बच्चा हो भन्नेलाई रिङमै दिए जवाफः भारतीय च्याम्पियनलाई धुलो चटाउँदै रविन्द्र ढाँटले रचे कीर्तिमान

हाम्रो पेज

१८ श्रावण २०८२, आईतवार १२:१३
म्याट्रिक्स फाइट नाइटको उपाधि जित्ने पहिलो नेपाली बने बझाङका ढाँट

विराटनगर, १८ श्रावण । नेपालका मिक्स्ड मार्शल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँटले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको झण्डा गाड्दै ऐतिहासिक कीर्तिमान रचेका छन्। उनले भारतको प्रतिष्ठित म्याट्रिक्स फाइट नाइटको बान्टमवेट उपाधि जितेका छन्, र यो उपलब्धि हासिल गर्ने उनी पहिलो नेपाली खेलाडी बनेका छन्। यो जित केवल एक उपाधि मात्र थिएन, यो आत्मसम्मान र शक्तिको प्रदर्शन पनि थियो। खेलअघि भारतीय टाइटल होल्डर चोंगरेंग कोरेनले एक अन्तर्वार्तामा अहंकारपूर्वक भनेका थिए, ऊ त बच्चा हो, उसको दिमाग निकालिदिन्छु। मसँग लड्नै नआए राम्रो हुन्छ। तर, रविन्द्रले आफ्नो जवाफ शब्दले होइन, रिङभित्र आफ्नो दमदार प्रदर्शनले दिए। उनले कोरेनको घमण्डलाई चकनाचुर पार्दै च्याम्पियनसिप बेल्ट आफ्नो नाममा गरे। भारतको नोएडामा शनिबार राति सम्पन्न एमएफएन १७ को मुख्य इभेन्टमा ढाँटले तत्कालीन च्याम्पियन कोरेनलाई तेस्रो राउन्डमा पराजित गर्दै बान्टमवेट च्याम्पियनको उपाधि उचालेका हुन्। यो जितसँगै रविन्द्रले आफ्नो व्यावसायिक रेकर्ड ८ जित र १ हार ८–१० मा पुर्याएका छन् भने कोरेनको लगातार पाँच खेलको अपराजित यात्रामा पूर्णविराम लगाइदिएका छन्। सुदूरपश्चिमको बझाङ जिल्लाका ढाँटले आफ्नो यो ऐतिहासिक सफलतालाई प्रशिक्षक तथा मेन्टर दिविज पिया लामा प्रति समर्पण गरेका छन्। उनको यो जितले नेपाली एमएमए खेललाई अन्तर्राष्ट्रिय मञ्चमा नयाँ पहिचान दिएको छ र युवा खेलाडीहरूका लागि प्रेरणाको विशाल स्रोत बनेको छ।