अर्जेन्टिनी महान खेलाडी म्याराडोनाको मृत्यु प्रकरण अझै रहस्यमय

हाम्रो पेज

१६ जेष्ठ २०८२, शुक्रबार १४:५९
एजेन्सी, १६ जेठ । विश्व फुटबलका अमर विभूति डिएगो म्याराडोनाको निधनसँग सम्बन्धित मुद्दामा सात स्वास्थ्यकर्मीविरुद्ध चलिरहेको सुनुवाइ अर्जेन्टिनी अदालतले हाललाई रद्द गरेको छ।

तीन सदस्यीय इजलासकी एक न्यायाधीश, जुलिएटा माकिन्टाचले, मुद्दाबाट आफूलाई अलग गर्ने निर्णय लिएपछि यो अवस्था सिर्जना भएको हो। सीबीसी न्युजका अनुसार, यस निर्णयसँगै सम्पूर्ण सुनुवाइ प्रक्रिया अब पुनः प्रारम्भ गरिनेछ। न्यायाधीश माकिन्टाच ’डिभाइन जस्टिस’ नामक एक डकुमेन्ट्रीमा सहभागी भएको विषयलाई लिएर उहाँको भूमिकामाथि प्रश्न उठेको थियो। उक्त डकुमेन्ट्रीले म्याराडोनाको निधनपछिका संवेदनशील घटनाक्रमदेखि मुद्दाको प्रारम्भिक चरणसम्मका विभिन्न पक्षहरूलाई समेटेको बताइएको छ। बहसमा, सरकारी वकिलहरूले न्यायाधीश माकिन्टाचलाई न्यायिक आचरण र निष्पक्षताको प्रश्न उठाउँदै मुद्दाबाट हटाउन माग गरेका थिए। उनीहरूले डकुमेन्ट्रीको ट्रेलरसमेत प्रस्तुत गरेका थिए, जसमा म्याराडोनाका विश्वप्रसिद्ध गोलका दृश्यहरूसँगै न्यायाधीश माकिन्टाच अदालत परिसरमा “उच्च हिल“ र “छोटो स्कर्ट“ मा हिँडिरहेको दृश्य समावेश गरिएको थियो।

सरकारी वकिलहरूले यसलाई न्यायिक मर्यादा र नैतिकताको उल्लंघन भएको गम्भीर तर्क प्रस्तुत गर्दै उहाँमाथि थप छानबिनको समेत माग गरेका थिए। आफ्नो निर्णयबारे प्रतिक्रिया दिँदै न्यायाधीश माकिन्टाचले यो विवाद राष्ट्रियस्तरमा चर्चाको विषय बनेपछि आफूले स्वविवेकले मुद्दाबाट अलग हुने निर्णय लिएको बताउनुभएको छ। बिहीबारको संक्षिप्त सुनुवाइपछि इजलासका अन्य न्यायाधीशहरूले मुद्दाको सुनुवाइ पुनः प्रारम्भ गर्ने निर्णय गरेका छन्। यसको अर्थ, गत मार्च ११ देखि हालसम्म भएका सम्पूर्ण न्यायिक कारबाहीहरू अब शून्यबाट सुरु हुनेछन्। यद्यपि, सुनुवाइको लागि नयाँ मिति भने तत्काल तोकिएको छैन। यो प्रकरणमा यसअघि २१ वटा सुनुवाइ सम्पन्न भइसकेका थिए, जसमा दर्जनौं प्रत्यक्षदर्शीले आफ्नो बयान दर्ता गराइसकेका थिए। इजलासका अर्का न्यायाधीश, म्याक्सिमिलियानो साभारिनोले न्यायाधीश माकिन्टाचको कार्यशैलीले निष्पक्षतामा आँच पु¥याएको टिप्पणी गर्नुभएको छ। उहाँको व्यवहारले वादी र प्रतिवादी दुवै पक्षलाई क्षति पुगेको र न्यायिक प्रक्रिया प्रभावित भएको उहाँको ठहर छ। “यस परिस्थितिको सम्पूर्ण जिम्मेवारी राजीनामा दिनुहुने न्यायाधीशकै हो,“ न्यायाधीश साभारिनोले स्पष्ट पार्नुभयो। अदालतको यो निर्णय सुनेपछि उपस्थित म्याराडोनाका छोरीहरू, जियानिना र दाल्मा भावविह्वल बनेका थिए। स्मरणरहोस्, म्याराडोनाको उपचारमा संलग्न चिकित्सा टोलीमाथि उहाँको स्वास्थ्य अवस्थाप्रति गम्भीर लापरवाही गरेको, आवश्यक हेरचाह नगरी असहाय अवस्थामा छाडेको र अन्ततः त्यसैका कारण म्याराडोनाको मृत्यु पीडादायी र असामयिक ढंगले भएको गम्भीर अभियोग लगाइएको छ। यो मुद्दाले विश्वभरका फुटबलप्रेमीहरूको ध्यान आकर्षित गरिरहेको छ।