search logo
NOTIFICATIONS

निर्यातमा ९६ प्रतिशतको छलाङ, ११० देशसँग व्यापार तर घाटाको खाडल झनै गहिरो

हाम्रो पेज

८ भाद्र २०८२, आईतवार १३:११

एक महिनामै १ खर्ब १९ अर्ब घाटाः खानेतेलको ‘कर्कलो कमाइ’ ले छोपिएन अर्थतन्त्रको वास्तविकता
काठमाडौं, ८ भाद्र । चालु आर्थिक वर्षको पहिलो महिना साउनको वैदेशिक व्यापारले नेपाली अर्थतन्त्रको एकैसाथ उत्साहजनक र भयावह तस्बिर प्रस्तुत गरेको छ। भन्सार विभागको तथ्याङ्कअनुसार, गत वर्षको तुलनामा निर्यातमा झण्डै दोब्बर अर्थात् ९५ दशमलव ७५ प्रतिशतको अकल्पनीय वृद्धि भए पनि देशको समग्र व्यापार घाटाको खाडल भने झनै फराकिलो बनेको छ। साउन महिनामा मात्रै नेपालले १ खर्ब १९ अर्ब १० करोड रुपैयाँभन्दा बढीको व्यापार घाटा व्यहोरेको छ ।


घाटाको जालो भारत र चीनदेखि बहराइनसम्म
११० भन्दा बढी देशसँग व्यापारिक सम्बन्ध गाँसेको नेपालले अधिकांश मुलुकसँग घाटाकै व्यापार गरिरहेको छ। यो प्रवृत्तिको नेतृत्व छिमेकी मुलुकहरूले नै गरेका छन् । सबैभन्दा ठूलो व्यापारिक साझेदार भारतसँग मात्रै एक महिनामा ६४ अर्ब ८ करोड रुपैयाँको घाटा भएको छ। भारततर्फ ८३ दशमलव५३ अर्बको आयात हुँदा निर्यात जम्मा १९ दशमलव४५ अर्बमा सीमित रह्यो। उत्तरी छिमेकी चीनसँगको घाटा पनि उत्तिकै चिन्ताजनक छ। २७ अर्ब ९९ करोडको आयात हुँदा नेपालले ५ करोड ४८ लाखको निर्यात गर्न सक्यो, जसले गर्दा घाटा २७ अर्ब ९४ करोड पुगेको छ। यस्तै यूएईसँग १८ अर्ब ३८ करोड, थाइल्याण्डसँग ११ अर्ब २० करोड र अर्जेन्टिनासँग ९ अर्ब १२ करोड रुपैयाँको घाटा छ। आश्चर्यजनक रूपमा, बहराइनबाट १७ करोड ७७ लाखको आयात हुँदा निर्यात शून्य छ। एकातिर व्यापार घाटाको पहाड चुलिँदै गर्दा, अर्कोतिर निर्यात ९५ दशमलव७५ प्रतिशतले बढेर २३ अर्ब ९३ करोड पुग्नुको छ। तर, यो तथ्याङ्कको गहिराइमा हेर्दा नेपालको मौलिक उत्पादनको अवस्था कमजोर रहेको स्पष्ट हुन्छ। निर्यातको सूचीमा पहिलो तीन स्थान खानेतेलले ओगटेको छ, जुन आयात निर्भर निर्यातको चक्रमा आधारित छ। सोयाबिन तेल १० अर्ब ६९ करोड, पाम तेल ६७ करोड १२ लाख र सूर्यमुखी तेल ६५ करोड १४ लाख निर्यात भएकोछ । यी तीनवटै तेलको कच्चा पदार्थक्रुड ओयल अर्जेन्टिना, ब्राजिलजस्ता देशबाट अर्बौंमा आयात गरी प्रशोधन गरेर भारतमा निर्यात हुने गरेको छ। यसले क्षणिक रूपमा निर्यातको आँकडा बढाए पनि देशको उत्पादनशील अर्थतन्त्रमा खासै योगदान गर्दैन। नेपालको मौलिक उत्पादन मानिने कार्पेट ५५ करोड निर्यातको सूचीमा चौथो स्थानमा छ भने कालो चिया र ठूलो अलैंची क्रमशः सातौं र आठौं स्थानमा छन्।
साउन महिनामा आयात पनि ११ दशमलव४२ प्रतिशतले बढेर १ खर्ब ४३ अर्ब ४ करोड पुगेको छ। आयातको सूचीले हाम्रो परनिर्भरताको स्पष्ट चित्र देखाउएको छ । कच्चा सोयाबिन तेल ८ अर्ब ७९ करोड अर्जेन्टिनाबाट आयात भएको छ । पेट्रोलियम पदार्थ डिजेल, पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्यास गरी १७ अर्ब ७९ करोड भन्दा बढी र मोबाइल फोन, सुन, चामलजस्ता वस्तुहरूमा पनि अर्बौं रुपैयाँ बाहिरिएको छ।  चालु आर्थिक वर्षको पहिलो महिनाको तथ्याङ्कले नेपालको अर्थतन्त्र गम्भीर संरचनात्मक समस्याबाट गुज्रिरहेको देखाएको छ । खानेतेलजस्ता वस्तुको पाम्परोक्ष निर्यातले देखाएको ९६ प्रतिशतको वृद्धि एक किसिमको भ्रम हो, जसले देशको वास्तविक उत्पादन क्षमतालाई प्रतिबिम्बित गर्दैन। जबसम्म कार्पेट, चिया, अलैंची, हस्तकलाजस्ता मौलिक उत्पादनको निर्यात उल्लेख्य रूपमा बढ्दैन र कृषि तथा औद्योगिक उत्पादनमा आत्मनिर्भर हुन सकिँदैन, तबसम्म व्यापार घाटाको यो कहालीलाग्दो चक्रबाट बाहिर निस्कन असम्भव देखिन्छ। केही देश जर्मनी, अमेरिका, अफगानिस्तान आदि० सँग देखिएको सामान्य नाफाले समग्र घाटाको सागरलाई छोप्न नसक्ने अर्थविद्हरु बताउँछन् ।