search logo
NOTIFICATIONS

सशस्त्रका एआईजी बंशीराज दाहाल निलम्बित, चोलेन्द्रशमशेर पक्राउको सूचना चुहावट गरेको आरोप

हाम्रो पेज

२० आश्विन २०८३, मंगलवार ०७:३१

काठमाडौं, २० आश्विन । संवेदनशील सूचना चुहाएको भन्दै सरकारले सशस्त्रका प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई निलम्बन गरेको छ । गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै दाहाललाई निलम्बन गरिएको जनाएको छ । पद अनुसारको आचरण पालना गर्नुपर्ने तथा सुरक्षासँग सम्बन्धित संवेदनशील सूचनाको संरक्षण तथा गोपनीयता कायम गर्नुपर्ने कानुनी व्यवस्था रहेकोमा सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी आचरण विपरीतको कार्य गरेको भनी कारबाहीका लागि मन्त्रालयमा सिफारिस प्राप्त भएकोमा उक्त अभियोग उपर जाँचबुझ गर्न निजलाई निलम्बन गरिएको छ,विज्ञप्तिमा भनिएको छ ।मन्त्रालयले तीन दिनभित्र जाँचबुझ गरी प्रतिवेदन बुझाउन पनि भनेको छ ।
गत साता पक्राउ परेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई पक्राउ गरिएलगत्तै उहाँ टेकुस्थित प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय पुग्नु भएको थियो । त्यसपछि राणा पक्राउ परेको सूचना बाहिरिएको थियो । निलम्बित एआईजी दाहाल राणाका नातेदार हुनुहुन्छ । गृह मन्त्रालयले दाहाललाई रातारात राणालाई भेट्न जानुपर्ने कारणबारे सोधपुछ गरेको थियो । उहाँले पारिवारिक व्यक्ति भएका कारण पक्राउ परेको खबर परिवारबाट प्राप्त भएको र भेट्न पुगेको जवाफ दिनु भएको थियो। यद्यपि राणालाई पक्राउ गर्ने नेपाल प्रहरी नेतृत्वले उक्त सूचनाको चुहावट दाहालबाटै भएको दाबी गर्दै आएको थियो ।