हाम्रो पेज
विराटनगर, २८ जेठ I नेपाली प्रजातान्त्रिक तथा वाम आन्दोलनको ऐतिहासिक भूमि एवम् कोशी प्रदेशको राजधानी विराटनगरको योजनाबद्ध विकासकालागि नेकपा एमाले विराटनगर महानगर कमिटीले प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ।
कमिटीले समृद्ध विराटनगर निर्माणका लागि ठोस सुझावसहित कोशी प्रदेशका मुख्यमन्त्री माननीय हिक्मतकुमार कार्कीलाई ज्ञापनपत्र बुझाएको हो। प्रदेशको राजधानीको गरिमाअनुसार विराटनगरको विकास हुन नसकेको र स्थानीय समस्याप्रति सरकार उदासीन देखिएको भन्दै कमिटीले मुख्यमन्त्री कार्कीलाई भेटेरै ज्ञापनपत्र बुझाएको कमिटीका अध्यक्ष बलराम गिरी नविनले जानकारी दिनुभयो । विराटनगर प्रदेशको राजधानी मात्र होइन, यो एउटा ऐतिहासिक र औद्योगिक शहर पनि हो, तर यहाँको विकासमा कसैले चासो दिएन, महानगर कमिटीका अध्यक्ष नविनले भन्नुभयो, त्यसैले हामीले विराटनगरको डुबान समस्या, अधुरा पूर्वाधार र दीर्घकालीन योजनाका विषयमा सरकारलाई घचघच्याएका हौं।
कमिटीले विराटनगरको मुहार फेर्न अत्यावश्यक मानिएका निम्न विषयहरूलाई प्राथमिकतामा राखेको छः
– शहरको यातायात चाप व्यवस्थापन र विस्तारका लागि रोकिएको चक्रपथ निर्माण कार्य तत्काल अघि बढाउन I
– बर्सेनि हुने डुबानको दिगो समाधानकालागि गुरुयोजना बनाउन र केशलिया तथा सिंघिया खोलामा तटबन्द निर्माण गर्न I
– औद्योगिक र व्यापारिक शहरको पहिचान स्थापित गर्न आवश्यक स्थायी प्रदर्शनी केन्द्र निर्माण गर्न I
– निर्माणाधीन गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालाको स्तरोन्नति गरी अन्तर्राष्ट्रियस्तरको बनाउन ।
– शहरको सार्वजनिक यातायातलाई व्यवस्थित र आधुनिक बनाउने योजना।
महानगर कमिटीका सचिव विज्ञान चापागाईंले यी मागहरू सम्बोधन भएमा विराटनगरलाई एक सुन्दर, व्यवस्थित र आधुनिक शहरको रूपमा विकास गर्न महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महानगर कमिटीले उठाएका जायज मागहरूलाई प्रदेश सरकारले गम्भीरतापूर्वक लिएको बताउनुभयो। उहाँले यी विषयहरूलाई सम्बोधन गर्न र कार्यान्वयनमा लैजान सरकार प्रतिबद्ध रहेको आश्वासन समेत दिनुभयो।