search logo
NOTIFICATIONS

‘हाम्रो पेज’ दोस्रो वर्षमा प्रवेश, एक वर्षको अनुभवसँगै अबको यात्रा…

हाम्रो पेज

१५ जेष्ठ २०८३, शुक्रबार १२:३९
आज हामी अत्यन्त गौरव, आत्मविश्वास र जिम्मेवारीका साथ हाम्रो पेज डट कम अनलाइन पोर्टलको पहिलो वार्षिक उत्सव मनाउँदै स्थापनाको दोस्रो वर्षमा प्रवेश गरेका छौं । मुलुकमा गणतन्त्र आएको विशेष दिनको अवसर पारेर २०८२ साल जेठ १५ गते औपचारिक यात्रा शुरु गरेको हाम्रो पेज डट कमले अनेक आरोह अवरोह पार गर्दै एक वर्ष पुरा गरेको छ । यो अवसर केवल एक वर्ष पूरा भएको औपचारिक क्षण मात्र होइन, सत्य, निष्पक्षता र जिम्मेवार पत्रकारिताप्रतिको हाम्रो प्रतिबद्धताको पुनः स्मरण गर्ने महत्वपूर्ण अवसर पनि हो ।
गएको एक वर्षको यात्रामा हामीले हाम्रो स्लोगन ‘सत्यको आधार, निष्पक्ष समाचार’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै समाजका विविध पक्षलाई समेट्ने प्रयास गरेका छौं । सूचना प्रवाहको तीव्र प्रतिस्पर्धा, सामाजिक सञ्जालमा फैलिने भ्रम र अपुष्ट सामग्रीको भीडबीच सत्यतथ्य र सन्तुलित समाचार प्रस्तुत गर्नु आजको पत्रकारिताको सबैभन्दा ठूलो चुनौती बनेको छ । यही चुनौतीलाई अवसरका रूपमा ग्रहण गर्दै हामीले आमनागरिकको विश्वास जित्ने प्रयास गरेका छौं ।
पत्रकारिता केवल समाचार सम्प्रेषण गर्ने माध्यम मात्र होईन, समाजलाई सही दिशा दिने महत्वपूर्ण शक्ति पनि हो । लोकतन्त्रको सुदृढीकरण, सुशासनको प्रवद्र्धन, विकृति–विसंगतिविरुद्ध खबरदारी तथा आवाजविहीनहरूको आवाज बन्ने जिम्मेवारी पत्रकारिताको मूल धर्म हो भन्ने मान्यतामा हामी दृढ छौं । यस यात्रामा हामी कुनै आग्रह–पूर्वाग्रह, दबाब वा प्रभावभन्दा माथि उठेर निष्पक्ष र जिम्मेवार पत्रकारितामा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दछौं । हाम्रो यो यात्रालाई यहाँसम्म पुर्याउन सहयोग गर्ने सम्पूर्ण पाठक, शुभेच्छुक, विज्ञापनदाता, सहकर्मी पत्रकार तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ दिने सबैप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौं । तपाईंहरूको विश्वास, सुझाव, आलोचना र मायाले नै हामीलाई अझ परिष्कृत, जिम्मेवार र व्यावसायिक बन्न प्रेरित गरेको छ । आगामी दिनहरूमा पनि यही साथ, सहयोग र विश्वास निरन्तर प्राप्त हुने अपेक्षा गरेका छौं ।
दोस्रो वर्षमा प्रवेश गर्दै गर्दा हामी अझ परिमार्जित सामग्री, खोजमूलक समाचार, जनचासोका विषय र समाज रूपान्तरणमा योगदान पुर्याउने पत्रकारितालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्दछौं । सत्य र निष्पक्षताको मार्गमा अविचलित रहँदै जनताको भरोसाको मिडिया बन्ने हाम्रो अठोट यथावत रहनेछ । अन्त्यमा नेपाली जनताको त्याग, बलिदान र संघर्षको प्रतिफलस्वरुप प्राप्त गणतन्त्रको यस ऐतिहासिक र गौरवशाली दिवसका अवसरमा सम्पूर्ण देशवासीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
जय देश, जय पत्रकारिता ।