सुनसरीको लौकहीमा सशस्त्रको गोलीले सिटी सफारी चालकको मृत्यु, ५ बुँदे सहमति

हाम्रो पेज

१७ पुष २०८२, बिहीबार १८:०४

सुनसरी, १७ पुष । सुनसरीको कोशी गाउँपालिका–१ लौकहीमा सशस्त्र प्रहरीको गोली लागेर ४५ वर्षीय सिटी सफारी चालक विजय साहको मृत्यु भएको छ । घटना बुधबार राति करिब १ः१० बजे पुरी टोलमा भएको हो । मृतक साह सोही वडाका स्थायी बासिन्दा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । तस्करी नियन्त्रणका लागि अनुसन्धानका क्रममा खटिएको शसस्त्र प्रहरीले गोली चलाउँदा साहको घटनास्थलमै मृत्यु भएको थियो । सीमावर्ती क्षेत्रबाट दुई–तीन वटा सिटी सफारी तथा अटो रिक्सामा चोरीतस्करी गरी मालसामान ल्याउदै गर्दा प्रहरीसँग दोहोरो भिडन्त भएको सशस्त्र प्रहरी बल बराह बाहिनी पकलीका डीआईजी कुमार न्यौपानेको दाबी छ । ’तस्करीमा संलग्नहरुले सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण गरेपछि जवाफी कारबाही गर्दा साहको मृत्यु भएको हो,’ न्यौपानेले भन्नुभयो, ’अवैध रुपमा भारतीय क्षेत्रबाट सामान ल्याउँदै गरेको अवस्थामा रोकेर बुझ्न खोज्दा प्रहरी टोलीमाथि नै आक्रमण भएपछि जवाफी फायरिङ गरिएको हो, सो क्रममा एक जनाको मृत्यु भयो ।’ यता सशस्त्र प्रहरीले ुाहको हत्या गरेको भन्दै आक्रोशित स्थानीय बासिन्दाले प्रदर्शन गरेपछि लौकही बजार तनावग्रस्त बनेको थियो । पूर्वपश्चिम राजमार्गस्थित लौकही बजारमा मृतक साहको शव राखेर उनीहरुले यातायात ठप्प बनाएका थिए भने सशस्त्र प्रहरी बलको बिटमा आगजनी गरेका थिए । स्थानीयले प्रहरीमाथि ढुंगामुढासमेत गरेका छन्, प्रहरीले भिड तितरबितर पार्न हवाई फायर गरेको छ । साहले आफ्नै सिटी सफारीमा ८–१० बोरा चिनी लोड गरेर भारतबाट नेपालतर्फ ल्याउँदै थिए । सिटी चलाइरहेको अवस्थामा उनीमाथि गोली प्रहार भएको हो । मालसामान ओसारपसारको विषयलाई लिएर प्रहरी र साहबीच केही समय विवाद भएको थियो । स्थानीयले भने लेनदेनको विवादमा गोली हानेको दाबी गर्दै विरोध गरेका छन् ।

 

उत्पन्न तनाव अन्त्य गर्न पीडित परिवार र स्थानीय प्रशासनबीच ५ बुँदे सहमति भएको छ । सुनसरीका प्ररहरी उपरीक्षक एसपी केशव कुमार थेवेका अनुसार, पीडित पक्षसँगको वार्तामा घटनाको छानबिन गर्ने र पीडित परिवारलाई राहत र रोजगारीमा सहयोग गर्ने सहमति भएको छ । प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा बसेको सर्वपक्षीय छलफलले छानबिन समिति गठन गर्नेदेखि मृतकका परिवारलाई राहत र रोजगारी उपलब्ध गराउनेसम्मका निर्णय गरेको हो । घटनाको सत्यतथ्य पत्ता लगाउन सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा, नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका अधिकृत प्रतिनिधि सदस्य रहने गरी एक छानबिन समिति गठन गरिएको छ । उक्त समितिले ७ दिनभित्र प्रतिवेदन पेस गर्नुपर्नेछ। यदि छानबिनबाट सुरक्षा अधिकारीको लापरवाहीका कारण मृत्यु भएको पाइएमा नियमानुसारको राहत एवं क्षतिपूर्तिका लागि नेपाल सरकार गृह मन्त्रालयमा सिफारिस गरिने सहमति पत्रमा उल्लेख छ । प्रशासनले मृतक विजय साहकी श्रीमतीलाई रोजगारी उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीले पहलकदमी तथा सहजीकरण गरिदिने प्रतिबद्धता जनाएको छ । साथै, मृतकका छोराले सशस्त्र प्रहरीमा भर्ना हुने इच्छा राखेमा उनलाई नियमानुसार आवश्यक सहयोग र सहजीकरण सशस्त्र प्रहरी बल नं. १ बराह बाहिनीले गरिदिने पनि सहमति भएको छ । छलफलमा भएको सहमतिसँगै स्थानीय बासिन्दा मृतकको शव पोस्टमार्टमका लागि नेपाल प्रहरीलाई हस्तान्तरण गर्न र त्यसपश्चात् दाहसंस्कार गर्न तयार भएका छन् । यसअघि स्थिति नियन्त्रणबाहिर जान लागेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । स्थानीय प्रशासनले संयमता अपनाउन र वार्तामा आउन आग्रह गरेपछि यो सहमति भएको हो ।