
विराटनगर, १२ भाद्र । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की र नेपालका लागि जापानी राजदूत माईडा टोरुबीच आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशीमा शिष्टाचार भेटवार्ता भएको छ। भेटमा दुई पक्षीय आपसी हितका विविध विषयमा सौहार्दपूर्ण कुराकानी भएको छ। भेटका क्रममा मुख्यमन्त्री कार्कीले जापान र नेपालबीचको सम्बन्ध ऐतिहासिक र मित्रतापूर्ण रहेको चर्चा गर्दै नेपालको विकासमा जापानले पुर्याएको योगदानको प्रशंसा गर्नुभएको मुख्यमन्त्रीका प्रस सल्लहकार बिक्रम लुईंटेलले जानकारी दिनुभयो । विशेषगरी नेपालको पूर्वाधार क्षेत्रको विकासमा जापानले खेलेको भूमिका महत्वपूर्ण रहेको उहाँले स्मरण गर्नुभयो। मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा कृषि, सूचना प्रविधि र पर्यटन क्षेत्रको विकासका लागि जापानी सहयोगको आवश्यकता औंल्याउँदै थप सहकार्यका लागि आग्रह गर्नुभयो। कोशी प्रदेशमा यी क्षेत्रहरूको प्रचुर सम्भावना रहेको भन्दै उहाँले जापानी लगानी र प्रविधि हस्तान्तरणले प्रदेशको आर्थिक वृद्धिमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। सो अवसरमा जापानी राजदूत मोइडा टोरुले जापान र नेपालबीचको सम्बन्ध सुमधुर रहेको दोहोर्याउँदै कोशी प्रदेशको औद्योगिक विकास र कृषि क्षेत्रमा सहयोग गर्न जापान तयार रहेको बताउनुभयो। उहाँले प्रदेशको विकासका लागि जापानले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको लुईंटेलले जानकारी दिनुभयो । मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार रवि खनालका अनुसार भेटघाटमा प्रदेशको समग्र विकास र समृद्धिका विषयमा पनि गहन कुराकानी भएको थियो। यो भेटवार्ताले कोशी प्रदेश र जापानबीचको सम्बन्धलाई थप सुदृढ गर्दै विकासका नयाँ आयामहरू खोल्ने अपेक्षा गरिएको छ।