search logo
NOTIFICATIONS

मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुआत, हलाण्ड र एम्बाप्पे पनि चम्किए

हाम्रो पेज

३ असार २०८३, बुधबार १२:४५
अर्जेन्टिना, नर्वे, फ्रान्स र अष्ट्रिया विजयी खेलमा के के भयो ?


विराटनगर, ३ असार । विश्वकप फुटबलको समूह चरणअन्तर्गत बुधबार   भएका खेलहरूमा अर्जेन्टिना, नर्वे, फ्रान्स र अष्ट्रियाले विजयी सुरुआत गरेका छन्। अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले ह्याट्रिक गर्दै टोलीलाई अल्जेरियाविरुद्ध ३–० को सहज जित दिलाउँदा नर्वेका अर्लिङ हलाण्डले डेब्यु विश्वकप खेलमै दुई गोल गरे। यता, फ्रान्सका कप्तान किलियन एम्बाप्पेले कीर्तिमानी प्रदर्शन गर्दै टोलीलाई सेनेगलमाथि जित दिलाए भने अष्ट्रियाले जोर्डनलाई पराजित गर्दै तीन अंक बटुलेको छ। अल्जेरियाविरुद्धको खेलमा मेस्सीले १७औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। जर्सी नम्बर १० का उनले मैदानको मध्यभागबाट बल नियन्त्रणमा लिएर पेनाल्टी क्षेत्रभित्र प्रवेश गर्दै गोलकिपरलाई छक्याएर गरेको प्रहार गोलमा परिणत भएको थियो। दोस्रो हाफको ५८औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि दोस्रो गोल गरे। त्यसपछि ७६औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे र अर्जेन्टिनालाई ३–० को जित दिलाए।

विश्वकपमा मेस्सीको कुल गोल संख्या १६ पुगेको छ। यससँगै उनले जर्मनीका मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमानसँग बराबरी गरेका छन्। सन् २००६ देखि लगातार विश्वकप खेल्दै आएका मेस्सी प्रतियोगिताका सर्वाधिक गोलकर्तामध्ये एक बनेका छन्। समूह ‘आई’ अन्तर्गत इराकविरुद्ध नर्वे ४–१ ले विजयी भयो। नर्वेका स्टार फरवार्ड अर्लिङ हलाण्डले २९औँ र ४३औँ मिनेटमा गोल गर्दै विश्वकप डेब्यु खेललाई स्मरणीय बनाए। इराकका अयाम हुसैनले ३९औँ मिनेटमा एक गोल फर्काए पनि त्यसले टोलीलाई खेलमा फर्काउन सकेन। दोस्रो हाफको ७१औँ मिनेटमा मार्टिन ओडेगार्डले गोल थप्दै नर्वेको अग्रता फराकिलो बनाए। इन्जुरी समयमा अमेन हुसैनको आत्मघाती गोलपछि नर्वे ४–१ को विजेता बन्यो। जितसँगै नर्वेले तीन अंक जोडेको छ।

सेनेगलविरुद्धको खेलमा फ्रान्स ३–१ ले विजयी भयो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा फ्रान्सले दोस्रो हाफमा आक्रामक प्रदर्शन गर्यो। कप्तान किलियन एम्बाप्पेले ६८औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। ८२औँ मिनेटमा ब्राड्ली बारकोलाले गोल थपेपछि फ्रान्स बलियो अवस्थामा पुग्यो। इन्जुरी समयमा सेनेगलका इब्राहिम बायले एक गोल फर्काए पनि त्यसलगत्तै एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको जित सुनिश्चित गरे।

विश्वकपमा फ्रान्सका लागि एम्बाप्पेको गोल संख्या १४ पुगेको छ। उनले जस्ट फन्टेनको १३ गोलको कीर्तिमान तोड्दै विश्वकप इतिहासमा फ्रान्सका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। फ्रान्सका लागि विश्वकपमा सर्वाधिक गोलकर्ताको सूचीमा थिएरी हेनरी ६ गोलसहित तेस्रो स्थानमा छन्। जिनेदिन जिदान, मिचेल प्लाटिनी र ओलिभियर जिरुडले समान पाँच गोल गरेका छन् भने रेमोन्ड कोपा, डोमिनिक रोचेटु र एन्टोनी ग्रिजम्यानले समान चार–चार गोल गरेका छन्। अर्को खेलमा अष्ट्रियाले जोर्डनलाई ३–१ ले हरायो। अष्ट्रियाका रोमानो स्मिडले २०औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। ५०औँ मिनेटमा जोर्डनका याजान अल–अरबले बराबरी गोल फर्काए। तर ७६औँ मिनेटमा उनैले आत्मघाती गोल गरेपछि अष्ट्रिया पुनः अग्रता लिन सफल भयो। खेलको अन्तिम समयमा मार्को अर्नाउटोभिचले पेनाल्टीमार्फत गोल गर्दै अष्ट्रियाको जित सुनिश्चित गरे। यससँगै अष्ट्रियाले पनि तीन अंक जोडेको छ। अब समूह ‘आई’ अन्तर्गत जुन २२ मा फ्रान्सले इराकसँग खेल्नेछ भने जुन २३ मा नर्वेले सेनेगलको सामना गर्नेछ। यता अर्जेन्टिनाले जुन २२ मा अष्ट्रियासँग खेल्दा अल्जेरियाले जुन २३ मा जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ।