search logo
NOTIFICATIONS

हरिद्वारको मनसा देवी मन्दिरमा भीषण भागदौडः ६ श्रद्धालुको मृत्यु, कैयौं घाइते

हाम्रो पेज

११ श्रावण २०८२, आईतवार १२:५१

एजेन्सी,११ श्रावण । भारतको पवित्र धर्मनगरी हरिद्वारस्थित प्रसिद्ध मनसा देवी मन्दिरमा आइतबार बिहान भएको भीषण भागदौडमा परी कम्तिमा ६ जना श्रद्धालुको मृत्यु भएको छ भने अन्य धेरै जना घाइते भएका छन्। काँवर यात्राको समापनसँगै मन्दिरमा दर्शनार्थीको भीड बढेको समयमा यो दुःखद दुर्घटना भएको हो। दुर्घटनाको यकिन कारणबारे अनुसन्धान भइरहेको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । तर प्रत्यक्षदर्शी र प्रारम्भिक अनुसन्धानले अत्यधिक भीडलाई मुख्य कारण मानेको छ। मन्दिर जाने बाटो साँघुरो भएको र अचानक दर्शनार्थीको चाप बढेपछि स्थिति नियन्त्रण बाहिर गएको थियो।


एक घाइते प्रत्यक्षदर्शीले भने, अचानक मन्दिर जाने साँघुरो बाटोमा ठूलो भीड जम्मा भयो। मानिसहरू एकअर्कामाथि खसे र हेर्दाहेर्दै भागदौड मच्चियो।यद्यपि, सुरुमा उच्च भोल्टेजको तार खसेर करेन्ट लागेको हल्लाले त्रास फैलिएको बताइए पनि प्रशासनले यसको पुष्टि गरेको छैन। मनसा देवी मन्दिर अग्लो पहाडमा अवस्थित छ, जहाँ पुग्नका लागि केबलकार रोपवे र सिँढीसहितको पैदल मार्ग गरी दुईवटा बाटा छन्। पैदल मार्ग निकै साँघुरो र ठाडो भएकाले एकैपटक धेरै भीड हुँदा व्यवस्थापन गर्न कठिन हुन्छ। काँवर यात्रापछि बाटो खुलेकाले मन्दिरमा अप्रत्याशित रूपमा भीड बढेको र सोही कारण यो दुःखद घटना भएको अनुमान गरिएको छ। घटनालगत्तै उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले गहिरो दुःख व्यक्त गर्दै आफूले स्थितिलाई निरन्तर निगरानी गरिरहेको बताउनुभएको छ। उहाँले सामाजिक सञ्जाल एक्स मार्फत भन्नुभयो, हरिद्वारस्थित मनसा देवी मन्दिरको बाटोमा भागदौड मच्चिएको अत्यन्त दुःखद समाचार प्राप्त भयो। माता रानीसँग सबै श्रद्धालुहरूको सकुशलताको प्रार्थना गर्दछु। गढवाल मण्डल आयुक्त विनय शंकर पाण्डेले ६ जनाको मृत्यु भएको पुष्टि गर्नुभएको छ। घटनास्थलमा तत्कालै राज्य आपदा प्रतिक्रिया बल, स्थानीय प्रहरी र अन्य उद्धार टोलीहरू परिचालन गरी राहत तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ। घाइतेहरूलाई नजिकैका अस्पतालहरूमा भर्ना गरिएको छ र हाल अवस्था नियन्त्रणमा रहेको प्रशासनले जनाएको छ। प्रशासनले घटनाको विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ।