस्रो लटमा नियुक्त हुनुभएका लालमणी आचार्य गत १० जेठमा एआईजीको ५६ वर्षे उमेर हदले अनिवार्य अवकाशमा गइसक्नु भएकोछ । खापुङसँगै इन्स्पेक्टरमा नियुक्त भएका अर्का एआईजी कृष्णहरि शर्मा पोखरेल पनि एआईजीको ५६ वर्षे उमेर हदका कारण दुई दिनपछि १५ भदौमा अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ । मन्त्रिपरिषदले आईजीपी नियुक्तिमा चाँडो निर्णय गरेको पनि यो दुर्लभ जस्तै घटना भयो। यहि प्रहरी ऐन कायम रहेको खण्डमा खापुङले कात्तिकको दोस्रो साताको सुरुआततिर नै अवकाश पाउनु हुनेछ ।

तेह्रथुम मेन्छयायेम गाउँपालिका वडा नम्बर ६ मा मध्यम परिवारमा २०२७ सालमा जन्मेका खापुङ बुवा ललितबहादुर र आमा गंगामाया खापुङका ६ भाइ मध्ये साहिला हुनुहुन्छ । २०४२ सालमा एसएलसी उतीर्ण गर्नुभएका खापुङले स्नातक तहसम्म कानुन विषयमा अध्ययन गरेपछि स्नात्तकोत्तर लैङ्गिक विषयमा अध्ययन पुरा गर्नुभएको छ । श्रीमती भावना श्रेष्ठ समेत प्रहरी सेवामै कार्यरत हुनुहुन्थ्यो भने उहाँले डिएसपीबाट स्वेच्छिक अवकाश लिनु भएको थियो । खापुङ दम्पत्तिका दुई छोरा छन् ।