ब्राजिल, पाराग्वे र मोरक्को अन्तिम १६ मा, जापान, जर्मनी र नेदरल्यान्ड्स बाहिरिए

हाम्रो पेज

१६ असार २०८३, मंगलवार १२:०२
ब्राजिलको नाटकीय पुनरागमन, जर्मनी र नेदरल्यान्ड्स स्तब्ध — विश्वकप २०२६ मा ठूला उलटफेर

विराटनगर, १६ असार । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ मा ब्राजिल, पाराग्वे र मोरक्कोले अन्तिम १६ मा स्थान बनाउँदा जापान, जर्मनी र नेदरल्यान्ड्सको यात्रा टुंगिएको छ। ह्युस्टनमा भएको रोमाञ्चक खेलमा ब्राजिलले जापानलाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गर्‍यो। पहिलो हाफमा काइसु सानोले २९औँ मिनेटमा गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफको ५६औँ मिनेटमा कासेमिरोले गाब्रिएल मागल्हाएसको क्रसमा हेडमार्फत बराबरी गोल फर्काए। त्यसपछि इन्ज्युरी समयको ९५औँ मिनेटमा वैकल्पिक खेलाडी गेब्रियल मार्टिनेलीले निर्णायक गोल गर्दै ब्राजिललाई रोमाञ्चक जित दिलाए।

जापानी गोलकिपर जिओन सुजुकीले उत्कृष्ट प्रदर्शन गर्दै ब्राजिलका धेरै अवसर विफल पारे पनि अन्तिम समयमा टोलीलाई हारबाट जोगाउन सकेनन्। ब्राजिलले अब अन्तिम १६ मा नर्वे वा आइभरी कोस्टमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ। यता जापान भने फेरि एकपटक नकआउट चरणमा अग्रता जोगाउन असफल हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। यता बोस्टनको फक्सबरो रंगशालामा पाराग्वेले चार पटकको विश्व च्याम्पियन जर्मनीलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनायो। निर्धारित र अतिरिक्त समय १–१ को बराबरीमा सकिएको खेलमा पाराग्वेका लागि ४२औँ मिनेटमा जुलियो एन्सिसोले गोल गरेका थिए भने जर्मनीका काई हाभर्ट्जले ५४औँ मिनेटमा बराबरी गोल फर्काएका थिए।

पेनाल्टी सुटआउटमा जर्मनीका काई हाभर्ट्ज र निक वाल्टमेडको प्रहार गोलकिपर ओर्लान्डो गिलले बचाए भने जोनाथन ताहाको प्रहार पोस्टमाथिबाट बाहिरियो। निर्णायक पेनाल्टीमा जोसे कानालेले गोल गरेपछि पाराग्वेले अन्तिम १६ मा स्थान बनायो। अब पाराग्वेले फ्रान्स वा स्विडेनमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ। २०१४ पछि विश्वकपको नकआउट चरणमा कुनै जित निकाल्न नसकेको जर्मनी यसपटक पनि निराश हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। अर्को खेलमा मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गर्‍यो। निर्धारित र अतिरिक्त समय १–१ को बराबरीमा सकिएको खेलमा नेदरल्यान्ड्सका लागि ७२औँ मिनेटमा कोडी गाक्पोले गोल गरेका थिए। तर इन्ज्युरी समयमा इसा डियोपले बराबरी गोल फर्काएपछि खेल पेनाल्टीमा पुगेको थियो।टाइब्रेकरमा मोरक्कोका इस्माइल सइबारीले निर्णायक पेनाल्टी गोल गर्दै टोलीलाई अन्तिम १६ मा पुर्‍याए। नेदरल्यान्ड्सका जस्टिन क्लुभर्ट, क्विन्टेन टिम्बर र क्राइसेन्स समरभिल पेनाल्टीमा चुकेपछि तीनपटकको उपविजेता टोली प्रतियोगिताबाट बाहिरियो।

मोरक्कोले अब अन्तिम १६ मा क्यानडासँग प्रतिस्पर्धा गर्नेछ। कतार विश्वकप २०२२ मा सेमिफाइनल पुगेको मोरक्कोले यस संस्करणमा पनि प्रभावशाली यात्रा कायम राखेको छ। यससँगै राउन्ड अफ ३२ मा ब्राजिल, पाराग्वे र मोरक्को अन्तिम १६ मा पुगेका छन् भने जापान, जर्मनी र नेदरल्यान्ड्सको विश्वकप यात्रा समाप्त भएको छ। विश्वकपमा आज राति नर्वे र आइभरी कोस्टबीच अन्तिम १६ प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ। युरोपका दुई ठूला टोली जर्मनी र नेदरल्यान्ड्स एकै दिन प्रतियोगिताबाट बाहिरिनु यस विश्वकपको सबैभन्दा ठूलो उलटफेरमध्ये एक बनेको छ। दक्षिण कोरिया समूह चरण पार गर्न असफल भयो, इरान विवादास्पद निर्णयका कारण बाहिरियो, र अब जापान पनि पराजित भएसँगै एसियाको बाँकी आशा अष्ट्रेलिया मा मात्र टिकेको छ।