अमेरिकी आक्रमणपछि इरानी परमाणु केन्द्रको अवस्थाबारे विवादः पेन्टागनको गोप्य रिपोर्टले ट्रम्प प्रशासनको दाबीमाथि प्रश्न उठायो
हाम्रो पेज
११ असार २०८२, बुधबार १३:५७
फाईल तस्वीर
एजेन्सी, ११ अषाढ ।अमेरिकाले इरानका परमाणु केन्द्रहरूमाथि गरेको आक्रमणको सफलतालाई लिएर अमेरिकी सरकार र सञ्चारमाध्यमबीच मतभेद देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणलाई ‘ऐतिहासिक रूपमा सफल’ बताइरहँदा रक्षा मन्त्रालय (पेन्टागन) को एक गोप्य प्रतिवेदनले भने इरानको परमाणु कार्यक्रम पूर्ण रूपमा नष्ट नभएको खुलासा गरेको छ। इजरायल र इरानबीच तनाव चुलिएका बेला अमेरिकाले गत शनिबार इरानका तीन प्रमुख परमाणु केन्द्रहरू— फोर्डाे, नताञ्ज र इस्फाहानमा आक्रमण गरेको थियो। भूमिगत संरचना ध्वस्त पार्न प्रयोग गरिने शक्तिशाली जीबीयु ५७ ‘बंकर बस्टर बमहरू प्रहार गरिएको थियो, जुन ६१ मिटर गहिराइसम्म पुगेर विस्फोट हुन सक्ने क्षमता राख्छन्। आक्रमणपछि अमेरिकी सेनाका शीर्ष अधिकारी जनरल ड्यान केनले इरानका तीनवटै परमाणु केन्द्रमा गम्भीर क्षति पुगेको बताउनुभएको थियो। तर, सार्वजनिक स्याटेलाइट तस्बिरहरूमा फोर्दो केन्द्र नजिक गहिरा खाडलहरू देखिए पनि भित्री संरचनामा भएको क्षतिको यकिन विवरण खुलेको थिएन।
अमेरिकी सञ्चारमाध्यम सीएनएनले पेन्टागनको रक्षा गुप्तचर एजेन्सीको प्रारम्भिक प्रतिवेदनलाई उद्धृत गर्दै आक्रमणको प्रभाव अपेक्षा गरेभन्दा कम रहेको जनाएको छ। सात जना गोप्य स्रोतहरूमा आधारित उक्त रिपोर्टका अनुसार आक्रमण मुख्यतया सतहमा रहेका संरचनाहरूमा सीमित रह्यो। इरानको सबैभन्दा सुरक्षित मानिने फोर्दो परमाणु केन्द्र जमिनमुनि ९० मिटर गहिराइमा छ, तर आक्रमणमा प्रयोग गरिएको बमले केवल ६१ मिटर गहिराइसम्म मात्रै क्षति पुऱ्याउन सक्छ। आक्रमणले इरानको संवर्धित युरेनियमको भण्डारलाई ध्वस्त पार्न सकेन। रिपोर्टअनुसार, आक्रमण हुनुअघि नै इरानले केही मात्रामा युरेनियम अन्यत्र सारिसकेको थियो। आक्रमणले इरानको परमाणु कार्यक्रमलाई केही महिना मात्र पछाडि धकेलेको छ। इरानले भग्नावशेष पन्छाएर छिट्टै मर्मतसम्भार गर्न सक्ने अनुमान गरिएको छ। यो प्रारम्भिक मूल्यांकन भएकाले अन्तिम प्रतिवेदनमा केही फेरबदल हुन सक्ने पनि उल्लेख छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यी रिपोर्टहरूलाई पूर्ण रूपमा खारेज गर्नुभएको छ। उहाँले सीएनएन र न्युयोर्क टाइम्स जस्ता सञ्चारमाध्यमले ‘फेक न्युज’ फैलाएर आफ्नो ऐतिहासिक सैन्य सफलतालाई बदनाम गर्न खोजेको आरोप लगाउनुभएको छ। आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा उहाँले लेख्नुभएको छ, इतिहासकै सबैभन्दा सफल सैन्य आक्रमणलाई बदनाम गर्न खोजिँदैछ। इरानका परमाणु केन्द्रहरू पूर्णत ध्वस्त पारिएका छन्। यसै सन्दर्भमा, राष्ट्रपति ट्रम्पले मध्यपूर्वका लागि आफ्ना विशेष दूत स्टिभ विट्कोफको फक्स न्युजसँगको अन्तर्वार्ताको भिडियो पनि सेयर गर्नुभएको छ। उक्त अन्तर्वार्तामा विट्कोफले भन्नुभएको छ, हामीले फोर्डाे केन्द्रमा १२ वटा बंकर बस्टर बम हानेका थियौं त्यो केन्द्र सम्पूर्ण रूपमा ध्वस्त भएकोमा कुनै शंका छैन। हाम्रो उद्देश्य पूरा नभएको भनी आउने रिपोर्टहरू पूर्णत आधारहीन छन्। ह्वाइट हाउसले यो घटनालाई राष्ट्रपति ट्रम्पलाई होच्याउने प्रयासको संज्ञा दिएको छ। विशेष दूत विट्कोफले यस्तो गोप्य रिपोर्ट सार्वजनिक हुनुलाई ‘देशद्रोह’ को संज्ञा दिँदै यसमा संलग्न व्यक्तिहरूमाथि अनुसन्धान गरी कारबाही गर्न माग गर्नुभएको छ। उहाँले भन्नुभयो, यो अपमानजनक छ, यो देशद्रोह हो र यसको अनुसन्धान हुनु जरुरी छ।