स्पेन, पोर्चुगल र स्विट्जरल्यान्ड अन्तिम १६ मा, नकआउट चरणमा रोमाञ्चक प्रतिस्पर्धा

हाम्रो पेज

१९ असार २०८३, शुक्रबार १२:४९
विश्वकपमा स्पेनको प्रभावशाली जित, रोनाल्डोले नकआउट गोलको खडेरी तोडे, स्विट्जरल्यान्डलाई ऐतिहासिक सफलता

विराटनगर, १९ असर । विश्वकपको नकआउट चरणअन्तर्गत ‘राउन्ड अफ ३२’ का बिहीबार राति र शुक्रबार विहान सम्पन्न खेलहरूमा स्पेन, पोर्चुगल र स्विट्जरल्यान्डले प्रभावशाली जित निकाल्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेका छन्। स्पेनले अस्ट्रियामाथि ३–० को सहज जित निकाल्दा पोर्चुगलले क्रोएसियालाई २–१ ले पराजित गर्दै अर्को चरणमा स्थान बनायो। यता, स्विट्जरल्यान्डले अल्जेरियालाई २–० ले हराउँदै ऐतिहासिक सफलता हात पार्‍यो।

ओयारजाबल चम्किँदा स्पेनको दमदार प्रदर्शन

लस एन्जलसमा भएको खेलमा मिकेल ओयारजाबलले दुई तथा पेड्रो पोरोले एक गोल गरेपछि स्पेनले अस्ट्रियालाई ३–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो। युरोपेली च्याम्पियन स्पेनले अब क्वार्टरफाइनल प्रवेशका लागि पोर्चुगलसँग प्रतिस्पर्धा गर्नेछ। स्पेनले सुरुदेखि नै खेल नियन्त्रणमा राखे पनि २९औँ मिनेटमा मार्क कुकुरेलाले गरेको गोल गोलरक्षकमाथि फाउल भएको भन्दै रद्द गरिएको थियो। त्यसपछि पनि स्पेनले लगातार दबाब कायम राख्यो। पहिलो हाफको इन्जुरी समयअघि एलेक्स बाएनाको फ्रिकिक बारमा लागेर फर्किएको थियो भने त्यसको रिबाउन्डमा लामिन यामालको प्रहार गोलरक्षक अलेक्जेन्डर स्लागाले उत्कृष्ट बचाउ गरेका थिए। पहिलो हाफको ३६औँ मिनेटमा कुकुरेलाको पासमा ओयारजाबलले गोल गर्दै स्पेनलाई अग्रता दिलाए। यो सन् २०१० को विश्वकप फाइनलमा आन्द्रेस इनिएस्टाले गरेको गोलपछि स्पेनले विश्वकपको नकआउट चरणमा गरेको पहिलो गोल बन्यो।

दोस्रो हाफमा स्पेन अझ आक्रामक बन्यो। ६६औँ मिनेटमा पेड्रो पोरोले हेडमार्फत अन्तर्राष्ट्रिय करियरको पहिलो गोल गर्दै अग्रता दोब्बर बनाए। खेलको ८९औँ मिनेटमा कुकुरेलाकै अर्को उत्कृष्ट पासलाई सदुपयोग गर्दै ओयारजाबलले व्यक्तिगत दोस्रो गोल पूरा गरेपछि स्पेनले ३–० को सहज जित निकाल्यो। समूह चरणमा अपेक्षाअनुसार लयमा नदेखिएको स्पेन नकआउट चरणमा भने निकै सशक्त देखिएको छ। टोलीले प्रतियोगितामा अहिलेसम्म कुनै गोल खाएको छैन भने प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय खेलमा निर्धारित ९० मिनेटभित्र लगातार ३४ खेलसम्म अपराजित रहने कीर्तिमान पनि कायम राखेको छ। स्पेनका गोलकिपर उनाई सिमोनले पनि नयाँ इतिहास रचे। उनले विश्वकपमा लगातार सबैभन्दा लामो समय गोल नखाने कीर्तिमान बनाउँदै इटालीका वाल्टर जेङ्गाको ५१८ मिनेटको पुरानो कीर्तिमान तोडे। सन् २०२२ को विश्वकपमा जापानसँग गोल खाएयता उनले विश्वकपमा नियमित समयमा कुनै गोल स्वीकारेका छैनन्।

ओयारजाबलले यस विश्वकपमा आफ्नो गोल संख्या चार पुर्‍याउँदै गोल्डेन बुटको प्रतिस्पर्धालाई थप रोचक बनाएका छन्। उनले समूह चरणमा साउदी अरेबियाविरुद्ध दुई गोल गरेका थिए भने अस्ट्रियाविरुद्ध दुई गोल थप्दै सर्वाधिक गोलकर्ताको सूचीमा माथि उक्लिएका छन्। जितपछि ओयारजाबलले टोलीलाई अर्को चरणमा पुर्‍याउन सकेकोमा खुशी व्यक्त गर्दै अब थप कठिन खेलका लागि तयार हुनुपर्ने बताए। प्रशिक्षक लुइस डे ला फुएन्तेले टोली उत्कृष्ट खेले पनि अझ सुधारको पर्याप्त सम्भावना रहेको प्रतिक्रिया दिए।

रोनाल्डोले तोडे नकआउट गोलको खडेरी, पोर्चुगलको भेट अब स्पेनसँग

टोरन्टोमा सम्पन्न अर्को रोमाञ्चक खेलमा पोर्चुगलले क्रोएसियालाई २–१ ले हराउँदै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। खेलमा क्रिष्टियानो रोनाल्डोले विश्वकपको नकआउट चरणमा पहिलो पटक गोल गर्दै लामो प्रतीक्षाको अन्त्य गरे भने विकल्पका रूपमा मैदान प्रवेश गरेका गोन्कालो रामोसले इन्जुरी समयमा निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि ५३औँ मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए। त्यसबेलासम्म खेलमा पोर्चुगलको पकड भए पनि गोल भने क्रोएसियाले गरेको थियो। ६८औँ मिनेटमा पोर्चुगलले पेनाल्टी प्राप्त गर्‍यो। कप्तान रोनाल्डोले कुनै गल्ती नगरी गोल गर्दै खेल बराबरीमा ल्याए। यो गोलसँगै उनले विश्वकपमा लगातार छ संस्करणमा गोल गर्ने पहिलो खेलाडी बनेपछि नकआउट चरणमा गोल गर्न नसकेको आलोचनाको पनि अन्त्य गरेका छन्। ८१औँ मिनेटमा प्रशिक्षक रोबर्टो मार्टिनेजले रोनाल्डोलाई विश्राम दिँदै गोन्कालो रामोसलाई मैदानमा उतारे। परिवर्तन केही समयमै सफल सावित भयो। इन्जुरी समयको अन्तिमतिर रामोसले उत्कृष्ट हेडमार्फत गोल गर्दै पोर्चुगललाई २–१ को अग्रता दिलाए। त्यसपछि क्रोएसियाले बराबरी गोल गरे पनि भिडियो सहायक रेफ्री ९भिएआर० ले अफसाइड ठहर गर्दै गोल रद्द गरिदियो। उक्त निर्णयप्रति असन्तुष्ट समर्थकहरूले मैदानतर्फ बोतल प्रहार गरेपछि केहीबेर खेल तनावपूर्ण बनेको थियो। खेलपछि रोनाल्डो र क्रोएसियाका कप्तान लुका मोड्रिचबीच भएको भावुक अंकमालले दर्शकलाई भावुक बनाएको थियो। सम्भावित अन्तिम विश्वकप खेलिरहेका मोड्रिच भने टोली बाहिरिएपछि निराश देखिएका थिए। पोर्चुगल अब अन्तिम १६ मा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। यस खेललाई नकआउट चरणकै सबैभन्दा आकर्षक भिडन्तका रूपमा हेरिएको छ।

स्विट्जरल्यान्डको ऐतिहासिक सफलता, अल्जेरिया बाहिरियो

नकआउट चरणको अर्को खेलमा स्विट्जरल्यान्डले अल्जेरियालाई २–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। सन् १९३८ पछि विश्वकपको नकआउट चरणमा स्विट्जरल्यान्डले जित निकालेको यो पहिलो अवसर हो। खेलको १०औँ मिनेटमै जोहान मान्जाम्बीको उत्कृष्ट पासमा ब्रिल एम्बोलोले गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए। अन्तर्राष्ट्रिय फुटबलमा उनको यो २६औँ गोल थियो। पहिलो हाफमा अल्जेरियाले केही अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेन। दोस्रो हाफ सुरु भएको एक मिनेट नबित्दै डान एनडोएले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको शक्तिशाली प्रहार गोलरक्षक लुका जिदानले रोक्न नसक्दा स्विट्जरल्यान्डले अग्रता दोब्बर बनायो। त्यसपछि स्विट्जरल्यान्डले थप केही उत्कृष्ट अवसर सिर्जना गरे पनि एम्बोलो र फाबियन रिडर दुवैले सजिला अवसर खेर फाले। यद्यपि, २–० को अग्रता सुरक्षित राख्दै टोली अर्को चरणमा पुग्न सफल भयो। लगातार तीन विश्वकपमा अन्तिम १६ पुगेर पनि त्यसपछिको यात्रा तय गर्न नसकेको स्विट्जरल्यान्ड यसपटक भने थप सफल हुने लक्ष्यमा छ। अब उसले क्वार्टरफाइनल प्रवेशका लागि कोलम्बिया वा घानामध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ। २० वर्षीय जोहान मान्जाम्बी प्रतियोगितामा स्विट्जरल्यान्डका उदाउँदा खेलाडीका रूपमा स्थापित भएका छन्।

उनले हालसम्म दुई गोल र दुई असिस्ट गर्दै टोलीको सफलतामा महत्वपूर्ण योगदान दिएका छन्। अल्जेरियाका प्रशिक्षक भ्लादिमिर पेटकोभिचका लागि भने यो खेल विशेष थियो। उनले यसअघि लामो समय स्विट्जरल्यान्डको प्रशिक्षण सम्हालेका थिए। तर पूर्व टोलीविरुद्ध उनी सफल हुन सकेनन् र अल्जेरियाको विश्वकप यात्रा यहीँ समाप्त भयो। विश्वकपको नकआउट चरण सुरु भएसँगै उपाधि दाबेदार टोलीहरूले आफ्नो वास्तविक क्षमता प्रदर्शन गर्न थालेका छन्। स्पेनले प्रभावशाली प्रदर्शन गर्दै आफूलाई पुनः उपाधि दाबेदारका रूपमा स्थापित गरेको छ भने पोर्चुगलले रोनाल्डोको अनुभव र रामोसको निर्णायक भूमिकासहित अर्को चरणमा स्थान बनाएको छ। स्विट्जरल्यान्डले पनि ऐतिहासिक जित निकाल्दै प्रतियोगितामा आफ्नो उपस्थिति अझ बलियो बनाएको छ। अब अन्तिम १६ मा हुने भिडन्तहरूले उपाधि होडलाई अझ रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ।