हाम्रो पेज
![]()
काठमाडौं, २१ असार । चितवन राष्ट्रिय निकुञ्जमा ‘ध्रुवे’ नाम सुन्नासाथ धेरै स्थानीयको मनमा एउटा त्रास झल्किन्छ। त्यो केवल एउटा जंगली हात्तीको नाम होइन, वर्षौंदेखि चितवनका बस्तीमा मृत्युको छायाँ बनेर डुल्ने एउटा आतंकको प्रतीक हो। लामो समय शान्त देखिएको यही हिंस्रक भाले जंगली हात्तीले शनिबार राति फेरि आफ्नो पुरानै रक्तपातपूर्ण इतिहास दोहोर्याएको छ। भरतपुर महानगरपालिका–२३ मा घरभित्रै बसिरहेका २१ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेमाथि ध्रुवेले निर्मम आक्रमण गर्यो। आमाछोराको घटनास्थलमै मृत्यु भयो। एकै परिवारका दुई पुस्ता केही क्षणमै समाप्त भए। गाउँ निदाइरहेको रात अचानक चिच्याहट, हात्तीको गर्जन र भागदौडले भयावह बन्यो।
परिवारले कल्पनासमेत नगरेको त्यो रात जीवनकै सबैभन्दा अन्धकारमय बन्यो। जंगली हात्ती घरतर्फ आउँदै गरेको देखेपछि आशिकाका श्रीमान्ले आगो बालेर हात्ती धपाउने प्रयास गरे। तर हात्ती रोकिएन। उल्टै घरमा आगलागी भयो र बासस्थान नै खरानीमा परिणत भयो। परिवारले एकै रात श्रीमती, छोरा र आफ्नो घर सबै गुमायो।घटनापछि ध्रुवे पुनः चितवन राष्ट्रिय निकुञ्जको सुखीभार क्षेत्रमा फर्किएको छ। यही क्षेत्रलाई उसले लामो समयदेखि आफ्नो मुख्य बासस्थान बनाउँदै आएको छ। कहिलेकाहीँ मेघौलीसम्म पुग्ने गरेको स्थानीयहरू बताउँछन्। तर यसपटक ऊ फेरि बस्ती पस्दा दुई निर्दोषको ज्यान लिएर फर्किएको छ।
यो घटनासँगै ध्रुवेको आक्रमणबाट ज्यान गुमाउनेको संख्या २५ पुगेको छ। २०७४ सालमा नेपाली सेनाका एक मेजरलाई आक्रमण गरी हत्या गरेपछि झण्डै नौ वर्षसम्म उसले कुनै मानवीय क्षति पुर्याएको थिएन। त्यसैले धेरैले ध्रुवे अब शान्त भइसकेको ठानेका थिए। तर शनिबारको घटनाले त्यो विश्वास एकैछिनमा चकनाचुर बनाइदियो। ध्रुवेको हिंस्रक इतिहास झण्डै डेढ दशक पुरानो हो। वि.सं. २०६६ सालदेखि मानिसमाथि आक्रमण गर्न थालेको यो हात्तीले २०६९ सालसम्म मात्र १५ जनाको ज्यान लिएको थियो। विशेषगरी माडी क्षेत्रमा यसको आतंक यति बढेको थियो कि मानिसहरू साँझ पर्नासाथ घरबाहिर निस्कन डराउँथे।
२०६९ सालको कात्तिकदेखि एक महिनाभित्र मात्रै माडीमा चार जनाको लगातार ज्यान लिएपछि ध्रुवेलाई नियन्त्रणभन्दा बाहिर गएको निष्कर्ष निकालियो। त्यसपछि २०६९ साल पुस १ गते तत्कालीन प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले ध्रुवेलाई मार्ने निर्णयसमेत गर्यो। त्यसपछि नेपाली सेनाले ध्रुवेलाई खोज्न विशेष अभियान सञ्चालन गर्यो। करिब १६ लाख रुपैयाँ खर्च भयो। गोली पनि चलाइयो। तर ध्रुवे प्रत्येक पटक जंगलको गहिराइमा हराउँदै सेनाको घेराबाट उम्कियो। केही समयपछि त ऊ पूर्ण रूपमा बेपत्ता भयो। झण्डै पाँच वर्षसम्म उसको कुनै अत्तोपत्तो लागेन।
पछि एकाएक ध्रुवे फेरि सुखीभार क्षेत्रमा देखापर्यो। यसबीच निकुञ्जले उसलाई नियन्त्रणमा राख्न विभिन्न उपाय अपनायो। पटक–पटक बेहोस बनाएर घाँटीमा रेडियो कलर जडान गरियो ताकि उसको गतिविधि निगरानी गर्न सकियोस्। दाह्रा काटियो। आक्रामकता कम होस् भनेर विशेष औषधिसमेत प्रयोग गरियो। केही वर्ष यी प्रयास सफल भएजस्तै देखियो। ध्रुवे शान्त बनेको आभास हुन थाल्यो। केही महिनाअघि भने सौराहामा अर्को शक्तिशाली भाले हात्ती ‘रोनाल्डो’सँग ध्रुवेको भिडन्त भएको थियो। त्यसमा पराजित भएपछि ऊ फेरि सुखीभार क्षेत्रमा फर्किएर अन्य पोथी हात्तीसँग बस्न थालेको निकुञ्जका कर्मचारीहरू बताउँछन्। चितवनमा अहिले रोनाल्डो, गोविन्दे र ध्रुवे जस्ता शक्तिशाली जंगली भाले हात्तीहरू छन्, जसबाट निकुञ्जका पोथी हात्तीहरूको प्रजनन हुँदै आएको छ।
वन्यजन्तु विज्ञहरूका अनुसार उमेर, प्रजनन अवस्था, क्षेत्रीय वर्चस्वको संघर्ष, मानवीय गतिविधिको दबाब वा बस्तीसँग बढ्दो सम्पर्कले जंगली भाले हात्तीहरू एक्कासि आक्रामक बन्न सक्छन्। ध्रुवेको पछिल्लो आक्रमणले चितवनका मध्यवर्ती क्षेत्रका बासिन्दामा फेरि पुरानै त्रास फर्काइदिएको छ। ध्रुवेको नामसँग जोडिएका पीडित परिवारहरूको सूची प्रत्येक वर्ष लम्बिँदै गएको छ। तर यसपटकको घटना अझ पीडादायी बनेको छ, किनभने एउटी आमाले आफ्नै काखको चार वर्षीय छोरासँगै ज्यान गुमाइन्। एउटा घर उजाडियो। एउटा परिवारको भविष्य समाप्त भयो। चितवनका जंगलमा आज पनि ध्रुवे जीवित छ। तर उसको प्रत्येक पाइला अब केवल जंगलको कथा होइन, बस्तीका हजारौँ परिवारका लागि त्रास, पीडा र अनिश्चितताको अर्को नाम बनेको छ। अझै त्रास यथावत छ, अब धुबेले अर्को शिकार कसलाई बनाउने ?