search logo
NOTIFICATIONS

आज गणतन्त्र दिवस,विभिन्न कार्यक्रमका साथ मनाइँदै

हाम्रो पेज

१५ जेष्ठ २०८३, शुक्रबार ११:०१

काठमाडौं, १५ जेष्ठ । आज देशभर गणतन्त्र दिवस मनाइँदैछ । दिवसको अवसरमा काठमाण्डौको सैनिक मञ्च टुँडिखेलमा बिहान विशेष समारोह भएको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायक यादव, प्रधानमन्त्री वालेन्द्र शाहसहित उच्च पदस्थ व्यक्तिहरूको सहभागिता थियो । समारोहमा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले गणतन्त्रका माध्यमबाट सम्पूर्ण राजनीतिक अधिकार सुनिश्चित र समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जाने अवसर प्रदान गरेको बताउनुभयो । प्रधानमन्त्री शाहले समारोहमा सम्बोधन नगर्ने भएपछि सरकारले समारोहमा सम्बोधनका लागि राष्ट्रपतिलाई आग्रह गरेको थियो । यसअघि गणतन्त्र दिवसको कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा थियो । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ साल जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो । २४० वर्षदेखि कायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको त्यही ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जान नागरिकलाई सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको छ । लोकतान्त्रिक गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैली भएकाले उदारवादी आदर्शको उपजका रूपमा हेरिने गरिएको छ । विश्वमा अभ्यासमा रहेका शासन व्यवस्थामध्ये लोकतान्त्रिक गणतन्त्र सबैभन्दा उत्तम भएकाले नागरिकको जीवनस्तरमा सुधार र राष्ट्रको समृद्धिका लागि बलियो अस्त्रका रूपमा रहेको छ ।

लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले विकास, सुशासन, समृद्धि र राष्ट्रिय स्वाभिमानलाई केन्द्रविन्दुमा राखेर हरेक नेपाली नागरिकलाई राष्ट्र निर्माणमा समेट्न सक्नुपर्नेमा नागरिक अगुवाहरूले जोड दिँदै आएका छन् । राजनीतिक स्थिरता र आर्थिक विकासले मात्रै गणतन्त्र सुदृढ हुने उनीहरूको भनाइ छ । वि.सं २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रत्यक्ष शासन आफ्नो हातमा लिएपछि राजनीतिक दलहरू र तत्कालीन विद्रोही नेकपा माओवादीबीच सहकार्यको आधार तयार भएको थियो । त्यसपछि भएको १२ बुँदे समझदारीले आन्दोलनलाई निर्णायक मोडमा पुर्‍यायो ।२०६२/०६३ को जनआन्दोलनमा लाखौँ नागरिक सडकमा उत्रिएपछि तत्कालीन संसद् पुनःस्थापना भयो । पुन:स्थापित संसद्ले राजसंस्थाको अधिकार कटौती गर्दै माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने र संविधानसभा निर्वाचन गर्ने मार्ग तय गरेको थियो । त्यसैको परिणामस्वरूप २०६४ मा संविधानसभा निर्वाचन सम्पन्न भयो र संविधानसभाको पहिलो बैठकले नेपाललाई गणतन्त्र घोषणा गर्‍यो ।