
काठमाडौं, २१ मंसिर । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थल निर्माणमा ८ अर्ब रूपैयाँभन्दा बढी भ्रष्टाचार भएको भन्दै पाँच जना पूर्वमन्त्री १० पूर्वसचिवसहित ५५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। एक चिनियाँ कम्पनीविरूद्ध पनि मुद्दा दर्ता गरिएको छ। विशेष अदालतमा आइतबार दायर मुद्दामा ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार रूपैयाँ बिगो कायम गरिएको छ। भ्रष्टाचार मुद्दा दायर भएका पूर्वमन्त्रीमा पोष्टबहादुर बोगटी, डा. रामशरण महत, भीम आचार्य, रामकुमार श्रेष्ठ र दिपक अमात्य छन्। यीमध्ये पूर्वमन्त्री बोगटीको मृत्यु भइसकेकाले उहाँकी श्रीमती राममायालाई बिगो जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको छ। अर्का पूर्वमन्त्री डा. महत अल्जाइमर्स रोग लागेर विस्मृतिमा हुनुहुन्छ । मुद्दा लागेका मन्त्रीमध्ये डा. महत पूर्वअर्थमन्त्री हुनुहुन्छ भने बाँकी पूर्व पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुनुहुन्छ । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पनि पोखरा विमानस्थलको भ्रष्टाचार मुद्दामा मुछिनु भएको छ । भक्तपुर नलिञ्चोक हेलिपोर्टको भ्रष्टाचार मुद्दामा मुछिनु भएका अधिकारी पोखरा विमानस्थलको भ्रष्टाचारमा जोडिनु भएको हो । त्यस्तै, समावेशी आयोगका पूर्वअध्यक्ष रामकृष्ण तिमिल्सिना पनि पोखरा विमानस्थल निर्माणको भ्रष्टाचार मुद्दामा मुछिनु भएको छ ।
