search logo
NOTIFICATIONS

देशभर भारी वर्षाको वितण्डाः हिमलुङमा १० बेपत्ता, ६ जनाको मृत्यु, पुल–सडक बग्यो, बस्ती डुबानमा

हाम्रो पेज

११ आश्विन २०८३, आईतवार १७:१८
हिमपहिरोदेखि बाढी–पहिरोसम्मः देशभर जनधनमा क्षति, १० बेपत्ता, ६ को मृत्यु, यातायात र विद्युत् सेवा प्रभावित

काठमाडौं, ११ आश्विन । देशभर लगातार भइरहेको भारी वर्षाका कारण बाढी, पहिरो र हिमपहिरोको जोखिम बढेको छ। विभिन्न जिल्लामा जनधनको क्षति हुनुका साथै सडक, पुल, विद्युत् र सञ्चार संरचनामा क्षति पुगेको छ। केही स्थानमा यातायात तथा हवाई सेवा प्रभावित भएका छन् भने नदी तथा जलाशयमा पानीको सतह बढेपछि जोखिमयुक्त क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। मनाङको नार्फाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमाल क्षेत्रमा आइतबार बिहान हिमपहिरो गएको छ। हिमपहिरोमा परी १० जना बेपत्ता भएको सूचना प्राप्त भएको छ। उनीहरू सबै नेपाली नागरिक रहेको बताइए पनि पहिचान भने पुष्टि भइसकेको छैन। मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार घटनास्थलमा हेलिकोप्टर पठाएर उद्धार टोली परिचालन गरिएको छ। एउटा हेलिकोप्टरले उद्धारकर्तालाई घटनास्थलमा झारेको छ भने अर्को हेलिकोप्टर पनि त्यहाँ जाने तयारीमा छ। उनीहरू ‘अल्पाइन ट्रेक एन्ड ट्राभल्स’मार्फत हिमलुङ क्षेत्रमा पुगेको बताइएको छ।

यता, बागलुङ र पाल्पामा पहिरोका कारण ६ जनाको मृत्यु भएको छ। बागलुङको निसीखोला गाउँपालिका–३ मा पहिरोले घर पुरिँदा एउटै परिवारका चार जना बेपत्ता भएका थिए। तीमध्ये तीन जनाको शव फेला परेको छ। मृत्यु हुनेमा श्यामकुमारी विक तथा उनका छोराहरू मनोज, मुकेश र निसान रहेको बताइएको छ।पाल्पामा पनि पहिरोमा परी दुई जनाको मृत्यु भएको छ। माथागढी गाउँपालिका–२ रुप्से राजौरीमा ७५ वर्षीय शेरबहादुर चिडी र रिब्दीकोट गाउँपालिका–६ थिमुरे धुस्तुङमा ५९ वर्षीया कृष्णकुमारी सारुको पहिरोमा परी मृत्यु भएको हो। पाल्पामै अन्य तीन जना बेपत्ता रहेको बताइएको छ। पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा कालीगण्डकी नदीको बाढीले करिब २५ वटा घर बगाएको छ। बस्तीमा करिब ८० घर रहेको र बाँकी घरहरू पनि जोखिममा रहेको बताइएको छ।

म्याग्दीमा पनि कालीगण्डकी नदीको बहावले ठूलो क्षति पुर्‍याएको छ। बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर र अन्नपूर्ण–२ भुरुङ तातोपानीको नौलीबगरबीचको पक्की पुल नदीले बगाएको छ। पुल बगेसँगै अन्नपूर्ण गाउँपालिकाका वडा नम्बर २, ३ र ४ तथा मुस्ताङसँगको यातायात सम्पर्क प्रभावित भएको छ। कालीगण्डकीले खामभित्तामा सडकसमेत काटेको छ। त्यस्तै, अन्नपूर्ण गाउँपालिका–५ घिवाङ र वडा नम्बर ३ फगाममा घर पुरिएको छ। घटनामा दुई जना बेपत्ता रहेको र उनीहरूको खोजी भइरहेको छ। अन्नपूर्ण–४ घारस्थित निलगिरी आधारभूत विद्यालयमा समेत क्षति पुगेको छ। मनाङकै नासों गाउँपालिका–१ ताल गाउँमा पनि मर्स्याङ्दी नदीको बहाव बढेर बस्तीमा पानी पसेको छ। पुल आसपासको निकास थुनिएपछि पानी बस्तीपट्टि फर्किँदा चारदेखि पाँच घर प्रभावित भएका छन्। बाढीका कारण विद्युत् तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ भने माथिल्लो बस्तीहरूसँगको सम्पर्कसमेत प्रभावित भएको छ। क्षतिको पूर्ण विवरण आउन बाँकी छ।

नारायणी नदीमा पनि पानीको सतह खतराको तहभन्दा माथि पुगेको छ। देवघाटमा नदीको जलसतह ११ दशमलव ४१ मिटर पुगेको छ, जबकि चेतावनी तह ७ दशमलव ३ र खतराको तह ९ मिटर हो। नदीको पानी भरतपुर महानगरपालिका–१ को बस्तीमा समेत पसेको छ। घर तथा सामानमा क्षति पुगेको छ भने केही विद्यालयसमेत डुबानमा परेका छन्। सुदूरपश्चिममा महाकाली नदीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधनको आवागमन रोकिएको छ। महाकालीमा पानीको बहाव १ लाख ९७ हजार ७ सय ७४ क्युसेक पुगेपछि नेपाल–भारततर्फको सवारी आवागमन प्रभावित भएको हो। बिहीबार रातिदेखि नै सुदूरपश्चिमका पहाडी जिल्लामा लगातार वर्षा भइरहेको छ। वर्षाका कारण छोटो तथा लामो दूरीका यातायात सेवा पनि प्रभावित भएका छन्।

भारी वर्षाका कारण देशभरका सडक तथा राजमार्गमा समेत समस्या देखिएको छ। सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ भने बागलुङका विभिन्न स्थानमा दर्जनौँ सडकखण्ड बन्द भएका छन्। नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गका केही खण्डसमेत प्रभावित भएका छन्।मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा त्रिशूली नदीले सडकको तल्लो भाग कटान गरेपछि सडकको आधाभन्दा बढी भाग भासिएको छ। अहिले त्यहाँ एकतर्फी यातायात सञ्चालन भइरहेको छ। थप कटान भए सडक पूर्णरूपमा अवरुद्ध हुन सक्ने जोखिम छ।

अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। धुलिखेल नगरपालिका–८ जिपलायन क्षेत्रमा पहिरो खसेपछि सवारी आवागमन रोकिएको हो। सो क्षेत्रमा थप पहिरोको जोखिमसमेत रहेको बताइएको छ।कर्णाली प्रदेशका कालिकोट, सल्यान, हुम्ला, जाजरकोट, जुम्ला र मुगुसहित ६ जिल्लाका विभिन्न सडकखण्ड पहिरोका कारण प्रभावित भएका छन्। कर्णाली राजमार्गको गगने खोला, राप्ती राजमार्गको खर्कखोला र अरिंगाले, जुम्ला–नाग्मा सडकको राँका, कर्णाली करिडोरको खच्चा तथा नाग्मा–गमगढी सडकको पिना–ताल्चा क्षेत्रमा यातायात प्रभावित भएको छ।

भारी वर्षाका कारण मकवानपुरको कुलेखानीस्थित इन्द्रसरोवर जलाशयमा पनि पानीको सतह तीव्र रूपमा बढिरहेको छ। जलाशयमा पानीको मात्रा थप बढेमा तल्लो तटीय क्षेत्रमा जोखिम हुन सक्ने भन्दै स्थानीय बासिन्दालाई उच्च सतर्कतामा रहन आग्रह गरिएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै साइरन बजाउने तथा एसएमएसमार्फत सूचना पठाउने तयारी गरिएको छ।

लगातारको वर्षा र हावाहुरीका कारण विद्युत् प्रसारण तथा वितरण प्रणालीमा पनि क्षति पुगेको छ। विभिन्न स्थानमा ट्रान्समिसन लाइन, वितरण लाइन र पोलमा क्षति हुँदा विद्युत् सेवा प्रभावित भएको छ। कालीगण्डकी करिडोरअन्तर्गतको २२० केभी प्रसारण लाइनका टावरमा समेत क्षति पुगेपछि करिब २०० मेगावाट विद्युत् प्रभावित भएको छ। विभिन्न जलविद्युत् आयोजना बन्द गर्नुपरेको छ भने २२०, १३२, ३३ र ११ केभी प्रणालीका संरचनामा पनि क्षति पुगेको छ। नेपाल विद्युत् प्राधिकरणले प्राविधिक टोली परिचालन गरी वैकल्पिक फिडरमार्फत सेवा सञ्चालन तथा क्षतिग्रस्त संरचना मर्मतको काम गरिरहेको जनाएको छ।

वर्षा, हावाहुरी, बाढी र पहिरोका कारण दूरसञ्चार सेवासमेत प्रभावित भएको छ। अप्टिकल फाइबरमा क्षति, विद्युत् आपूर्तिमा समस्या तथा सौर्य प्रणालीबाट सञ्चालित साइटमा बादल, वर्षा र हिमपातका कारण नेपाल टेलिकमका केही सेवा प्रभावित भएका छन्। मौसममा सुधार आएलगत्तै प्राविधिक टोली परिचालन गरी सेवा नियमित गर्ने तयारी गरिएको छ। खराब मौसमको असर हवाई उडानमा पनि परेको छ। पर्याप्त भिजिबिलिटी नहुँदा भरतपुर र तुम्लिङटार विमानस्थलमा नियमित उडान सञ्चालन हुन सकेका छैनन्। पोखराको भिजिबिलिटीमा केही सुधार आए पनि उडान मौसमको अवस्थामै निर्भर रहनेछ। हिमाली क्षेत्रमा हुने उडानहरू भने प्रभावित भएका छन्।

उता, उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा लगातार वर्षा र हिमपात भइरहेको छ। वर्षा र हिमपातका कारण जनजीवन प्रभावित हुनुका साथै बालीनालीमा समेत क्षति पुगेको छ। भूकम्पबाट प्रभावित भएर पाल तथा चर्किएका घरमा बसिरहेका स्थानीयलाई लगातारको खराब मौसमले थप समस्या भएको छ। देशका विभिन्न नदी तथा खोलामा पानीको बहाव बढिरहेका बेला मौसममा तत्काल सुधार आउने अवस्था देखिएको छैन। मौसम पूर्वानुमानअनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमतीलगायतका पहाडी तथा हिमाली क्षेत्रमा पनि बदली रहने सम्भावना छ।

कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा तथा गण्डकी र लुम्बिनीका केही हिमाली तथा पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कोशी र बागमतीका केही पहाडी क्षेत्रमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ। सुदूरपश्चिमको तराईका धेरै स्थान, लुम्बिनीका केही तथा अन्य प्रदेशका केही तराई क्षेत्रमा समेत वर्षाको सम्भावना रहेको छ। रातिको समयमा पनि सुदूरपश्चिम तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहने सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका केही हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङसहित वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ। लगातारको वर्षाका कारण नदीमा पानीको सतह बढ्नुका साथै पहिरो र हिमपहिरोको जोखिमसमेत कायम रहेकाले नदी किनार, पहिरोको जोखिम भएका बस्ती तथा हिमाली क्षेत्रमा रहेका नागरिकलाई विशेष सतर्कता अपनाउन र स्थानीय प्रशासन तथा सम्बन्धित निकायले जारी गरेका सुरक्षा सूचनाको पालना गर्न आग्रह गरिएको छ।