विपिन जोशी जिवित नरहेको घोषणा,शव रहे,नरहेको समेत यकिन छैनःराजदूत पण्डित

हाम्रो पेज

२७ आश्विन २०८२, सोमबार १२:१४

काठमाडौं, २७ आश्विन । इजरायलमा हमासद्वारा नियन्त्रणमा लिइएका विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीले बताएका छन् ।
इजरायली सेना आईडीएफका एक अधिकारीले इजरायलको स्थानीय समय अनुसार आज बिहान साढे ७ बजे विपिन जीवित नरहेको औपचारिक जानकारी दिएका हुन् । ती अधिकारीले इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका विपिनका दाजु किशोर र इजरायलको प्रधानमन्त्री कार्यालयका दुई अधिकारीहरुलाई भिडियो कन्फरेन्समा जोडेर विपिन जीवित नरहेको औपचारिक जानकारी दिएको राजदूत पण्डितले बताउनु भएको छ । राजदूत पण्डितले भन्नु भएको छ, ‘आईडीएफका अधिकारीले हामीलाई विपिन ईज नो मोर भने ।’ अमेरिकाको पहलमा इजरायल र हमासबिच युद्धविराम भएपछि हमासको नियन्त्रणमा रहेका जीवित र मृतक बन्दीहरु रिहा गर्ने क्रम सुरु भइसकेको छ । आज छाड्न लागिएका २० जनाको सूचीहरुमा विपिनको नाम छैन ।

अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । सो आक्रमणको क्रममा १० जना नेपाली विद्यार्थीहरु मारिएका थिए । हमास लडाकुहरुले विपिनलाई आफूसँगै लिएर गएका थिए । सन् २०२३ नोभेम्बर १७ मा विपिन गाजा क्षेत्रको अल शिफा अस्पतालमा देखिएका थिए । तर त्यसपछि उनको अवस्था अज्ञात थियो । गत बुधबार बेलुका विपिनको एउटा पुरानो भिडियो सार्वजनिक गरिएको थियो । विपिनको अवस्था पत्ता लगाउन भन्दै सरकारको पहलमा विपिनकी आमा र बहिनी यसअघि इजरायल गएर फर्किएका थिए । त्यसपछि अहिले उनीहरु अमेरिकामा छन् ।


हमासका लडाकुहरूले रेडक्रसलाई सात जना बन्धक सुम्पिएको छ । रेडक्रसले छिट्टै नै यिनीहरूलाई इजरायली सेनालाई हस्तान्तरण गर्नेछ । बन्धक र हराएको परिवार फोरमका अनुसार रिहा गरिएका बन्धकहरूमा गाली बर्मन, जिभ बर्मन, इटान अब्राहम मोर,ओम्री मिरन, मातान एन्ग्रेस्ट, एलोन ओहेल, गाय गिल्बोआ–दलाल रहेका छन् । हमासका बन्धकहरुलाई अन्तर्राष्ट्रिय रेडक्रसको रोहबरमा इजरायल सेनालाई जिम्मा लगाइने छ । बन्धकहरु रिहाइ हुने भएपछि गाजा स्ट्रिपमा अहिले अन्तर्राष्ट्रिय रेडक्रमका प्रतिनिधिहरु पुगिसकेका छन् ।