अमेरिकी टेक्सासमा बाढीः मृतक५१ पुगे , २७ अझै बेपत्ता, नदी ४५ मिनेटमै २६ फिट बढ्यो

हाम्रो पेज

२२ असार २०८२, आईतवार १६:२५
एजेन्सी, २२ अषाढ । अमेरिकाको टेक्सास राज्यमा मुसलधारे वर्षापछि आएको प्रलयकारी बाढीले भयानक विनाश निम्त्याएको छ, जसलाई अमेरिकी अधिकारीहरूले ुसामूहिक हताहतको घटना भनेका छन्। आइतबारसम्म बाढीका कारण मृत्यु हुनेको संख्या ५१ पुगेको छ भने २७ जना अझै बेपत्ता छन्, जसको उद्धारकर्मीहरूले कठिन परिस्थितिका बीच खोजी गरिरहेका छन्। मध्य टेक्सासको केर काउन्टी सबैभन्दा बढी प्रभावित भएको छ, जहाँ ग्वाडालुप नदीको जलस्तर मात्र ४५ मिनेटमा २६ फिट करिब ८ मिटरले अकल्पनीय रूपमा बढेको थियो। यही काउन्टीको एक ग्रीष्मकालीन शिविर समर क्याम्प बाढीमा डुब्दा ठूलो मानवीय क्षति भएको हो। केर काउन्टीका शेरिफ ल्यारी लेइथाले भने, हामीले यहाँ मात्र ४३ जनाको शव फेला पारेका छौं, जसमा २८ जना वयस्क र १५ जना बालबालिका रहेका छन्। टेक्सास आपतकालीन व्यवस्थापन विभागका प्रमुख निम किडले वायु, स्थल र जल सेनाको संयुक्त टोलीले ग्वाडालुप नदी किनारमा बेपत्ताहरूको खोजी कार्य जारी राखेको बताएका छन्। जबसम्म बेपत्ता सबै भेटिँदैनन्, हाम्रो खोजी अभियान रोकिने छैन, उनले भनेका छन्। अवस्थाको गम्भीरतालाई मध्यनजर गर्दै टेक्सासका गभर्नर ग्रेग एबोटले राज्यमा संकटकालको घोषणालाई थप क्षेत्रमा विस्तार गरेका छन् र राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनसँग थप संघीय स्रोत र सहायताका लागि अनुरोध गरेका छन्। उपराष्ट्रपति जेडी भान्सले शनिबार घटनास्थलको अवस्थालाई अकल्पनीय त्रासदीको संज्ञा दिएका छन्। टेक्सास जनसुरक्षा विभागका निर्देशक फ्रिम्यान मार्टिनले लगातारको भारी वर्षा र उर्लंदो बाढीले उद्धारकर्ताहरूका लागि अत्यन्त चुनौतीपूर्ण अवस्था सिर्जना गरेको बताएका छन्। अधिकारीहरूले नदी किनार र अन्य तल्लो क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरेका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा बाढीको पानी १२ फिटसम्म बढेर घर, गाडी र रूखहरूलाई बगाएको डरलाग्दो दृश्य देखिन्छ, जुन केर काउन्टीको औसत वार्षिक वर्षाको एक तिहाइ बराबरको प्रभाव हो।