search logo
NOTIFICATIONS

अमेरिकी बी–५२ बमवर्षक दुर्घटनाग्रस्त, दुई बोइङ कर्मचारीसहित आठ जनाको मृत्यु

हाम्रो पेज

२ असार २०८३, मंगलवार १२:२३

अमेरिकाको क्यालिफोर्नियामा बमवर्षक विमान दुर्घटनाग्रस्त, ८ जनाको ज्यान गयो

एजेन्सी, २ असार । दक्षिणी क्यालिफोर्नियास्थित एड्वड्र्स एअर फोर्स बेसबाट उडान भरेको केही क्षणमै अमेरिकी वायुसेनाको एक बी–५२ बमवर्षक विमान दुर्घटनाग्रस्त हुँदा दुई बोइङ कर्मचारीसहित आठ जनाको मृत्यु भएको छ। स्थानीय समयअनुसार सोमबार बिहान ११ः२० बजे नियमित परीक्षण उडानमा रहेको विमान दुर्घटनामा परेको हो। दुर्घटना यति भीषण थियो कि त्यसपछि आकाशमा निकै माथिसम्म कालो धुवाँको मुस्लो उठेको थियो, जुन माइलौँ टाढाबाट समेत स्पष्ट रूपमा देखिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। एड्वड्र्स एअर फोर्स बेसका कर्नेल जेम्स हेसले दिउँसो आयोजित पत्रकार सम्मेलनमा घटनालाई “ठूलो राष्ट्रिय क्षति” भन्दै आठ जना समर्पित अमेरिकी नागरिक गुमाउनुपरेको बताए। उनका अनुसार मृतकमध्ये सैन्य अधिकारी, सरकारी नागरिक कर्मचारी तथा सरकारी ठेकेदारहरू सम्मिलित थिए। हेसले मृतकका परिवारलाई औपचारिक जानकारी गराउने प्रक्रिया जारी रहेको र त्यसको २४ घण्टापछि मात्र उनीहरूको नाम सार्वजनिक गरिने जानकारी दिए। उनले दुर्घटना बेसको धावनमार्ग क्षेत्रभित्रै सीमित रहेको र एअर बेसका सम्पूर्ण उडान सञ्चालन तत्कालका लागि स्थगित गरिएको पनि बताए। दुर्घटनाग्रस्त विमान बेसको राडार आधुनिकीकरण कार्यक्रमसँग सम्बन्धित परीक्षण अभियानमा संलग्न रहेको जनाइएको छ। उडान भरेको केही समयमै विमान जमिनमा खसेर आगोको डल्लोमा परिणत भएको थियो। प्रारम्भिक भिडियो फुटेजको अध्ययनपछि अनुसन्धानकर्ताहरूले यसलाई “पूर्ण रूपमा नियन्त्रण बाहिर गएको र कसैको पनि ज्यान बच्ने सम्भावना नरहेको” दुर्घटनाका रूपमा वर्गीकरण गरेका छन्। दुर्घटनाको वास्तविक कारण भने अझै खुल्न सकेको छैन। अधिकारीहरूका अनुसार प्रारम्भिक अनुसन्धान प्रतिवेदन तयार हुन करिब ३० दिन लाग्न सक्छ भने विस्तृत प्राविधिक विश्लेषणसहितको पूर्ण अनुसन्धान सम्पन्न हुन छ महिनाभन्दा बढी समय लाग्ने अनुमान गरिएको छ। यसैबीच, विमान निर्माता कम्पनी बोइङले छुट्टै विज्ञप्ति जारी गर्दै दुर्घटनामा आफ्ना दुई कर्मचारीको पनि मृत्यु भएको पुष्टि गरेको छ। कम्पनीले पीडित परिवारसँग सम्पर्क र समन्वय गरिरहेको जनाएको भए पनि थप विवरण सार्वजनिक गर्न अस्वीकार गरेको छ। क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसमले सामाजिक सञ्जाल एक्समार्फत घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित परिवार तथा एड्वड्र्स एअर फोर्स बेस समुदायप्रति समवेदना प्रकट गरेका छन्। दुर्घटनापछि सार्वजनिक भएका हवाई दृश्यहरूमा विमान खसेको क्षेत्र पूर्ण रूपमा जलेको र अझै धुवाँ निस्किरहेको देखिएको छ। एअर बेस प्रशासनले विमानस्थल अस्थायी रूपमा बन्द गरिएको तथा आउने सबै विमानलाई अन्यत्र मोडिएको जनाएको छ। साथै, उद्धार तथा अनुसन्धान कार्यलाई प्राथमिकता दिन गैर–व्यावसायिक आगन्तुक पासहरू अर्को सूचना नभएसम्मका लागि निलम्बन गरिएको छ।

बी–५२ सात दशकदेखि अमेरिकी सैन्य शक्तिको प्रतीक

बोइङद्वारा निर्मित बी–५२ स्ट्राटोफोर्ट्रेस अमेरिकी सेनाले सन् १९५० को दशकदेखि प्रयोग गर्दै आएको रणनीतिक बमवर्षक विमान हो। यसको विशाल आकारका कारण यसलाई “द बफ”  उपनामले पनि चिनिन्छ। लामो दूरीसम्म उड्न सक्षम यो विमान करिब ५०,००० फिट उचाइसम्म पुग्न सक्छ। यसले ३२,००० किलोग्रामसम्म हतियार तथा अन्य भार बोक्न सक्ने क्षमता राख्छ। उडानकै क्रममा हावामै इन्धन भर्न सक्ने विशेषताका कारण यसको सञ्चालन दायरा अत्यन्त व्यापक मानिन्छ। शीतयुद्धकालदेखि नै अमेरिकी रणनीतिक प्रतिरक्षा संरचनाको महत्वपूर्ण हिस्सा मानिएको बी–५२ आज पनि अमेरिकी वायुसेनाको प्रमुख बमवर्षक विमानमध्ये एक हो। सामान्यतया यस्ता विमानमा कमान्डर, पाइलट, राडार नेभिगेटर, नेभिगेटर तथा इलेक्ट्रोनिक वारफेयर अफिसर गरी पाँच सदस्यीय चालक दल रहने गर्दछ।