हाम्रो पेज
विराटनगर, १९ मंसिर । नेकपा एमाले मोरङले गएको भदौ २४ गते जेनजी आन्दोलनका क्रममा पार्टी कार्यालय र नेताका घरमा तोडफोड, लुटपाट र आगजनीमा संलग्नहरुलाई कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय प्रहरीमा जाहेरी दिएको छ । एमालेका १४ वटा जनसंगठनका अध्यक्षहरुले आज सामुहिक रुपमा जाहेरी दिएका हुन । जेनजी आन्दोलनका क्रममा सार्वजनिक, सरकारी र निजी सम्पत्तीमा तोडफोड, लुटपाट र आगजनीमा संलग्नहरुको विवरण सहित एमालेले कारवाहीको माग गर्दै जाहेरी दिएको हो । एमाले मोरङले मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको उपस्थितिमा प्रहरी प्रमुख एसपी कवित कटवाललाई जाहेरी बुझाईएको हो। जाहेरी ग्रहणगर्दै एसपी कटुवालले घटनामा संलग्नहरुलाई कारवाही गरिने बताउनुभयो । लुटपाट, तोडफोड र आगजनीमा संलग्नहरुलाई पक्राउ गर्न शुरु गरिएको बताउनुहुँदै उहाँले एमालेले दिएको जाहेरीले अनुसन्धानमा थप सहयोग पुग्ने बताउनुभयो ।
एमाले मोरङले गठन गरेको अध्ययन कार्यदलको प्रतिवेदनका आधारमा घटनामा संलग्नहरुलाई कारवाहीको माग राखेर जनसंगठनहरुले सामुहिक रुपमा जाहेरी दिएको मोरङ इञ्चार्ज जीवन घिमिरे जानकारी दिनुभयो । यसअघि एमाले मोरङले अध्ययन प्रतिवेदन पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको थियो ।

पार्टी कार्यालय पाञ्चालीमा अध्ययन कार्यदलका संयोजक तथा कोशी प्रदेशसभा सदस्य उमाकान्त गौतमले प्रतिवेदन एमाले मोरङका अध्यक्ष अजम्वर राई र केन्द्रीय सदस्य तथा मोरङ इञ्चार्ज जीवन घिमिरेलाई संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको थियो । घिमिरेका अनुसार घटनाको समग्र अनुसन्धानका लागि संस्थागत जाहेरी दिइएको छ । प्रतिवेदन अनुसार सबैभन्दा ठूलो क्षति पथरीशनिश्चरे नगर कमिटीको भवनमा भएको छ । आगजनी र तोडफोडबाट ठुलो क्षति भएको प्रतिबेदनमा उल्लेख छ ।यस्तै, विराटनगरस्थित एमाले जिल्ला पार्टी कार्यालयमा १ करोड ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। बेलबारी नगर पार्टी कार्यालयमा ८ लाख ५० हजार, पथरीशनिश्चरे नगर पार्टी कार्यालयमा ३ लाख ५० हजार, उर्लाबारी नगर पार्टी कार्यालयमा १ लाख ६० हजार र मिक्लाजुङ गाउँ कमिटीको कार्यालयमा १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको विवरण सार्वजनिक भएको छ। आन्दोलनकारीले नेताहरूको निजी निवासलाई समेत निशाना बनाएका थिए । प्रतिवेदन अनुसार प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको घरमा तोडफोड र लुटपाट हुँदा २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। पूर्वमन्त्री भानुभक्त ढकालको घरमा १५ लाखको क्षति पुगेको छ भने ढकालको घरमा डेरा गरी बस्ने रुद्रप्रसाद बास्कोटाको कोठाबाट नगद र सामग्री गरी ४० लाख ९० हजार रुपैयाँ चोरी भएको गम्भीर तथ्यांक प्रतिवेदनमा समेटिएको छ। केन्द्रीय सदस्य युवराज बास्कोटाको घरमा ३ लाख ६० हजारको क्षति भएको छ। प्रतिवेदनमा एमाले नेता जीवन घिमिरेको घरमा भएको ७ लाख बराबरको क्षतिको विवरण उल्लेख छ । अध्ययन कार्यदलका संयोजक गौतमले स्थलगत अध्ययनका क्रममा ५ अर्वको क्षति भएको पाईएको बताउनुभयो । पत्रकार सम्मेलनमा घिमिरेले सरकारले सार्वजनिक, सरकारी र निजी सम्पत्तीमा भएको तोडफोड, लुटपाट र आगजनीबारे अध्ययन गरेपनि एमालेले पनि छुट्टै अध्ययन गरेको बताउनुभयो । जनवर्गिय संगठनहरु राष्ट्रिय यूवा संघ नेपाल, अनेरास्ववियु, अखिल नेपाल महिला संघ, नेपाल खेलकुद महासंघ, अखिल नेपाल पिछडावर्ग महासंघ, राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन, भूमि अधिकार तथा श्रमिक संगठन, अखिल नेपाल किसान महासंघ, लोकतान्त्रिक आदिवासी जनजाती महासंघ, नेपाल बौद्धिक परिषद्, पेशागत महासंघ नेपाल, नेपाल उत्पीडित जातिय मुक्ति समाज, नेपाल मुस्लिम इत्तेहात संगठन लगायतका प्रमुख तथा प्रतिनिधिहरुले संयुक्त रुपमा जाहेरी दिएका हुन ।