मनसुनको कहरः देशभर भारी वर्षा, कोशी र कमला नदी खतराको तहमा, ५ मुख्य सडक अवरुद्ध

हाम्रो पेज

१ असार २०८२, आईतवार १३:३४
विराटनगर, १ अषाढ I मनसुन सक्रिय भएसँगै आज पनि देशका विभिन्न भूभागमा भारी वर्षा जारी छ, जसले जनजीवन अस्तव्यस्त बनाएको छ। लगातारको वर्षाले कोशी र कमला नदीको जलसतहले खतराको तह पार गरेको छ भने बाढी र पहिरोका कारण देशका ५ वटा महत्त्वपूर्ण सडक अवरुद्ध भएका छन्।

जल तथा मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, देशको पूर्वी र मध्य भागमा मनसुनी वायु तथा पश्चिमी भू(भागमा स्थानीय वायुको दोहोरो प्रभावका कारण वर्षाको यो श्रृंखला जारी रहेको हो। देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। विशेषगरी कोशी, मधेस र बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुन सक्नेछ। राति पनि कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा जारी रहनेछ भने एकदुई स्थानमा भारी वर्षा को सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू भागका केही स्थानमा हल्का हिमपातसमेत हुन सक्नेछ।
लगातारको वर्षाले नदी र खोलाहरूमा पानीको सतह ह्वात्तै बढेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार, धनकुटाको मछुवाघाटमा कोशी नदी र सिन्धुलीको रानीचुरीमा कमला नदीको जलसतहले खतराको तह पार गरेको छ। धनकुटाको मछुवाघाटमा पछिल्लो २४ घण्टामा एकसय ४० दशमलव २ मिलिमिटर र त्रिवेणीमा एकसय दुई दशमलव ४ मिलिमिटरको अति भारी वर्षा मापन भएको छ, जसले जोखिमलाई थप बढाएको छ। खोटाङको लामिडाँडामा पनि एकसय दशमलव ४ मिलिमिटर वर्षा रेकर्ड भएको छ। यस्तै मकवानपुर, धनुषा, बारा र रौतहटका विभिन्न खोलाहरूमा पनि पानीको सतह बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
पहिरोले पाँच स्थानका सडक अवरुद्ध
वर्षासँगै आएको पहिरोले देशका विभिन्न पाँच स्वथानका सडक खण्डहरू पूर्णरूपमा अवरुद्ध भएका छन्, जसले गर्दा यातायात प्रभावित बनेको छ। नेपाल प्रहरीका अनुसार अवरुद्ध सडकहरू निम्न छन्ः
ललितपुरः आश्राङ गिम्दी सडक खण्ड
धनकुटाः रवि राके (भेडेटार) सडक
खोटाङः दिक्तेल गाइघाट सडक खण्ड
मकवानपुरः कान्ति लोकपथ
सिन्धुपाल्चोकः अरनिको राजमार्ग
मनसुनी वर्षाको क्रम अझै केही दिन जारी रहने भएकाले बाढी, पहिरो र डुबानको जोखिम उच्च छ। सम्बन्धित निकायले नदी तटीय क्षेत्र, भिरालो जमिन र होचा भू भागमा बसोबास गर्नेहरूलाई उच्च सतर्कता अपनाउन तथा यात्रा गर्दा सडकको अवस्थाबारे पूर्व जानकारी लिएर मात्र अघि बढ्न आग्रह गरेको छ।