रौतहटमा सुटकेसभित्र महिलाको शव

हाम्रो पेज

८ भाद्र २०८२, आईतवार १०:४६

गौर, रौतहट, ८ भाद्र  । रौतहटमा शनिबार राति सडक किनारमा भेटिएको एक बेवारिसे सुटकेसभित्र महिलाको शव फेला परेको छ, जसले जिल्लामा त्रासको वातावरण सिर्जना गरेको छ । गौर–पिपरा सडकखण्ड अन्तर्गत मुडवलबा मोडनजिक शनिबार राति करिब १० बजे स्थानीयले देखेको उक्त शंकास्पद सुटकेसलाई प्रहरीले आइतबार बिहान खोल्दा सो घटना सार्वजनिक भएको हो । मृतक महिलाको पहिचान माधव नारायण नगरपालिका–२, महादेवपट्टी माइत भएकी २६ वर्षीया रुवीकुमारी साहको रूपमा भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीका अनुसार, सुटकेसभित्र मृत अवस्थामा फेला परेकी साहको घाँटीमा डोरी र सलले बाँधिएको थियो भने नाकमा रगतका धब्बाहरु देखिएका थिए । शवको प्रकृति हेर्दा उनको हत्या शुक्रबार नै भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । स्थानीयले गौर नगरपालिका–९ स्थित दिव्यज्योति स्कुल नजिकै शंकास्पद सुटकेस देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । विस्फोटक पदार्थ समेत हुन सक्ने आशंकामा प्रहरीले रातभर घटनास्थललाई आफ्नो नियन्त्रणमा राखेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नेत्रमणी गिरिका अनुसार, सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै आइतबार बिहान सेनाको बम डिस्पोजल टोलीलाई साथै लिएर सुटकेस खोलिएको थियो । डीएसपी कार्कीले भन्नुभयो, रातको समय र अपर्याप्त प्रकाशका कारण कुनै अप्रिय घटना नहोस् भनेर हामीले सुटकेसलाई रातभर सुरक्षित राख्यौं । बिहान मेरो नेतृत्वमा गएको टोलीले खोल्दा भित्र शव भेटियो । प्रहरीले घाँटी कसेर हत्या गरेपछि शवलाई सुटकेसमा राखेर फालिएको हुनसक्ने अनुमान गरेको छ । शव धेरै पुरानो देखिँदैन, यो शुक्रबार दिउँसोतिरको घटना हुनसक्छ, डीएसपी कार्कीले भन्नुभयो यसबारे फरेन्सिक जाँचपछि थप विवरण खुल्नेछ । प्रहरीले शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाएको छ ।।घटनाको थप अनुसन्धानका लागि मृतकका माइती पक्षलाई जिल्ला प्रहरी कार्यालयमा बोलाइएको छ । भारतको मुजफ्फरपुरमा विवाह भएकी रुवीकुमारी पछिल्लो समय माइतीघरमै बस्दै आएको स्थानीयले बताएका छन् । उनको पतिसँगको सम्बन्ध र हत्याको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ, तर हालसम्म हत्यामा संलग्न व्यक्ति र उद्देश्यबारे केही खुलेको छैन ।