हाम्रो पेज
एजेन्सी, ४ अषाढ I इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले इजरायलविरुद्ध खुला युद्धको घोषणा गर्दै कुनै पनि हालतमा सम्झौता नगर्ने अडान लिनु भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘निःसर्त आत्मसमर्पण’ गर्न दिएको कडा चेतावनीको जवाफमा खामेनीको यो प्रतिक्रिया आएको हो, जसले मध्यपूर्वलाई एक विनाशकारी र अनिश्चित युद्धको भुमरीमा धकेलेको छ। यो द्वन्द्वको पछिल्लो अध्याय सामाजिक सञ्जाल ‘एक्स’ पहिले ट्विटर र ‘ट्रुथ सोसल’मा देखिएको छ, जहाँ दुई शक्तिशाली नेताहरूले एकअर्कालाई सीधै धम्की दिएका छन् । राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा एकपछि अर्को पोस्ट गर्दै इरानलाई चेतावनी दिनु भएको छ । उहाँले लेख्नु भएको छ, “निःशर्त आत्मसमर्पण।” उहाँले खामेनीलाई लक्षित गर्दै थप लेख्नु भएको छ, “हामीलाई थाहा छ, इरानका ‘सर्वोच्च नेता’ कहाँ लुकेका छन्। उनी एक सजिलो निशाना हुन्, तर अहिलेका लागि त्यहाँ सुरक्षित छन्।” ट्रम्पले “इरानको आकाशमा अब हाम्रो पूर्ण नियन्त्रण छ” भन्दै आफ्नो सैन्य शक्तिको धाक लगाउनु भएको छ । ट्रम्पको चेतावनीको केही समयमै खामेनीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जवाफ फर्काउनु भएको छ । उहाँले स्पष्ट शब्दमा लेख्नु भएको छ, “युद्ध सुरु भएको छ। हामी आतंकवादी जियोनिस्ट (यहूदी) शासनलाई कडा जवाफ दिनेछौं र कुनै दया देखाउने छैनौं। इरानले इजरायलसँग कहिल्यै सम्झौता गर्ने छैन।” यो वाकयुद्धले दुई देशबीचको तनावलाई कूटनीतिक सीमाभन्दा पर लगेर सीधै सैन्य टकरावको अवस्थामा पुऱ्याएको छ।

नेपालीहरूको उद्धारकालागि विवरण संकलन सुरु
यसैबीच इरान र इजरायलबीचको युद्ध चर्किंदै गएपछि त्यहाँ रहेका नेपालीहरूको सुरक्षाप्रति गहिरो चासो बढेको छ। यसैलाई मध्यनजर गर्दै, इजरायलको तेल अभिभस्थित नेपाली दूतावासले नेपाली नागरिकहरूको उद्धार तथा स्वदेश फिर्तीका लागि विवरण संकलन सुरु गरेको छ। दूतावासले एक सूचना जारी गर्दै भनेको छ, “इजरायलमा विकसित पछिल्लो परिस्थितिका बीच समस्यामार त्रासमा रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि आधार प्राप्त होस् भन्ने हेतुले सूचना संकलनको काम सुरु गरिएको हो।” उद्धारका लागि इच्छुक नेपालीहरूलाई अनलाइनमार्फत आफ्नो विवरण दर्ता गर्न दूतावासले अनुरोध गरेको छ। युद्धको यो संकटमा अन्य देशहरूले पनि आफ्ना नागरिकहरूको उद्धार कार्य थालिसकेका छन्। यो घटनाक्रमले मध्यपूर्वमा रहेका लाखौं आप्रवासी कामदारको भविष्यलाई समेत अनिश्चित बनाएको छ।