एमालेको घोषणापत्रः समृद्धिका २५ स्तम्भ विद्यार्थीलाई २० र महिला उद्यमीलाई २५ लाख निर्व्याजी ऋण, गरिबको २५ हजार ऋण मिनाहा

हाम्रो पेज

७ फाल्गुन २०८२, बिहीबार १४:३२

काठमाडौं, ७ फाल्गुन । नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचन २०८२ को चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा चुनावी घोषणापत्र सार्वजनिक गर्नुभयो । घोषणापत्रमा एमालेले गरेको र गर्ने कामको फेहरिस्त प्रस्तुत गरिएको छ ।

लोडसेडिङ अन्त्य, अन्तर्राष्ट्रिय विमानस्थल निर्माण लगायतका काम आफूले गरेको दाबी एमालेको छ । प्रतिनिधि सभाको निर्वाचनका लागि नेकपा एमालेले ११ प्रतिबद्धतासहित चुनावी घोषणापत्र ल्याएको छ। बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका छन्। जसमा ११ प्रतिबद्धता जनाइएका छन्। यी प्रतिबद्धता कार्यान्वयन गर्न मन्त्रिपरिषद्को पहिलो बैठकबाटै समयसीमा तोकेर निर्णय गर्ने अध्यक्ष ओलीले बताउनुभयो ।

एमालेको पहिलो प्रतिबद्धतामा १८ देखि २९ वर्षसम्मका युवालाई एक वर्षसम्म हरेक महिना १० जीबी डेटा निःशुल्क प्रदान गर्ने उल्लेख छ।

दोस्रा, युवा र उद्यमीलाई १० हजार अमेरिकी डलर बराबरको बैंक कार्ड उपलब्ध गराउने प्रतिबद्धता गरिएको छ। यसले सूचना प्रविधिको क्षेत्रमा अनुसन्धान, उत्पादन, विकास तथा निर्यात प्रबद्र्धन गर्न सहयोग पुग्ने एमालेको विश्वास छ।

तेस्रो, विदेशबाट पैरा पठाउने श्रमिकको खातामा थप ५ हजार रुपैयाँ जम्मा गर्ने प्रतिबद्धता गरिएको छ। यससँगै वैदेशिक रोजगारीमा जाने श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा निरन्तरता हुने प्रबन्धन गरिने उल्लेख छ।

चौथो, विद्यार्थीलाई २० लाख रुपैयाँसम्म निव्र्याजी ऋण दिने एमालेको घोषणापत्रमा उल्लेख छ। सरकारी सेवा, निजी क्षेत्रका व्यवसाय र अध्यापन क्षेत्रमा न्यूनतम पारिश्रमिकसहित इन्टर्नशिपको प्रबन्ध गर्ने पनि जनाइएको छ।

पाँचौँ, देशभरका सबै विद्यालयका किशोरीलाई निःशुल्क प्याड, कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने एमालेले घोषणा गरेका छ।

छैटौँ, श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ पु¥याउने एमालेको प्रतिबद्धता रहेको छ। सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा जोड्ने जनाइएको छ।

सातौँ, शिक्षकको मर्यादाक्रम तोक्ने घोषणापत्रमा उल्लेख छ। यससँगै सामुदायिक र निजी विद्यालयका सबै शिक्षकलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा जोड्ने एमालेले घोषणा गरेको छ।

आठौँ, स्वास्थ्य स्वंयसेविकालाई मासिक २० हजार भत्ता उपलब्ध गराउने प्रतिबद्धता गरेको छ। स्वयंसेविकालाई पनि योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आवद्ध गर्ने घोषणा गरिएको छ।

नवौँ, उद्यमी महिलालाई २० लाख रुपैयाँसम्म निव्र्याजी ऋण उपलब्ध गराउने एमालेको घोषणा छ। यससँगै सुत्केरी महिलालाई २० हजार भत्ता र ५ लाख रुपैयाँसम्म निःशुल्क जीवन बिमा गर्ने उल्लेख छ।

दशौँ, गरिब परिवार पहिचान गरी २०८२ भदौसम्म बैंक तथा वित्तीय संस्थाबाट लिएको २५ हजार रुपैयाँसम्मको ऋण मिनाहा गर्ने एमालेको प्रतिबद्धता रहेको छ।

एघारौँ, बहालवाला तथा अवकाप्राप्त सुरक्षाकर्मीको सम्मान र कल्याण सुनिश्चित गर्ने एमालेको घोषणापत्रमा उल्लेख गरिएको छ। पेशागत मर्यादा, सेवा सुधिवा, सामाजिक सुरक्षा, स्वास्थ्योपचार तथा सीप विकाससँगै सम्मानजनक जीवनयापनको सुनिश्चितता गर्ने जनाइएको छ। नेकपा एमालेले घोषणापत्र युवा, महिला, श्रमिक र राष्ट्रसेवकलाई आकर्षक सुविधा समेटेको छ ।

अध्यक्ष केपी ओलीले सार्वजनिक गरेको घोषणापत्रमा युवालाई हरेक महिना १० जीबी इन्टरनेट डाटा निःशुल्कदेखि गरिब परिवारको २५ हजारसम्म ऋण मिनाहासम्मको विषय समेटिएको छ । यस्तै, युवा तथा उद्यमीलाई १० हजार डलर बराबरको बैंक कार्ड, वैदेशिक रोजगारी श्रमिकको खातामा ५ हजारसहित सामाजिक सुरक्षा, विद्यार्थीलाई २० लाख निर्ब्याजी ऋण, पारिश्रमिकसहित इन्टर्नशीप, किशोरीलाई निःशुल्क प्याड, १० कक्षासम्म दिवा खाजा श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजारसहित सामाजिक सुरक्षाको विषय समेटेको छ । यस्तै, सबै शिक्षकलाई सामाजिक सुरक्षा, शिक्षकको मर्यादाक्रम तोक्ने, स्वास्थ्य स्वयंसेविकालाई २० हजार भत्ता र सामाजिक सुरक्षा, महिलालाई २० लाख ऋण, २० हजार सुत्केरी भत्ता, गर्भवतीको निःशुल्क बीमा, गरिव परिवारको २५ हजारसम्म ऋण मिनाहा, सामाजिक सुरक्षा, देश जोगाउने बहालवाला र अवकाशप्राप्त सुरक्षाकर्मीको सेवा सुविधा वृद्धि गर्ने योजना अघि सारेको छ । एमालेले तत्काल गर्ने ११ काम, ५ आधारभूत घोषणा र समृद्धिका २५ स्तम्भलाई नीतिगत प्राथमिकतामा राखेको छ ।

समृद्धिका २५ स्तम्भहरु यस्ता छन्ः

१. हाम्रो अर्थः आधा दशकमा सय खर्ब, एक दशकमा २ सय खर्ब
२. मर्यादित श्रमः स्वदेशमै रोजगारी, स्वदेशमै काम
३. सुरक्षित, सम्मानजनक वासः आधुनिक, नागरिकमैत्री आवास
४. गतिशील गाउँ, आधुनिक सहरः आर्थिक विकासको नयाँ लहर
५. सहरको स्वच्छता, पूर्वाधारको पूर्णताः समुन्नत सहर हाम्रो प्रतिबद्धता
६. स्वच्छ पानी, सफा आँगनः स्वस्थ नेपाली हाम्रो अभियान
७. उद्योग क्षेत्रको विस्तार, उत्पादनमा वृद्धिः २० प्रतिशत योगदान, राष्ट्रको समृद्धि
८. आयात घटाउने, निर्यात बढाउनेः भुक्तानी सन्तुलन राष्ट्रिय पक्षमा ल्याउने
९. आधुनिक खेती, उन्नत व्यवसायः कृषिमै रोजगारी, पर्याप्त आय
१०. हरियो वन, समुदायको धनः संरक्षण, उपयोग र दिगो व्यवस्थापन

११. सहकारीमा सुशासन र पारदर्शिताः बचतकर्ताको हित हाम्रो प्रतिबद्धता
१२. पर्यटकको वृद्धि, लामो बसाइः गाउँ–सहरमा काम र कमाइ
१३. खेतीयोग्य जमिनमा कुलो र नहरः बाह्रै महिना सिँचाइ, खाद्यमा आत्मनिर्भर
१४. गुणस्तरीय शिक्षा, उन्नत प्रविधिः ज्ञानयुक्त नागरिक, देशका निधि
१५. स्वस्थ खाना, योग, व्यायामः निरोगी नेपालको महाअभियान
१६. डिजिटल पूर्वाधारः विकास र सुशासनको आधार
१७. सुरक्षित यातायात, आधुनिक पूर्वाधारः दिगो विकास र समृद्धिको आधार
१८. स्वच्छ ऊर्जा, स्वदेशमा खपतः हरित विकास, विदेशमा निर्यात
१९. पुनर्निर्माण र नयाँ निर्माण
२०. सुदृढ वित्तीय प्रणालीः उत्पादनशील लगानी
२१. सृजनशील युवा, नवीन विचारः समाज रूपान्तरणको सुदृढ आधार
२२. ऊर्जावान खेलाडी, देशको शानः खेलकुदको विकास, राष्ट्रको मान
२३. सफा हात, स्वच्छ प्रशासनः गुणस्तरीय सेवा, जनप्रिय शासन
२४. सबैसँग मित्रता, छैन कसैसँग शत्रुता
२५. नेपालका सद्भावदूत एनआरएनको सम्मानः मातृभूमिको विकासमा सार्थक योगदान

हेर्नुहोस् एमालेको चुनावी घोषणापत्र–

UML Election Manifesto 2082