हाम्रो पेज
काठमाडौं २८, श्रावण । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ पर्नुभएको छ । श्रेष्ठलाई ललितपुरको बागडोलबाट बुधबार साझ प्रहरीले पक्राउ गरेको हो । श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा विद्युतीय अपराध सम्बन्धी जाहेरी दर्ता भएको छ । उक्त जाहेरीका आधारमा प्रहरीले उहाँलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध वैयक्तिक गोपनियता सम्बन्धी कसुर जाहेरी दर्ता भएको छ । उक्त जाहेरीका आधारमा प्रहरीले उहाँलाई पक्राउ गरेको हो । बिहीबार बिहानै प्रहरीले उनको घर र जनआस्थाको कार्यालयमा खानतलासी गरेको छ । बिहान करिब ७ बजे पुगेको प्रहरी टोलीले कार्यालयबाट कागजपत्रसँगै ल्यापटप, कम्प्युटर र मोबाइल लगायतका उपकरण लगेको बताइएको छ ।उहाँको पक्राउको विरोध गर्दै नेपाल पत्रकार महासंघले आन्दोलनको चेतावनी दिएको छ । महासंघकी अध्यक्ष निर्मला शर्माका अनुसार श्रेष्ठले प्रयोग गर्ने ल्यापटप, कम्प्युटर, मोबाइल तथा इमेलमा पहुँच राख्ने उद्देश्यले घरबाट समेत उपकरण जफत गरिएको छ । उहाँले पक्राउको विरोध गर्न देशभरका पत्रकारहरूलाई आह्वान गर्नुभएको छ । महासंघले विरोधस्वरुप प्रहरी कार्यालय अघि धर्ना दिएको छ ।

श्रेष्ठलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली परिचालित थियो । उनीविरुद्ध वैयक्तिक गोपनियतासम्बन्धी ऐन, २०७५ विपरितको कसुर गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी दिलिप घिमिरेले कान्तिपुरसँग कुरा गर्दै श्रेष्ठविरुद्ध एक जना पीडितले उजुरी दिएको बताउनु भएको छ । यस्तै उपसभामुख रुवीकुमारी ठाकुरले पनि जनआस्था डटकमको सामाजिक सञ्जाल पेजबाट आफ्नो तस्बिरसहित आपत्तिजनक र धम्क्याउने किसिमको सामग्री प्रकाशित भएको भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी दिनु भएको छ । उहाँको उजुरीमा सामग्रीमा उल्लिखित आरोप र दाबीको स्रोत तथा प्रमाण झिकाई निष्पक्ष छानबिन गर्न माग गरिएको थियो ।