search logo
NOTIFICATIONS

प्रदेश सरकारका मन्त्रीको क्वार्टर नजिक मध्यरातमा प्रहरी पुग्दा…

हाम्रो पेज

५ असार २०८३, शुक्रबार १३:४८
मध्यरातमा मन्त्रीको क्वार्टर नजिक प्रहरी पुगेपछि…

विराटनगर, ५ असार I कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको विराटनगरस्थित सरकारी निवासमा मध्यराति प्रहरी पुगेको घटनाले राजनीतिक र प्रशासनिक वृत्तमा तरंग उत्पन्न गरेको छ।

प्रहरी र सरकार पक्षले घटनाबारे फरक–फरक दाबी गरेपछि यसको वास्तविकता थप चासोको विषय बनेको छ। बिहीबार राति करिब ११ बजे विराटनगर–३ स्थित मन्त्री पराजुलीको सरकारी निवासमा प्रहरीको टोली पुगेको थियो। स्रोतले प्रहरी निवासभित्र प्रवेश गरी कोठा–कोठामा खानतलासी गरेको दाबी गरेको छ। घटना हुँदा मन्त्री पराजुली भने जिल्ला बाहिर रहनु भएको थियो । उहाँले आफू संखुवासभा क्षेत्रमा रहेको र छिमेकी तथा कर्मचारीबाट जानकारी पाएपछि मात्र घटनाबारे थाहा भएको बताउनुभयो ।

निवासमा रहेका एक कर्मचारीले पनि राति आएको प्रहरी टोलीले केही समयसम्म परिसरमा गतिविधि गरेको बताएका छन्। घटनाले संघीय संसद्सम्म प्रवेश पाएको छ। शुक्रबार प्रतिनिधिसभा बैठकमा धनकुटाका सांसद राजेन्द्र राईले मन्त्री निवासमा प्रहरीले गरेको भनिएको खानतलासीबारे प्रश्न उठाउँदै सरकारसँग जवाफ माग गर्नुभएको छ । राईले कोशी प्रदेशका मन्त्री इन्द्रमणि पराजुलीको निवासमा प्रहरीले खानतलासी गरेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । बैठकमा आकस्मिक समय लिएर आज सांसद राईले मन्त्री पराजुली सङ्खुवासभा गएको बेलामा बिहीबार राति १० बजे प्रहरीले विनाकारण खानतलासी गरेकोप्रति सरकारको ध्यानाकर्षण गराउनु भएको हो । “मन्त्री पराजुलीको घरमा नभएको अवस्थामा प्रहरीले राति क्वाटरमा खानतलासी गरेको छ”, उहाँले भन्नुभयो, “प्रहरी किन यस्तो गरेको हो ? सरकारबाट म यो जान्न चाहान्छु ।”

यता मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालले भने मन्त्री निवासमा छापा मारिएको दाबी अस्वीकार गर्नुभएको छ । उहाँका अनुसार एक व्यक्ति त्यहाँ लुकेर बसेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी टोली गएको थियो। ‘हामीले छापा मारेका होइनौं । एउटा सूचना आएपछि प्रहरी त्यहाँ गएको हो,’ एसपी कटुवालले भन्नुभयो, ‘सूचना पुष्टि नभएपछि टोली बाहिरबाटै फर्किएको थियो।’ आपराधिक घटनामा संलग्न विमल भट्टराईको खोजीमा प्रहरी मन्त्रीको निवास नजिक मात्र पुगेको उहाँको दाबी छ ।

धनकुटाबाट दोस्रो पटक प्रदेशसभा सदस्य निर्वाचित एमाले नेता पराजुली हाल कोशी प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ । मन्त्रीकै सरकारी निवासमा प्रहरी पुगेको घटनाले प्रदेश सरकार र प्रहरी प्रशासनबीचको समन्वय तथा अधिकार प्रयोगबारे नयाँ प्रश्न खडा गरेको छ। प्रहरी स्रोतले मन्त्रीको सरकारी निवासका रूपमा प्रयोग हुनुअघि सो भवनमा भट्टराई बसोबास गर्ने गरेको जानकारी अनुसन्धानका क्रममा खुलेको जनाएको छ।