
काठमाडौँ १८ भाद्र । प्रहरीले गोङ्गबुबाट स्रोत नखुलेको ४ करोड २६ लाख ४० हजार ५ सय रुपैयाँ र ९ किलोग्राम भन्दा बढी सुनका गरगहना र ३ किलोभन्दा बढी चाँदीसहित एक जना पक्राउ परेका छन् । प्रहरीले मंगलबार रातिसम्म गरेको गणनामा ४ करोड २५ लाख ५० हजार रुपैयाँ रहेको काठमाडौँ परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले बताउनुभयो । गोरखाको गोरखा नगरपालिका–६ बसपार्क स्थाई घर भएका ७७ वर्षीय विनोदकुमार श्रेष्ठको गंगबुस्थित घरमा नगद र सुन रहेको जानकारी पछि उपत्यका प्रहरी कार्यालय रानीपोखरी र काठमाडौँ जिल्ला प्हरी परिसरको संयुक्त टोलीले छापा मारेको थियो । काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित श्रेष्ठको घरमा अवैध रुपमा लुकाएर राखिएको नगद र सुन प्रहरीले बरामद गरेको थियो। श्रेष्ठको घरबाट ९ किलो ३९ ग्राम सुनका गहना बरामद भएको थियो। यस्तै ३ किलो २१ ग्राम चाँदीका गहना पनि प्रहरीले बरामद गरेको छ। यी गहना धितोमा राखेर उनले मिटरब्याजमा रकम दिएको खुलेको छ। उनले आफ्नो घरको बैठक कोठामा यो नगद र गहना लुकाएर राखेका थिए। श्रेष्ठलाई पन प्रहरीले पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको छ। नयाँबजारस्थित श्रेष्ठका छोरा राज कुमार श्रेष्ठले सनम खड्गीको घरमा लिएको भाडाको कोठाबाट पनि केही रकम र गरगहना भेटिएको प्रहरीले जनाएको छ ।